गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
फाइल फाेटाे काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सोमबार जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले जानकारी दिए । एक कार्यक्रमकाबीच नगरप्रमुख पुष्करराज जोशीले वडा नं ९ का वडाध्यक्ष मोहनदेव जोशी र वडा नं ११ का वडाध्यक्ष जयदत्त पन्तलाई संयुक्त रूपमा एम्बुलेन्स हस्तान्तरण गरे । उनले नगरपालिकाले वडा नं ९ र ११ का नागरिकलाई लक्षित गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । यसअघि देहीमाण्डौं स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको उक्त एम्बुलेन्स मर्मत गरेर जोशीबुङ्गा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जोशीबुङ्गा स्वास्थ्यचौकीमा एम्बुलेन्स भित्रिएसँगै वडा नं ९ र ११ आकस्मिक बिरामी तथा गर्भवती र सुत्केरीलाई सुविधासम्पन्न अस्पतालमा पुर्याउन सहज हुने विश्वास लिइएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताए । दशरथचन्द नगरपालिकाले तीन वर्षदेखि गर्भवती तथा सुत्केरीलाई अन्यत्र अस्पताल लैजानुपरेमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको बताउँदै उनले त्यसको निरन्तरताका लागि जोशीबुङ्गामा पनि एम्बुलेन्स सेवा उपलब्ध गराइएको उल्लेख गरे । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगरप्रमुख जोशीले नगरवासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन नगरपालिकाले योजनाबद्ध काम गरिरहेको बताए ।
किन भत्काइयो ललितपुर जिल्ला अदालत अगाडिको संरचना ?
काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुर जिल्ला अदालत अगाडिको संरचना भत्काएको छ । सोमबार बिहान ललितपुर महानगरले अदालत अगाडि अवस्थित वडा नं ५ को भवनसहित अन्य संरचना भत्काएको हो । उक्त टहरापछाडि रहेको ऐतिहासिक न्हुः पोखरीको संरक्षण र विस्तार गर्ने भन्दै महानगरले डोजर लगाएर संरचना हटाइएको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । ‘यहाँ अवस्थित संरचनाले गर्दा ऐतिहासिक न्हु पोखरी छोपिएको छ, यहाँभित्र पोखरी छ भन्ने कुरा धेरैलाई थाहा छैन । हामीले यो पोखरीलाई निर्माण गर्दैछौं । यो पोखरीलाई बाटोमा हिँड्ने सम्पूर्ण बटुवाले देखुन् र भ्रमण गरुन् भन्ने उद्देश्यले संरचना हटाउन लागेका हौं, प्रमुख महर्जनले बताए । महानगरले डोजर चलाएसँगै वडा नं ५ वडा कार्यालयसँगै १० वटा सटर भत्किएका छन् । महानगरले त्यहाँसँगै जोडिएका अन्य भवन पनि भत्काउने योजना रहेको प्रमुख महर्जनले बताए । उनका अनुसार त्यहाँ अवस्थित केही भवन तत्काल हटाउन समस्या सिर्जना भएको हुँदा प्रक्रिया मिलाएर नै हटाइने छ । महानगरले धेरै अगाडि नै संरचना भत्काउनेबारे सूचना जारी गरेको थियो । त्यहाँका सटरहरू वर्षौंअगाडि (पञ्चायतकाल) देखिका सटर हुन् । संरचना हटाउने भएसँगै गत भदौदेखि नै त्यहाँका सटर खाली थिए । महानगरले टेन्डरमार्फत सटर भाडामा लगाएको थियो । टेन्डरको म्याद असार मसान्तमै सकिएको हुँदा जतिबेला पनि सटर भत्काउन सकिने अधिकार महानगरलाई भएको हुँदा अहिले सो सटर भत्काएको प्रमुख महर्जनले बताए । त्यहाँ हाल न्हु पोखरी निर्माणधीन अवस्थामा छ । मल्लकालीन समयमा निर्माण भएको यो पोखरीको पुनःनिर्माण हुन लागेको हो । यो पोखरी निर्माणको लागि मेडिना कन्सक्ट्रक्सनले ठेक्का पाएको छ । पोखरी पुर्ननिर्माणको लागि महानगरले उक्त कन्सक्ट्रक्सनसँग २०८१ असार ६ गते ठेक्का सम्झौता भएको थियो । महानगरका अनुसार ५६ लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनीले एक वर्षभित्र अर्थात २०८२ असार १५ गतेसम्ममा पोखरी निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।
नेपाल भाषाका साहित्यकार सम्मानित
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गरेका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा शनिबार वडाले ‘कविता वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुनु हुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार निरञ्जनरत्न शाक्य, कवि नवीन चित्रकार र कवि श्रीराम श्रेष्ठ हुन् । कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषामा विविधता हुनु नै नेपालको सुन्दरता भएको बताए । उनले पहिले बोलेका भरमा वा लेखेका भरमा दण्डित हुनुपर्ने अवस्था थियो, अहिले त्यो अवस्था छैन भने । वडा नं २२ का अध्यक्ष एवं महानगरपालिकाको शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बहुभाषिक नेपालीले नेपालको सुन्दरता उज्यालो बनाएको उल्लेख गरे । कामपाको जिम्मेवारीको प्रसङ्ग उठाउँदै वडाध्यक्ष महर्जनले भने, ‘स्थानीय सरकारको दायित्वभित्र पूर्वाधार निर्माणसँगै सामाजिक, सांस्कृतिक तथा भाषिक अवस्थितिलाई जोगाउनु पनि हो । यसको विकास र विस्तार गर्नु पनि हो । यसकै लागि हामीले प्रयास गरेका हौँ ।’ यस क्रममा भाषिक आयोगका सदस्य सुरेशकिरण मानन्धरले युनेस्कोले दिवस घोषणा गर्नुअघि नेपाल भाषालाई मातृभाषाका रूपमा संरक्षण गर्नका लागि कविता वाचन कार्यक्रम आयोजना गरिएको स्मरण गरे । कथाकार पुष्प चित्रकार २०२२ सालमा रेडियो नेपालबाट नेपाल भाषाको समाचारमा रोक लगाएपछि साहित्य सम्मेलन गरेर विरोधको आयोजना गरेका थिए। उनले निवन्ध, कविता र समलोचनामा पनि कलम चलाएका थिए। कथाकार सुवर्णकेशरीले लेखेका ‘इल फपुइकी’ जापानी, अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद भएको छ । निरञ्जनरत्न शाक्य न्हूदँ समारोह समिति ११४२ का अध्यक्ष थिए । उनका नेपाल संवत् १०९८ मा प्रकाशित निकचा, ११०१ मा प्रकाशित ब्वलासालगायत कृति महत्त्वपूर्ण मानिन्छन् । कवि नवीन चित्रकार भाषिक अधिकारका लागि स्थापित मुनासःयाका संस्थापक हुन् । उनले नेपाल भाषाको नाटक निर्देशन पनि गरे । यस्तै पद्मरत्न तुलाधरले लेखेका शिक्षक र विद्यार्थी नाटकमा शिक्षकको भूमिका निर्वाह गरेका छन् । ‘जुलुसहीन जुलुसय् जि हालाच्वना’ कविता सङ्ग्रहका लेखक श्रीराम श्रेष्ठ नयाँ धारको प्रगतिशील कविका रूपमा परिचित हुन् । साहित्यमा कलम चलाउने श्रेष्ठको मूल विधा कविता हो ।