काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारीमा भएको अनुदान अनियमितता प्रकरणमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका मेयर रवि केसीसहित नगरपालिकाका पदाधिकारी, कर्मचारी र सहकारीका पदाधिकारीविरुद्ध दायर भएको हो ।
अख्तियारका अनुसार डेरी सञ्चालनका लागि दिइएको सरकारी अनुदान दुरुपयोग भएको पाइएको छ ।
सहकारीलाई कार्यविधिविपरीत ९१ लाख १७ हजार ८७३ रुपैयाँ चिस्यान केन्द्र निर्माण अनुदान दिइएको आरोप छ ।
त्यसपछि ८० लाख २३ हजार ५१ रुपैयाँ बराबरको मिल्क ट्याङ्कर र दुईवटा सवारीसाधन पनि उपलब्ध गराइएको आयोगले जनाएको छ ।
तर डेरी दुई वर्षसम्म सञ्चालनमा आएन । सवारीसाधन पनि प्रयोगविहीन अवस्थामा रहेको अख्तियारको निष्कर्ष छ ।
आयोगले सरकारी रकम दुरुपयोग गरी सहकारीलाई गैरकानुनी लाभ र सरकारलाई हानि पुर्याएको आरोप लगाएको छ ।
उनीहरूविरुद्ध बिगो असुल, जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।