७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं । काठमाडौं महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । वडा नं १० का कार्यवाहक वडाध्यक्ष सुनिता भित्रीकोटी तथा सदस्य सतिस तण्डुकारको संयोजनमा त्यस क्षेत्रमा सफाइ गरी ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीलगायत कर्मचारी, कामानपा वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ काठमाडौं हेरिटेजका अध्यक्ष हेमा अधिकारी तथा अन्य पदाधिकारी, कामानपा वडा नं १० का कर्मचारी, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौड्याललगायतको सफाइमा सक्रियता थियो । सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको उनले सुनाए । सफाइका लागि मुक्तिनाथ विकास बैंकका बोर्ड सदस्य नारायणकुमार श्रेष्ठले बैंकको तर्फबाट माक्स र पन्जा वाग्मती सफाइ महाअभियानलाई प्रदान गरेका थिए । अर्को हप्ताको सरसफाइ कामानपा वडा नं ६ को संयोजकत्वमा गर्नेगरी तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान २ घण्टा जारी छ । सफाइ महाअभियानलाई सघाउन विगत तीन हप्तादेखि काठमाडौं महानगरपालिकाको वाग्मती नदीसँग सीमा जोडिएका वडाहरूले सफाइको नेतृत्व गर्दै आएका छन् ।

सम्पदा पुनःनिर्माणमा काठमाडौं महानगर, कहाँ-कहाँ हुँदैछ काम ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले विगतदेखि नै महानगरलाई खुला संङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइराख्न नगरभित्रका मन्दिर, सत्तल, बहाल, विहार, गुठी, ढुंगेधारा तथा पोखरीजस्ता सम्पदाहरूको पुनःनिर्माण, संरक्षण र सम्वद्र्धनमा जुट्दै आएको छ । महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत समेत यस्ता सम्पदाहरूको निर्माण र संरक्षण प्राथमिकताका साथ अगाडि बढाइएको छ । जसअन्र्तगत यस वर्ष पनि महानगरले महानगरभित्रका विभिन्न स्थानमा रहेका सम्पदाहरुको पुर्ननिर्माण, संरक्षण, सम्वद्र्धन र सरसफाइ गर्ने योजना राखेको छ । त्यसअन्र्तगत नै अहिले विभिन्न ठाउँमा पुनःनिर्माणका कार्यक्रम सञ्चालन भइरहेको महानगरले जनाएको छ । महानगरका सम्पदा तथा पर्यटन विभागीय प्रमुख कुमारी राईका अनुसार यो चालु आवमा ठेक्का प्रक्रियामार्फत झण्डै ५० वटा साना तथा ठूला प्रोजेक्टका सम्पदाहरूको पुनःनिर्माण हुँदैछ । त्यसमा मन्दिर, बहाल, सत्तलह रहेका छन् । ठेक्का प्रक्रियाबाहेक उपभोक्तामार्फत ३० वटा मन्दिर तथा सत्तलहरु पुनःनिर्माणको क्रममा रहेको प्रमुख राइले बताइन् । त्यसैगरी, चालु आवमा ४०/४५ ठाउँको ढंगेधाराहरु पुनःनिर्माण भइरहेको छ । राईका अनुसार श्रमबैंकबाट दैनिक हाजिरीमा कामदार राखेर प्रत्येक वडामा भएका ढुंगेधारा सफा गर्ने कार्यक्रम भइरहेको छ । सरसफाइ कार्यक्रमका लागि एक जना सुभरभाइजर र १० जना कर्मचारी खटिएका छन् । सरसफाइमा जोड दिन थालेसँगै पुराना ढुंगेधाराहरुको मुहार नै बद्लिएको राइले बताइन् । ढुंगेधारा, हिटी, पोखराबाहेक मन्दिरहरुको सरसफाइ र मर्मतसम्भारमा जोड दिइएको छ । यसका लागि अहिले मन्दिरहरुको खोजीकार्य पनि भइरहेको राईको भनाइ छ । पुनःनिर्माण हुँदै गरेका मुख्य सम्पदा काठमाडौं महानगरले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर निर्माण–पुनःनिर्माणलाई अघि बढाइरहेको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएकाे र जीर्ण भएका सम्पदाहरुलाई पुनः निर्माण गर्ने, मर्मतसम्भार, सरससफाइ गर्ने काममा निरन्तर खट्दै आएकोमा यो चालु आवमा पनि निरन्तरता दिएको छ । मल्लकालमा बनेका ठूला तथा साना मठ, मन्दिरहरु भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको महानगरले जनाएको छ । भद्रकाली मन्दिर महानगरले ०७२ सालको भूकम्पले जीर्ण बनाएको ११ वडामा पर्ने भद्रकाली मन्दिर परिसरको सत्तलको पुनःनिर्माण गर्दैछ । महानगरका सम्पदा विभाग राईले महत्वपूर्ण शक्तिशाली पीठ भद्रकाली मन्दिरले बहुपक्ष सम्बन्धलाई स्थापित गर्ने भएकाले यसको संस्कृतिलाई बचाइराख्नुपर्ने बताइन् । उक्त मन्दिरको पुनःनिर्माण असार अन्तिम साताबाट सुरु भएको हो । बीचमा केही विवाद सिर्जना भएर काम रोकिएपनि अहिले धमाधाम भइरहेको महानगरले जनाएको छ । यसको पुनःनिर्माण नेवारी शैलीमा हुँदैछ । विभागका प्रमुख राईका अनुसार तुलसी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा लिएको छ । उक्त निर्माण कम्पनीले ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । आगामी तीन वर्षभित्र पुनःनिर्माण गरिसक्नुपर्ने ठेक्का सम्झौता छ । महाकाल भैरव टुँडिखेलको पश्चिमतर्फ रहेको मल्लकालीन समयमा निर्माण गरिएको महाकाल भैरव मन्दिर परिसरको सत्तल पुनःनिर्माण हुँदैछ । यो मन्दिर परिसरमा पनि सत्तलहरुको पुनःनिर्माण भइरहेको छ । यो मन्दिर परिसरको सत्तल पुनःनिर्माणको लागि १० करोड ५ लाख रुपैयाँ रुपैयाँ बराबरको सम्झौता भएको छ । पुनःनिर्माणको ठेक्का विनायक एसपी बोहरा जेभी निर्माण कम्पनीले पाएको हो । यो मन्दिरको पुनःनिर्माण २०८३ असारसम्ममा सकाउनुपर्ने सम्झौता भएको महानगरले जनाएको छ । भवानी  शंकर मन्दिर वडा न २५ स्थित केलटोलमा अवस्थित भवानी शंकर मन्दिरको पुनःनिर्माण भइरहेको महानगरले जनाएको छ । पुनःनिर्माणको लागि सिएल एटु जेड निर्माण कम्पनीले ठेक्का पाएको छ । उक्त निर्माण कम्पनीसँग ६ करोड रुपैयाँमा सम्झौता भएको सम्पदा तथा पर्यटन विभाग प्रमुख राईले बताइन् । भर्खर काम सुरु भएको उक्त मन्दिरको पुनःनिर्माण आगामी २ वर्षभित्र अर्थात २०८२ को अन्त्यतिर सकाउनुपर्ने ठेक्का सम्झौता छ । इखा पोखरी वडा न १७ मा रहेको ऐतिहासिक इखा पोखरीको पुनःनिर्माण हुँदैछ । कन्या मन्दिरभित्र पुनःनिर्माण हुन लागेको उक्त पोखरीको लागत ४ करोड रुपैयाँ रहेको छ । ऐतिहासिक महत्व बोकेको उक्त पोखरी हाल सुकेको अवस्थामा छ । यो पोखरीले करिब ७ रोपनी जग्गा ओगटेको छ । यो पोखरीले ओगटेको जग्गा अतिक्रमणमा पर्दै आइरहेको थियो । पोखरीको पुनःनिर्माण हुने भएपछि यसले नयाँ जीवन पाउने भएको महानगरले जनाएको छ । रणमुक्तिश्वर मन्दिर काठमाडौं महानगरले खिचापोखरीमा अवस्थित रणमुक्श्विर मन्दिरको पुनःनिर्माण प्रक्रियासमेत अगाडि बढाइसकेको छ । यसभन्दा अघि पनि पुनःनिर्माण गर्ने भनिएपनि विभिन्न कारणहरुले उक्त मन्दिरको पुनःनिर्माण हुन सकेको थिएन । महानगरका अनुसार यो पटक भने रणमुक्तिश्वर मन्दिरको पुनःनिर्माण हुने जनाएको छ । यसका लागि टेन्डरसमेत आह्वान भइसकेको सम्पदा विभाग प्रमुख राईले बताइन् । उनका अनुसार यो मन्दिरको पुनःनिर्माणका लागि ९ करोड लागत लाग्ने अनुमान गरेको छ । इट्टा चप्पा त्यसैगरी, काठमाडौं महानगर असनमा इट्टा चप्पा सतल पुनःनिर्माण हुँदैछ । यो मन्दिरको पुनःनिर्माणका लागि २ करोड ८४ लाख लागत रहेको महानगरले जनाएको छ । मन्दिर पुनःनिर्माणको ठेक्का शुभश्री कन्सक्ट्रक्सनले पाएको छ । महानगरका अनुसार उक्त मन्दिरको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भइसकेको छ । यीबाहेक स-साना योजनाहरु पनि प्रत्येक वडाहरूमा कम्तीमा तीन÷चार वटा मन्दिर, गुम्बा, सत्तलहरुको पुनःनिर्माण भइरहेको छ सम्पदा विभाग प्रमुख कुमारी राईले बताइन् । बस स्टप फल्चाको पुनःनिर्माण काठमाडौं महानगरले मन्दिर, गुम्बा, सत्तलजस्ता सम्पदाको पुनःनिर्माणमात्रै नभएर बस विसौनीमा ‘फल्चा’ निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेको छ । महानगर प्रमुख बालेन्द्र शाहले चुनावी घोषणापत्रमा समेत ‘बस बिसौनीमा परम्परागत शैलमा फल्चा निर्माण गर्ने’ भनेर उल्लेख गरेका थिए । चुनाव जितेपछि अर्थात आव ०७९/८० को पहिलो नीति तथा कार्यक्रममार्फत उनले महानगरभित्रका बस स्टपहरूमा फल्चा निर्माण गर्न विभिन्न संघसंस्थालाई प्रोत्साहन गर्ने विषय समेटिएको थियो । त्यसैअनुरुप अहिले महानगरले फल्चा निर्माण–पुननिर्माण कार्यलाई अघि बढाएको छ।सम्पदा विभाग प्रमुख राईका अनुसार उपभोक्ता समितिमार्फत २ वटा फल्चा निर्माण सम्पन्न भइसकेको छ । बिजुली बजार पुल नजिकै र बबरमहल औषधी विभागनजिक अगाडि फल्चा निर्माण भइसकेको हो । उनले महानगरभित्रका मूख्य सडकका बस स्टपहरुमा झण्डै २२ वटा फल्चाहरु निर्माण हुने क्रममा रहेको बताइन् । फल्चाहरु निर्माणको ठेक्का आरआर कन्सक्ट्रक्सनले पाएको छ । थप १२ ठाउँमा पनि फल्चा निर्माणको लागि टेन्डर खुलाइसकेको सम्पदा विभाग प्रमुख राईले बताइन् । महानगरले गरेको अध्ययनअनुसार महानगरभित्र २६४ भन्दा बढी स्थानमा बस बिसौनीहरू रहेका छन् । महानगरले व्यवहारिक रुपमा आवश्यकता भएको ठाउँको पहिचान गरेर फल्चा निर्माण गर्दै जाने योजना रहेको छ । फल्चाहरू परम्परागत शैलीमा नै निर्माण हुनेछन् ।

उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताइन् । ‘उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ । यसका लागि बैंकसँग सम्झौतासमेत गरिसकिएको छ’, उनले भनिन्, ‘उद्यमीले बैंकबाट लिएको रु पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ । यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ ।’ उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ । वडा–वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिनाब्याज ऋण पाउने भएपछि उत्साहित भएका छन् । नगरपालिकाले गरेको सिफारिसअनुसार निवेदकको धितो मूल्याङ्कन गरेर बैंकले ऋण प्रदान गर्ने प्रभु बैंक हलेसी शाखाका प्रमुख तीर्थराज विष्टले बताए।यसैबीच, एघार वडा रहेको उक्त नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरु गरेको छ ।  रासस