निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । महानगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ । महानगरले सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्र्तगत निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो । जसअन्र्तगत महानगरपालिकाले काष्ठकला, मूर्तिकला र हस्तकलासम्बन्धी तीन महिना अवधिको तालिम सञ्चालन गर्दै छ । न्यूनतम ८ कक्षा पास गरेका १८ देखि ४५ वर्ष उमेर समूहका नागरिकले तालिमको लागि आवेदन दिन सक्ने महानगरले जनाएको छ । इच्छुक नेपाली नागरिकले फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिनेहरूमध्ये छनोटमा परेका ६० जनाले तालिममा सहभागी हुन पाउने महानगरका सामाजिक विकास विभागका विभागीय प्रमुख समीक्षा निरौलाले बताइन् । उनका अनुसार छनोट प्रक्रिया महानगरपालिकाको प्राथामिकता श्रेणीअनुसार हुने छ।

रातो मच्छिन्द्रनाथबारे छलफल गर्न ललितपुर महानगर प्रमुख विज्ञसहित गुहाटीमा

ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन रातो मच्छिन्द्रनाथको बारे छलफल गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विज्ञसहित भारतको आसाम गुहाटी पुगेका छन् । गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवालका गुठीयार नविन महर्जन, घःकुका गुठीयार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराहीसहित महानगर प्रमुख चिरीबाबु महर्जन गुहाटी पुगेका हुन् । महानगर प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको बारे आयोजना गरिएको सम्मेलनमा विज्ञहरुको सहभागिता महत्वपूर्ण भएको बताउँदै सबैको सहभागितमा आफू गुहाटी आएको बताए । उनले भने, ‘रातो मच्छिन्द्रनाथसँग सम्बन्धित यो कार्यक्रममा उहाँहरु सहभागी हुँदा विषयलाई थप बुझ्ने अवसर पाउनु हुन्छ भन्ने हेतु हो ।’ भ्रमणमा सहभागी भएकाहरु रातो मच्छिन्द्रनाथको बारेमा विज्ञ भएको नगरप्रमुखले दाबी गरे । रातो मच्छिन्द्रनाथको जात्रा र रथ संसार प्रचलित छ । नगरप्रमुखले नेतृत्व गर्नु भएको प्रतिनिधिमण्डलका सदस्य एवम पर्यटन संस्कृति समितिका संयोजक विकासमान श्रेष्ठले यो सम्मेलन महत्वपूर्ण सम्मेलन भएको बताए । वडा नं.५का वडा अध्यक्ष समेत रहेका उनले भने, ‘ सरोकारवाला सबैको सहभागिता हुँदा अझै यो महत्वपूर्ण भएको छ, रातो मच्छिन्द्रनाथको बारेमा थप बुझ्ने अवसर प्राप्त हुन्छ । ’उक्त प्रतिनिधिमण्डलमा पर्यटन समितिका अन्य दुई सदस्य वडा ६का वडा अध्यक्ष रुपेन्द्रराज शाक्य, र वडा नं.१९ का वडा अध्यक्ष राजेन्द्र महर्जन समेत छन् । यसका साथै महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ सहभागी छन् ।

भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले ट्राफिक लाइट जडान गर्ने गर्दछ । शाखाका प्रमुख राकेश महर्जनका अनुसार छ लेन सडकको पुलचोक, सहिदचोक, चौबिसकोठी, हाकीमचोक र केन्द्रीय बसपार्क चोकमा लाइट जडान गरिँदैछ । त्यस्तै बाइपास सडकको मालपोत चोकमा लाइट राखिनेछ । शाखाले अध्ययन गरी सरोकारवालासँग छलफल गरेर बोलपत्रको तयारीमा लागेको उनले जानकारी दिए । यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने गरी काम अघि बढेको उनको भनाइ छ । भरतपुरमा मात्र एक करोड ५० लाख हाराहारी खर्च लाग्ने अनुमान छ । शाखाले भरतपुर र वीरेन्द्र नगरमा सँगसँगै लाइट जडान गर्ने तयारी गरेको छ । यसअघि पोखरा र नेपालगञ्जका पाँच/पाँच स्थानमा लाइट जडान गरेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिभिजन सडक र ट्राफिक प्रहरी कार्यालयसँग हुने छलफलमा मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको बताइन् । सडक विस्तारका क्रममा रहेकाले ढिला गरी काम हुन लागेको उनले बताइन् । सडक  विभागले लाइट राख्ने भएकाले महानगरले बजेट विनियोजन गर्न नपरेको उनको भनाइ छ । उनले भनिन्, ‘सडक विस्तार पछि लाइट राख्ने भनिएकाले केही समय ढिलो भएको हो । पहिलेदेखि नै लाइट राख्ने कुरा हुँदै आएको थियो ।’ यससँगै सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । गाडी र पैदलयात्री दुवैलाई हुनेगरी लाइट जडान गरिँदै छ । काठमाडौंमा मात्र ४४ स्थानमा शाखाले लाइट राखेको छ ।