निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइरहेको पालिका, हजारौं नागरिक लाभान्वित
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सुरु गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमबाट ४१ हजारभन्दा बढी नगरबासी लाभान्वित भएका छन् । दुई वर्षअघि (२०८० असार) बाट सुरु गरेको निःशुल्क स्वास्थ्य बीमाबाट सो संख्या बराबरले सेवा लिएको नगरपालिकाका उपप्रमुख सान्नानी लामाले जानकारी दिइन् । उनका अनुसार सुरुवातमा ज्येष्ठ नागरिक र एकल महिलालाई लक्षित गरेर निःशुल्क स्वास्थ्य बीमा सुरु भएको थियो । दोस्रो वर्षबाट मात्र सबै नगरबासीले निःशुल्क स्वास्थ्य बीमा गर्न सक्ने व्यवस्था भएको हो । अहिले गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क स्वास्थ्य बीमा सुविधा लिन सक्छन् । स्वास्थ्य बीमाको लागि वार्षिक एक करोड ६० लाख खर्च हुने गरेको उपप्रमुख लामाले बताइन् । उनका अनुसार जेष्ठ नागरिकलाई मात्रै यो सुविधा लागू हुँदा ६० लाख रुपैयाँ खर्च भएको थियो । बढ्दो प्रभावकारिता नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको उपप्रमुख लामाले बताइन् । ‘स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ । धेरैजना नगरबासी यो कार्यक्रममा सहभागी जनाउन इच्छुक हुनुहुन्छ,’ उनले भनिन् । आगामी दिनमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ । साथै सबै नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने नगरपालिकाको योजना रहेको उनले सुनाइन् । दुई अस्पतालबाट निःशुल्क सेवा अहिले नगरभित्रका दुई अस्पतालबाट नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिन सक्छन् । उपप्रमुख लामाका अनुसार नगर अस्पताल र नेपाल मेडिकल कलेजबाट निःशुल्क रूपमा स्वास्थ्य उपचार गर्न सकिने नगरपालिकाले जनाएको छ । नगर अस्पतालमा जाँच गरेर उपचार सम्भव नभएमा मेडिकल अस्पतालमा रिफर हुने गरेको छ । नगरपालिकाले अस्पतालमा विभिन्न रोगअनुसारका चिकित्सकहरू नियुक्त गरेको उपप्रमुख लामाले बताइन् । रोगअनुसार बिरामीले विशेषज्ञ डाक्टरहरुद्वारा उपचार गराउन सक्छन् । नेपाल सरकारले ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आइरहेको छ । तर, पनि नागरिकले औषधी नै नपाइने, पाइहाले महँगो शुल्क तिनुपर्ने गुनासो बेलाबेला गर्दै आइरहेका हुन्छन् । नगरपालिकाभित्रका अस्पतालमा त्यस्तो समस्या नभएको उपप्रमुख लामाले भनिन् । उनले भनिन्, ‘धेरै जनाले निजी अस्पतालमा जँचाएर त्यहाँ दिएको औषधी खोज्नुहुन्छ । जुन बीमाभित्र उपलब्ध हुँदैन । औषधी नै नपाएको भन्दा पनि एउटै काम गर्ने फरक नामका औषधी दिन्छौं, तर उहाँहरूले खाइरहेकै औषधी खोज्नुहुन्छ । त्यो हुँदा समस्या सिर्जना भएको हो ।’ विपन्न वर्गलक्षित निःशुल्क स्वास्थ्य बीमा नेपाल सरकारले २०७२ सालदेखि न्यून आय भएका नागरिकलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । यसबाहेक विभिन्न निजी संस्थाहरूले पनि स्वास्थ्य बीमाअन्र्तगत कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सरकारले सञ्चालन गरेको उक्त स्वास्थ्य बीमामा ३ हजार ५ सय रुपैयाँ तिरेर आवद्ध भई १ लाख रुपैयाँ बराबरको विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्छन् । नगरपालिकाका उपप्रमुख लामा नगरभित्र कतिपय नागरिकले ३ हजार ५ सय रुपैयाँसमेत तिर्न नसकेर स्वास्थ्य बीमा गर्न नसकेको अवस्था भएकाले विपन्न वर्गलक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको प्रष्टाउँछिन् । ‘सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमामा ३ हजार ५ सय तिनुपर्छ, तर नगरभित्र ३ हजार ५ सय तिर्न नसक्ने धेरै जना रहेको हामीले पायौं, पैसा तिर्न नसकेर कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुनुनपरोस् भनेर निःशुल्क स्वास्थ्य बीमा सुरु ग¥यौं,’ लामाले भनिन् । आउँदो दिनमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारिता बढाउँदै लैजाने नगरपालिकाको योजना छ । नगरभित्रका सबै नगरबासीलाई समेट्दै यसलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । ७० प्रतिशत छुटदेखि निःशुल्क उपचारसम्म गोकर्णेश्वर नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई मध्येनजर गरी विभिन्न उल्लेखनीय स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकाले नगरबासीको सहज स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न ‘गोकर्णेश्वर हेल्थ कार्ड’ समेत सुरु गरेको छ । नेपालमा यस्तो सेवा प्रदान गर्ने गोकर्णेश्वर पहिलो नगरपालिका हो । यस्तै, नगरपालिकाले नसर्ने रोग न्यूनीकरणको लागि विभिन्न प्रयासहरू गर्दै आइरहको छ । जसले गर्दा नगरपालिकाले ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’, समेत प्राप्त गरेको छ । नगरपालिकाले ३० देखि ६० वर्षसम्मका महिलाहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गर्दै आइरहेको छ । बेलाबेलामा यससम्बन्धी अभियानमेत सञ्चालन गर्दै औषधीहरु समेत वितरण गर्दै आइरहेको उपप्रमुख लामा बताउँछिन् । निःशुल्क स्वास्थ्य बीमाबाहेक मेडिकल कलेज, नगर अस्पताल र शंकरापुर अस्पातालमा उपचार गर्दा कुनै समस्या भएमा ७० प्रतिशतसम्म छुटमा सुविधा लिन सक्नेछन् । त्यसैगरी, कुनै महिलाको पाठेघर समस्या आएर पाठेघर फाल्नुपर्यो भने पनि नगरपालिकाले आर्थिक सहयोग गर्दै आइरहेको छ । त्यसबाहेक नियमति खोप, स्वास्थ्य शिविरहरू पनि नगरपालिकाले सञ्चालन गर्दै आइरहेको छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’
डडेल्धुरा । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेश्वर गाउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू भएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्नमा सघाउ पुर्याउने उद्देश्यले शिक्षक डायरी लागू गरिएको हो । शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारूपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ । शिक्षणलाई प्रभावकारी बनाउन तथा शिक्षकको पेसागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको पालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेलले बताए । ‘शिक्षकले वर्षभरि अध्यापन गर्ने विषयवस्तुको शैक्षिक योजना बनाई प्रभावकारी रूपमा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न शिक्षक डायरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ’, उनले भने, ‘नियमित रूपमा शिक्षक डायरी प्रयोग गर्दा शिक्षकमा हरेक शैक्षिक सूचनाको खोज गर्ने बानीको विकास हुन्छ । बाल मनोविज्ञानको ख्याल गरी योजना तयार पार्न, शैक्षिक सामग्री तयार गर्न, विभिन्न शिक्षण विधिमध्ये उपयुक्त छनोट गरी प्रयोग गर्न, शिक्षणको कार्यलाई सरल तरिकाबाट सम्पन्न गर्न सकिन्छ ।’ डायरीमा पेसाप्रति समर्पित कर्तव्यनिष्ठ शिक्षकले पालना गर्नुपर्ने महत्त्वपूर्ण जानकारी सङ्ग्रह गरिएको शिवशंकर मावि भागेश्वर-५ रुपालीगाडका प्रधानाध्यापक मोती नाथले बताए । उनले भने, “यसबाट शिक्षकको क्षमतामा वृद्धि हुन्छ नै । विद्यार्थीको पढाइप्रतिको मोहलाई बढाउन सकिन्छ । शिक्षकको मूल्यांकन हुने भएकाले अध्ययपनकार्यलाई कसरी गुणस्तरयुक्त बनाउन सकिन्छ भनेर शिक्षकले अब मेहनत गर्नेछन् ।” उनले भने, ‘शिक्षकले पाठ्य योजनासहित प्रस्तुत नहुँदा पाठ्यक्रमको मर्मअनुसार पठनपाठन हुन सक्दैन । डायरीमा यिनै कुरालाई दर्साइएको छ । हामीलाई कर्तव्यप्रति निर्वाहमा इमानदार हुन मद्दत पुर्याएको छ ।’ डायरीमा उल्लेख गरिएका कुरा महत्त्वपूर्ण रहेको भुवनेश्वरी प्रावि डुङ्री डडेल्धुराका प्रधानाध्यापक वसन्ती भट्टले बताए । उनले भने । विद्यालयमा शिक्षक डायरी लागू गरी शैक्षिक गुणस्तर हासिल गर्नका लागि अगाडि बढेका छौँ । शिक्षक डायरीमा पालिकाका सम्पूर्ण शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई समावेश गरिएको पालिका अध्यक्ष हेमराज चटौतले बताए । उनका अनुसार डायरीमा नगरपालिकाको प्रशासनिक तथा राजनीतिक विभाजन, नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयको तथ्यांकगत विवरण, वार्षिक शैक्षिक क्यालेण्डर, शिक्षासँग सम्बन्धित वेबसाइट, पाठ्यक्रमसम्बन्धी जानकारी, विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य, पाठ्यक्रमको संरचना, मूल्यांक प्रक्रिया उल्लेख गरिएको छ । यसैगरी डायरीमा विद्यार्थीको वैयक्तिक विवरण राख्ने व्यवस्था गरिएको छ । विद्यार्थीको नाम, जन्म मिति, आमाबुबाको नाम, अभिभावकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर राख्ने व्यवस्था गरिएको छ । विद्यालयमा पढाइ भएको दिन, विद्यार्थीको उपस्थितिको विवरणसँगै अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीको विवरण राख्नका लागि डायरीमा व्यवस्था गरिएको छ । डायरीमा शिक्षकको समय तालिका, शैक्षिक योजना बनाउनका लागि स्थान उपलब्ध गराइएको छ । विद्यालयमा हुने एकाइ परीक्षाको अभिलेख राख्ने, त्रैमासिक, अर्धवार्षिक र निरन्तर मूल्यांकनको अभिलेख र निरन्तर मूल्यांकन फारामसमेत डायरीमै राखिएको छ । भागेस्वर गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् । रासस
सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु, २० करोडमा निर्माण
भक्तपुर । सूर्यविनायक नगरपालिकाले मंगलबारदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ । यसअघि नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो । मंगलबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनले भने, ‘नगर प्रमुख, उपप्रमुखको कार्यकक्ष र अन्य महत्वपूर्ण शाखाहरु नयाँ भवनमा सारेर सेवा सुरु भएको छ । भोलि र पर्सिको सार्वजनिक बिदामा सबै शाखाहरु सारेर नयाँ भवनबाटै सेवा सञ्चालन हुन्छ ।’ | नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री, पाँच सय सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठजना क्षमता रहेको दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुईवटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । नगर प्रमुख वासुदेव थापाले २०७४ सालमा पहिलो पटक नगर प्रमुखको पदबहाली गर्दा दुई कोठा र दुईजना सरकारी दरबन्दीका कर्मचारी लिएर कार्यालय सञ्चालन गरेको नगरपालिकाले आज आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको बताए । नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन रु २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । मासिक रु एक लाख २० हजार भाडा तिर्दै आएको नगरपालिकाले सङ्घीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको जनाएको छ । नगरपालिकाले आगामी ०८३ जेठ मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको बताए ।