सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन गर्ने भएको छ । कामपाका उपप्रमुख सुनिता डङ्गोल र सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल गर्ने, फार्मेसीका लागि आवश्यक औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो । नागरिकको आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आवद्ध नभएका नागरिकहरुका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरु ‘जेनेरिक फार्मेसी’को अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य रहेको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । औषधि ब्राण्डका आधारमा नभइ औषधिमा भएका तत्वका आधारमा बिरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो । यसलाई व्यवस्थापन गर्न कामपाले विसं २०८१ मा फार्मेसी सञ्चालन नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिकाअनुसार कामपाले औषधि पसलहरुको नियमन गर्ने भएको हो । कामपाका फार्मेसीहरु सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्य हुनुहुन्छ भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव छन् । कामपाले एउटा केन्द्रीय फार्मेसी र अन्य पाँच ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

सरोज गुरागाईंलाई काम गर्न दिन काठमाडौं महानगरलाई सङ्घीय मामिला मन्त्रालयको अनुरोध

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो । काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । महानगर प्रमुख बालेनले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झूटो लाञ्छनाहरू समेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ । मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले काठमाडौं महानगरलाई बुधबार पत्राचार गर्दै भनेको छ, ‘प्रस्तुत विषयमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज प्रसाद गुरागाईं (क.सं.नं. १७२७७६) ले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ ।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत गुरागाईंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौं महानगरपालिका पठाएको थियो । तर, महानगर प्रमुख बालेनले उनलाई हाजिर गर्न नदिई सङ्घीय सरकारमाथि हिलो छ्याप्ने काम गरिरहेको चर्चा भइरहेको छ ।

१२ रोपनीमा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदै, २ हजार ७८६ वर्गमिटर पदमार्ग

काठमाडौं । पाल्पा जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए । उनका अनुसार १ करोड ३५ लाख ८४ हजार २८१ रुपैयाँको लागतमा हरियालीसहितको नमूना उद्यान बनाउन लागिएको छ । उद्यान क्षेत्रमा २ हजार ७८६ वर्गमिटर पदमार्ग तयार पारिनेछ । पानीको फोहोरासहित विभिन्न प्रजातिका फूलको बगैँचा, दुईवटा चौतारी, चारैतिर घेराबारसहितको उद्यान निर्माण हुनेछ । ‘रामपुरलाई नमूना नगर बनाउन बृहत् उद्यान निर्माण कार्य भइरहेको छ । भौगोलिक हिसाबले पर्यटनको सम्भावना बोकेको रामपुरलाई पर्यटनमैत्री, हरियाली र सुविधासम्पन्न सहरका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणमा नगरले प्राथमिकतामा राखेर काम गरिरहेको छ । यो उद्यान त्यसैअन्तर्गतको एउटा महत्वपूर्ण काम हो,’ नगरप्रमुख थापाले भने । पवित्र कालीगण्डकी नदी र रामपुर उपत्यका भएर कालीगण्डकी करिडोर सडकमार्गले जोडेकाले पनि रामपुर हेर्न र घुम्न लायक सहर बन्ने भन्दै उनले त्यसका लागि नगरले आवश्यक योजनाका साथ काम गरिरहेको सुनाए । नगरपालिकासँग जोडिएको यो उद्यान तयार भएपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समेत सहज हुनेछ । यो आरामस्थल तथा अवलोकन गर्ने माध्यम बन्नेछ । आगामी असार मसान्तसम्म सम्पन्न हुनेगरी निर्माण कार्य अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश, सहरी विकास मन्त्रालयको ग्रामीण विकास तथा साना सहरी पूर्वाधार निर्माण योजनाका लागि विनियोजित २६ करोड ७१ लाख रुपैयाँ बराबरको रकममध्ये १ करोड ३५ लाख ८४ हजार २८१ रुपैयाँको लागतमा उद्यान निर्माण हुन लागेको हो । बाँकी रकमबाट रामपुर नगरपालिका–५ र ६ मा पर्ने सहायक सडकहरूको स्तरोन्नति कार्य भइरहेको छ । यस आयोजनाअन्तर्गत उद्यानसहित यहाँ करिब ९ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको नगरप्रमुख थापाले जानकारी दिए । बुटवल, नारायणघाट, पोखरा र काठमाडौंजस्ता देशका ठूला सहरसँग सडक सञ्जाल जोडिएपछि यहाँको विकासले गति लिएको छ । सडक सुविधाको पहुँच पुगेपछि रामपुर एउटा सुगम सहरका रूपमा विकसित हुँदै छ । यस क्षेत्रमा स्थानीय सरकारले पर्यटकीय सम्भावना बोकेका क्षेत्र तथा धार्मिक स्थल स्तरोन्नतिको काम धमाधम अगाडि बढाइरहेको छ । जसले पर्यटकीय गतिविधि बढोत्तरीमा टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।