अबदेखि काठमाडौंका होटल–रेस्टुरेन्टमा ‘स्मोकिङ जोन’ अनिवार्य
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टमा स्मोकिङ जोन राख्न निर्देशन दिएको छ । प्रशासनले बुधबार (आज) सूचना जारी गर्दै जथाभावी रूपमा हुक्का, चुरोटलगायतका धूमपानजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको हो । होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा धूमपान हुने गरेको तथा त्यसबाट धूमपान नगर्ने व्यक्तिको स्वास्थ्यमा समेत असर परेको भन्दै कार्यालयमा गुनासो आउन थालेपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो । प्रशासनले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धूमपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन निर्देशन दिएको हो । साथै धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द गरी धुवाँ अन्य व्यक्तिसम्म नपुग्ने व्यवस्था गर्नसमेत भनिएको छ । कार्यालयले होटल तथा रेस्टुरेन्टमा आउने अन्य ग्राहकलाई असर नपर्ने गरी धूमपान गर्ने स्थान व्यवस्थित गर्न व्यवसायीलाई सचेत गराएको हो । जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित अन्य निकायबाट होटल तथा रेस्टुरेन्टको अनुगमन गर्दा ऐनविपरीत गतिविधि गरेको पाइएमा सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कारबाही हुने भएको हो । प्रशासनले काठमाडौंका सम्पूर्ण होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पालना गरी धूमपान क्षेत्र व्यवस्थित गर्न आग्रह गरेको हो ।
मानवअधिकारकर्मी हुँ भन्दै गर्ने अवस्थी पक्राउ
काठमाडौं । रियल स्टेट व्यवसायी तथा मानवअधिकारकर्मी भनेर ठगी गर्ने बैकिङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । घरजग्गा मिलाइदिने प्रलोभनमा पारेर १६ लाख ठगी गर्ने काठमाडौं महानगरपालिका ७ बस्ने हेमराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न समयमा व्यक्तिहरूलाई १ करोड १४ लाख भन्दा बढी बराबरको खातामा रकम नभएको चेक जारी गरेका र बैंकिङ कसूर मुद्दामासमेत फरार रहेका डोटी, आदर्श गाउँपालिका ४ अवस्थीलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहदादुर थापाले जानकारी दिए । उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
भेटेरिनरी कार्यालयका प्रमुखविरुद्ध १ लाख ३२ हजार घुस लिएको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो । अख्तियारका अनुसार उनीहरूले भ्याक्सिनेटरहरूलाई सेवा उपलब्ध गराएबापत पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिने भन्दै २० प्रतिशत कमिसनस्वरूप घुस मागेका थिए । उजुरीपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा डा. दासले कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा पशु खोप कार्यक्रमका लागि नियुक्त गरिएका भ्याक्सिनेटरहरूको पारिश्रमिक भुक्तानी गराइदिने नाममा सवारी चालक भोगेन्द्र यादवसँग मिलेमतो गरी कम्तीमा २० प्रतिशत रकम घुस मागेको खुलेको आयोगले जनाएको छ । अख्तियारका अनुसार दुवैले भ्याक्सिनेटरहरूलाई दबाबमा पारेर १ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको प्रमाण फेला परेको छ । उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर हुने भन्दै अख्तियारले १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।