मतपत्रमा कालो, रातो, नीलो वा हरियो मसीको कलमले हस्ताक्षर गर्न सकिने

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने भएको छ । आयोगले वैशाख २२ गते गरेको निर्णयअनुसार सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले सही गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

चुनावी योजना: धनुषाधामलाई पर्यटकीय नगर बनाउनेदेखि गरिब विद्यार्थीलाई ल्यापटप र छात्रवृति

जनकपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाको धनुषाधाम नगरपालिकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजनालाई समेटिएर धनुषाधाम नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । धनुषाधाम नगरपालिकाको नगरप्रमुख पदमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका देवेन्द्रकुमार यादव (दीपक) र उपप्रमुखका उम्मेदवार अम्बिकाकुमारी विश्वकर्माले उक्त प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाधाम नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि करिब २५ किलोमिटर धार्मिक प्राकृतिक पदयात्रा मार्ग निर्माण गर्ने, नगर क्षेत्रमा रहेको धनुषा मन्दिर र राम मन्दिरलाई थप सौन्दर्यीकरण र गुणस्तरीय सरसफाइलाई प्राथमिकतामा राखी धनुषाधाम धर्मशालालाई यात्री निवासका रूपमा विकास गरिने तथा सांस्कृतिक सङ्ग्राहालयको स्थापना र बाल उद्यानको निर्माणलाई प्राथमिकता दिइने उल्लेख छ । समृद्ध नगरका लागि कृषि भन्ने नाराका साथ चुनावी प्रतिस्पर्धामा आएको आफूहरु निर्वाचित भएपछि तत्कालै नगरप्रमुखको अध्यक्षतामा कृषि नगर विकास समिति गठन गरी कृषकले वर्षाैंदेखि खेप्दै आएका मलखाद्य, बीउबिजन, कृषि सामग्रीलगायतका समस्यालाई समाधान गरिने नगरप्रमुखका उम्मेदवार यादवले बताए । एक गाउँ एक उत्पादनको नीतिलाई प्राथमिकताका साथ लागू गरिने उल्लेख गर्दै उनले कृषि बीमा लागू गरिने र दूध उत्पादक सहकारीमार्फत हरेक वडामा दूध सङ्कलन केन्द्र स्थापनालाई जोड दिने जानकारी दिए । नगर क्षेत्रका सडकहरूको स्तरोन्नति गर्दै हरेक वर्ष पाँचदेखि १० किलोमिटर कालोपत्र सडक निर्माण गर्ने, सबै वडामा सेवा पुग्ने गरी तीनवटा नगरबस सञ्चालन गर्ने र अलपत्र अवस्थामा रहेको बसपार्क सञ्चालनमा ल्याउने आफूहरूको प्रतिबद्धता रहेको नगरप्रमुखका उम्मेदवार यादवले बताए । सो अवसरमा उपप्रमुखका उम्मेदवार अम्बिकाकुमारी विश्वकर्माले दक्ष जनशक्ति निर्माणका लागि सबै माध्यमिक विद्यालयलाई स्तरोन्नति गरी प्राविधिक तथा व्यावसायिक विद्यालयका रूपमा विकास गर्ने आफूहरुको प्रतिबद्धता रहेको बताइन् । फरक क्षमता भएका, गरिब, बिपन्न, दलित एवं जनजाति समुदायलाई ल्यापटपको व्यवस्था गर्ने, प्रतिविद्यार्थी १० हजार छात्रवृत्ति तथा अतिविपन्न समुदायका विद्यार्थीलाई एक इञ्जीनियर र दुई ओभरसियर कोर्ष अध्ययन गर्नका लागि सम्पूर्ण छात्रवृत्ति दिइने व्यवस्था गरिने आफूहरूको योजना रहेको उनले उल्लेख गरिन् । गाउँपालिकाका निवर्तमान अध्यक्ष शेषको निधन धनुषाको जनकनन्दनी गाउँपालिकाका निवर्तमान अध्यक्ष अब्दुल वारिक शेषको गए राति निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित शेषको राति ८ बजेतिर निवासमै निधन भएको परिवारजनले बताएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शेख पुनः उम्मेदवार बन्ने सोचका साथ अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर कांग्रेसले सुदेश चौधरीलाई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । उनको आज बिहान इस्लाम धर्मावलम्बीको परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् । रासस

मतदाता शिक्षाको अभावः नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

फाइल फाेटाे कर्णाली । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार १० आंशिक र दुई मत पूर्णरूपमा बदर भएका छन् । उनले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूर्ण बदर भएको बताए । ‘आजको नमूना मतदानको परिणामले मतदाता शिक्षाको अभाव भएको देखाउँछ’, प्रदेश निर्वाचन अधिकारी चालिसेले भने, ‘अब यसमा राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई यसबारे सिकाउनुपर्दछ । अन्यथा मत बदर हुने बढी सम्भावना देखिन्छ ।’ स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल भएर मत बदर हुनसक्ने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले बताए । बदर मतको सङ्ख्या कम गराउन राजनीतिक दलहरुले मतदाता शिक्षाका विषयमा मतदातालाई बैलैमा जानकारी दिनुपर्ने उनको भनाइ छ । मतदाता शिक्षा कार्यक्रम नरहे पनि मत बदर हुनसक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम राखिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिए । सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायत सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहेको थियो ।