अबदेखि काठमाडौंका होटल–रेस्टुरेन्टमा ‘स्मोकिङ जोन’ अनिवार्य

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टमा स्मोकिङ जोन राख्न निर्देशन दिएको छ ।

प्रशासनले बुधबार (आज) सूचना जारी गर्दै जथाभावी रूपमा हुक्का, चुरोटलगायतका धूमपानजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको हो ।

होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा धूमपान हुने गरेको तथा त्यसबाट धूमपान नगर्ने व्यक्तिको स्वास्थ्यमा समेत असर परेको भन्दै कार्यालयमा गुनासो आउन थालेपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो ।

प्रशासनले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धूमपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन निर्देशन दिएको हो ।

साथै धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द गरी धुवाँ अन्य व्यक्तिसम्म नपुग्ने व्यवस्था गर्नसमेत भनिएको छ ।

कार्यालयले होटल तथा रेस्टुरेन्टमा आउने अन्य ग्राहकलाई असर नपर्ने गरी धूमपान गर्ने स्थान व्यवस्थित गर्न व्यवसायीलाई सचेत गराएको हो ।

जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित अन्य निकायबाट होटल तथा रेस्टुरेन्टको अनुगमन गर्दा ऐनविपरीत गतिविधि गरेको पाइएमा सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कारबाही हुने भएको हो ।

प्रशासनले काठमाडौंका सम्पूर्ण होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पालना गरी धूमपान क्षेत्र व्यवस्थित गर्न आग्रह गरेको हो ।

null

Share News