नगरकोट भ्रमण वर्ष तयारी पूरा, एक लाख विदेशी र १० लाख स्वदेशी पर्यटक भित्र्याउने लक्ष्य

भक्तपुर । प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रविन्दुमा राखेर भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रूपमा आगामी वैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष-२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ ।  नगरकोटमा एक लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक भित्र्याउने उद्देश्यले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष-२०८२’ को चारवटै स्थानीय तहले प्रचारप्रसार गरेका छन् ।   नगरकोट भ्रमण वर्ष-२०८२ संयुक्त सचिवालयको आयोजना तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । नगरकोट आउने पर्यटकहरूको बसाइ लम्ब्याउँदै स्थानीय संस्कृति र स्वादको अनुभव गराउने उद्देश्यसहित विभिन्न परिकार, पर्यटकलाई चखाउने योजना अनुरूप गाउँगाउँमा नमूना होमस्टे बनाइएको उनले बताए ।  कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नो कार्यकालको पहिलो बैठकमै भ्रमण वर्ष मनाउने घोषणा गरेकामा अहिले चार वटै नगरपालिकाको सहकार्यसहित नगरकोटलाई पर्यटकीय केन्द्रविन्दु बनाउन भ्रमण वर्ष मनाउन लागेको बताए । नगरप्रमुख खत्रीले भने, 'एकवर्ष भरि मनाउने भ्रमण वर्षमा नगरकोटबाहेक चारवटै स्थानीय तहले दुई दई वटा मुख्य कार्यक्रम गर्ने र अरू आआफ्ना पालिकाको वडागत रुपमा पनि भ्रमण वर्ष मनाउने गरी अगाडि बढेका छौं ।’ बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकलाई बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गराउन सकिने, यहाँका जात्रा परम्परामा पर्यटकलाई जोड्ने, जलजले ताल, गुम्बालगायतमा पर्यटकलाई लैजान सकिने बताए । उनले भने, 'नगरकोटमा प्रदूषणका कारण हिमाल देख्न छोडियो, सूर्योदय र सूर्यास्त मात्रै हेर्न पर्यटक धेरै रात बस्दैनन, पर्यटकको बसाइ लब्याउन नगरकोट आएका पर्यटकलाई नगरकोटबाट बनेपा घुमेर फेरी नगरकोट आएर बास बस्ने गरी बसाई लम्ब्याउन सकिन्छ ।’ चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले  भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने बताए ।  मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोटको समग्र विकासका लागि चारवटै पालिकाको साझेदारीमा नगरपालिकाको डीपीआर बनाउने काम भइरहेको बताए । भ्रमण वर्षको शुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ । त्यसैगरी खानाका स्टलका साथमा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको सङ्ग्रहालय तथा प्रत्येक स्थानीय तहका छुट्टाछुट्टै झाँकी प्रदर्शन गरिने छ ।

बिना ब्याज १० लाख रुपैयाँसम्म ऋण, अनुदान पाएपछि उद्यममा रमाउँदै

काठमाडौं । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन । विदेशमा कमाएको पैसा जग्गा जोड्दा, बिहे गर्दा, बच्चा पढाउँदा र घर खर्च टार्दा सकियो । गाउँमै सानोतिनो व्यवसाय गर्न मन भए पनि लगानी नहुँदा उनी दोधारमा थिए ।  ‘गत साल सूर्योदय नगरपालिकाले रेमी कार्यक्रममार्फत कुखुरा पाल्न अनुदान दियो,’ पौरखी मुखियाले भने, ‘नगरपालिकाले सात दिनको उद्यमशीलता तालिमसँगै कुखुरा पालन गर्न ४० हजार अनुदान पनि दिएपछि स्थानीय जातका कुखुरा पाल्न थालेँ । अब विदेश जान्न ।’  डेढ लाख लगानीमा व्यवस्थित खोर बनाएर ६०० वटा चल्ला पालेका उनले कुखुरा बेचेर मनग्गे आम्दानी गरिरहेका छन् । उनी मात्र होइन उक्त वडाका इन्द्रजित मुखिया, सपना सुवेदी, राजेन्द्र गिरी, विराज तामाङले  नगरपालिकाको अनुदानबाट कुखुरा पालन गरिरहेका छन् ।  साढे ३ वर्ष साउदी अरब बसेकी सपना सुवेदीलाई त्यहाँको दुःख सम्झँदा आङ सिरिङ्ग हुन्छ । बाख्रा र कुखुरा पालनसँगै चिया खेतीमा व्यस्त उनी पनि विदेश नजाने अठोटका साथ कृषि कर्ममा रमाएकी छिन् । नगरपालिकाबाट उनले १ लाख रुपैयाँ अनुदान लिएकी हुन् ।  ‘गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन । रेमीले बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ । तीन वर्षमा साँवा फर्काउने मात्र हो । ब्याज लाग्दैन,’ कुखुरालाई दाना दिँदै उनले भनिन् ।  गत वर्ष नगरपालिकाले स्वरोजगार कार्यविधि बनाएर उद्यम गर्न चाहनेलाई अनुदानको व्यवस्था गरेको नगर प्रमुख रण बहादुर राईले बताए । व्यक्तिगत रूपमा १ लाख रुपैयाँसम्म र समूह वा सहकारीमा आबद्ध भएमा ५ देखि १० लाख रुपैयाँसम्म बिना ब्याज ऋण दिइने उनले जानकारी दिए । 

बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे र मेयर बालेन शाहका स्वकीय सचिवमाथि कारबाही गर्न विभिन्न पेशागत संगठनहरूले माग गरेका छन् । उनीहरूले चैत २१ गते घटेको अनुशासनहीन, गैरकानुनी र अमर्यादित घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका हुन् । स्थानीय तहमा क्रियाशील कर्मचारी युनियन, संघ, परिषद् तथा मजदुर संगठनहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् । ज्ञापनपत्रमा प्रमुख पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बन गर्न आग्रह गरिएको छ । त्यस्तै, बालेन शाहका स्वकीय सचिवमाथि सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख र वडाध्यक्षहरूमाथि लाञ्छना लगाउने प्रयास गरिएको आरोप पनि लगाइएको छ । 'प्रशासनिक प्रमुखलाई कार्य सम्पादनमा बाधा पुर्‍याउने, धरपकड गर्न खोज्ने र अपत्तिजनक व्यवहार देखाउने कार्य अस्वीकार्य छ। यसले प्रशासनिक प्रणाली र कर्मचारीको सम्मानमा आँच पुर्‍याएको छ,' ज्ञापनपत्रमा भनिएको छ । तीन महिनाभन्दा बढी समयदेखि प्रशासनिक नेतृत्व अभावका कारण महानगरको कार्यसम्पादन प्रभावित भएको भन्दै उनीहरूले कानुनी ढंगले नियुक्त भएको प्रमुख प्रशासकीय अधिकृतलाई रोक्ने प्रयासलाई गैरकानुनी ठहर गरेका छन् ।