ललितपुर महानगरभित्रका थप तीन रुटमा ट्राफिक लाइट जडान हुने
काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका विभिन्न स्थानमा थप ट्राफिक लाइट जडान हुने भएको छ । आइतबार महानगरद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले अर्को वर्ष नगरभित्रका विभिन्न रुटमा ट्राफिक लाइट जडान गरिने बताएका हुन् । प्रमुख महर्जनका अनुसार आउँदो वर्ष पुल्चोकबाट मंगलबार हुँदै ग्वार्कोसम्म, जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलखेलबाट एकान्तकुना, भैंसीपाटी हुँदै बुंगतीसम्म ट्राफिक लाइट जडान हुने भएको छ । महानगर प्रमुख महर्जनले ट्राफिक लाइट व्यवस्थापनलाई प्राथामिकताका साथ काम गरिरहेको बताए । उनले भने, ‘महानगरलाई स्मार्ट सिटी बनाउने भनेर हामी लागिपरेको छौं तर कसरी ? एकैचोटि महानगरलाई स्मार्ट सिटी बनाउन सकिँदैन । त्यसको लागि समय लाग्छ । हामीले त्यसअनुसार प्राथामिकताका साथ काम गरिरहेका छौं ।’ हाल सञ्चालनमा रहेका ट्राफिक लाइट राम्रोसँग चलिरहेको उल्लेख गर्दै प्रमुख महनर्जले आगामी दिनमा त्यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । महानगरले केही समयअघि मात्रै नेपालमै पहिलोपटक एआई ट्राफिक लाइटको सुरुवात गरिसकेको छ । यसकाे सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण काम भएको महनर्जले उल्लेख गरे । उनले सडकमा जडान गरिएका ट्राफिक लाइट सबैको लागि समान भएकाले एउटै सिस्टम हुनुपर्ने बताए । उनले बेलाबेला भिआइपी व्यक्तिको आगमन हुँदा लाइटको सिस्टम घढबढ हुने गरेको बताउँदै यो सिस्टममा एकरूपता हुनुपर्नेमा जाेड दिए । ‘कहिलेकाहीं भिभीआइपी मुभमेन्ट हुँदा यसमा लाइट एडजस्ट भइरहेको हुन्छ । ट्राफिक लाइटको समय घटिरहेको हुन्छ । भिआइपीको लागि भन्नदै सिस्टम बिगारेर हुँदैन, यो सबैको लागि समान हुनुपर्छ,’ उनले भने । सडक दुर्घटनाबाट अकालमा धेरै मान्छेको मृत्यु भइरहेको हुँदा त्यसको न्यूनीकरणको लागि आकाशे पुल निर्माणमा पनि महानगरले जोड दिँदै आएको प्रमुख महर्जनले बताए । उनका अनुसार कुसुन्तीमा अपांगता भएकाहरूलाई समेत मध्यनजर गरी पुल निर्माण हुँदैछ । त्यसैगरी, धोबिघाटमा पनि आकाशेमैत्री पुलको निर्माण हुँदैछ । पाटन अस्पताल नजिक पनि दुर्घटनायुक्त क्षेत्र भएकाले त्यहाँ पनि आकाशे पुल निर्माणको लागि सबै सरोकारवालासँग छलफल र सहमित पनि भइसकेको प्रमुख महर्जनको भनाइ छ । त्यहाँ पनि पुल निर्माण कार्य छिट्टै अघि बढ्ने जनाइएकाे छ । महानगरले आजबाट साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको सुरुवात गरेकाे छ । उक्त कार्यक्रमका विद्यार्थीहरूलाई पनि सहभागी गराइएको महनगरले जनाएको छ ।
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
फाइल फोटो चितवन । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक दुई हजार रुपैयाँका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध गराइनेछ । गत वर्ष ३३ शिक्षकले उक्त सुविधा पाएका थिए । आचार्यका अनुसार भरतपुर–२९ मा ११ विद्यालय रहेकामध्ये राजमार्गसँगै रहेको कविलास मावि बाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिइएको हो । वडामा दुई वटा माध्यमिक विद्यालय छन् । तीमध्ये कविलासमा पढाउने शिक्षकले भत्ता नपाउने भएपछि एक माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालयका शिक्षकले सुविधा पाउने भएका हुन् । महानगरप्रमुख रेनु दाहालले ग्रामीण क्षेत्रमा कोठा भाडामा लिएर पढाउँदै आएका शिक्षकलाई प्रोत्साहनस्वरुप भत्ता दिएको बताइन् । यो सुविधाले पहाडी क्षेत्रमा कार्यरत शिक्षकलाई प्रोत्साहन हुनुका साथै शिक्षामा पनि सुधार हुने उनले विश्वास व्यक्त गरिन् । सुविधा सम्पन्न ठाउँ र पहाडी क्षेत्रमा एउटै सुविधा हुँदा धेरैजसो शिक्षक पहाडी क्षेत्रमा जान नचाहने समस्या पनि यसबाट समाधान हुने उनको भनाइ छ ।
डिजीपिएस, ड्रोन, टोटल स्टेशन प्रयोगबाट सिमाङ्कन, बाढी पीडितलाई शतप्रतिशत कर छुट
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौती खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन एकीनकार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कनकार्य सकिएको छ । दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको हो । बाढीपहिरोले खोलाको सिमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनको स्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा कार्य सुरु गरेका थिए । बाढीपहिरोबाट भएको क्षतिको मूल्याङ्कनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो । भुमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले बताए । अधिकृत भुुसालका अनुसार खोलाको सिमाङ्कन सकेर स्थानीयलाई आह्वान गरिएको निवेदनका आधारमा व्यक्तिका जग्गाका कित्ता पुनःस्थापनाकार्य भइरहेको छ । पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘लेआउट’सहितको कार्य प्रारम्भ गरिएको हो । तीन कार्यालयका टोलीले डिजीपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको अधिकृत भुसालले बताए । उनका अनुसार टोलीले डिजीपिएस प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ । उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने अनुमान गरिएको छ । व्यक्तिले भोगचलन गरिरहेका जग्गाको अवस्था एकीन गर्न चुनौती भइरहेको अधिकृत भुसालले बताए । उनका अनुसार हाल ६० कित्ताको पहिचान गरिसकिएको छ । आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइने बताइएको छ । स्थानीयले भने खोला क्षेत्र र व्यक्तिगत कित्ताको पुनःस्थापना गरेर मात्र पुनर्निर्माणको काम सुरु हुनुपर्ने माग गर्दै आएका छन् । पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । ५८६ घर पूर्ण तथा ९४४ घरमा आंशिक क्षति पुगेको थियो । उक्त क्षेत्रमा ११ हजार ६३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ । यसैबीच पनौती नगरले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ । नगरको १६औँ सभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो । सम्बन्धित वडाबाट अनुगमन गरी बाढीपहिरोपीडित क्षेत्रको कटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिने नगरप्रमुख रामशरण भण्डारीले बताए । कर छुट निर्णय गरिएका बाढीप्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगर क्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाँडागाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन् । चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरोपीडितलाई उक्त सुविधा दिइने भएको हो । यस्तै नगरसभामा साधारण निर्माणमुखी रोडा-ढुङ्गा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्तिकर बुझाइसकेकाको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ ।