आइसोलेसनमा बसेका बिरामीलाई निःशुल्क खाना खुवाइरहेका छौं – गाउँपालिका अध्यक्ष राईसँगको कुराकानी
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व नै आज ठुलो सङ्कटमा छ । नेपालमा पनि यसको प्रभाव गहिरो देखिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ईलाम जिल्लाको चुलाचुली गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ । देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । चुलाचुली गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी : गाउँपालिकामा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठूलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । सुरुमा हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैजना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्यौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था गरेका छौं । पालिकामा १५ बेडको आइसोलेसन कक्ष तयार गरी यो आइसोलेसनमा बसेका कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छौं । हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं भने कोभिडका बिरामीहरूलाई ३ चरणमा वर्गिकरण गरेका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले बुझ्दै आउनु भएको छ । एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा निषेधाज्ञा पनि जारी गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनी एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । सी.सी.एम.सी ले बनाएको मापदण्डलाई हामीले कडाइका साथ परिपालना गरेका छौं । सी.सी.एम.सी सँग पालिकाले समन्वय पनि गरिरहको छ । गत वर्ष कोरोना भाइरस पालिकामा कमै मात्रामा फैलिएको थियो तर दोस्रो चरणको कोभिडका कारण पालिकाका ८ जना नागरिकको मृत्यु भइसकेको छ । पालिकाका केही वडामा कोभिडको प्रभाव छैन तर मानिसहरु जहाँ बढि भेला हुन्छन् त्यहि ठाउँमा यसले भयावह अवस्था सिर्जना गर्छ । यसलाई नियन्त्रण गर्नका लागि पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो । मास्क लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्यो । भिडभाडमा जान भएन । नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । बजारहरूलाई निर्धारित समयमा मात्र खोल्न दिएर कडाई गरेका छौं । धेरै नागरिकहरूले कोरोना जितीसकेका छन् । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यस महामारीलाई न्यूनीकरण गर्न सबै लागिपरेका छौं । पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? वडा कार्यालयसँग समन्वय गरी कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर र एन्टिजेन परीक्षण गर्दै आएका छौं । पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं । टोलटोलमै पुगेर परिक्षण गर्ने गरेका छौं । पीसीआर र एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । हामीले प्रत्येक स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं । पीसीआरको रिपोर्ट ढिला आउने र धेरै समय लाग्ने भएकाले एन्टिजेन परीक्षण नै पालिका भित्र बढि मात्रामा गरेका हौं । पालिकाको सबै वडामा स्वास्थ्य इकाई भएको कारण पीसीआर परीक्षण पालिका भित्र नै हुँदै आएको छ । पालिकामा निषेधाज्ञाको विकल्प सोच्नुभएको छ कि छैन ? निषेधाज्ञा जिल्ला भरमा लागु छ । निषेधाज्ञा पछि कोभिड नियन्त्रण हुन्छ भन्ने हाम्रो सोच थियो । तर, यो अनुमान भन्दा फरक ढङ्गले कोभिड देखिन थाले पछि हामीले निषेधाज्ञालाई लम्बाउनु पर्ने बाध्यता सिर्जना भएको छ । हाम्रो पालिको सिमाना झापासँग जोडिएको छ भने सिमाना पनि खुल्ला छ । हामीले झापाका नागरिकहरुसँग काम भन्दा वाहेक भेट नगर्न आग्रह गरेका छौं । हामीले झापाबाट पालिकामा प्रवेश गर्न सिमानामा कडाई गरेका छौं । यसर्थमा लकडाउन समाधान होइन, तर नगरी पनि भएको छैन । त्यसैले अब जनतामा स्वास्थ्य मापदण्डबारे सचेतना जगाएर बिस्तारै यसलाई फेरि खुकुलो बनाउँदै जानुपर्छ । भौतिक दुरी कायम गरेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । अन्य ठाउँका मानिसहरू आएकाले पनि पालिकामा कोरोना केही हदसम्म फैलिएको छ । २ नं. वडामा कोरोनाको संक्रमण अन्य ठाउँमा भन्दा अलिक बढि फैलिएको कारण सिल पनि गरेका छौं । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ? यसबारे यकिनसँग भन्न सकिँदैन । निषेधाज्ञालाई केही हदसम्म खुकुलो बनाउने पनि कुरा भइरहेको छ जिल्लामा । कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । यसबारे स्थानीय तहका जनप्रतिनिधिहरू सबै बसेर छलफल गर्नुपर्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । यसलाई बिस्तारै खुकुलो बनाउने तयारी गर्दैछौं । निषेधाज्ञा जारी रहेको अवस्था छ । नागरिकहरू डराइरहेका छन् । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । यसमा नागरिक जिम्मेवार हुनैपर्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ । नत्र घरैमा सुरक्षित बसौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग हाम्रो समन्वय भइरहेको छ । यो महामारी न्यूनीकरण गर्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई कसरी फराकीलो बनाउने यी यावत् कुराहरूमा हामीले छलफल गरेका छौँ । अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रूपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानको प्रशंसा गरेर सकिँदैन । अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन, अक्सिजनको अभाव हुन नदिन के गर्दै हुनुहुन्छ ? पालिकामा १२ ओटा अक्सिजन सिलिन्डर छ भने अक्सिजन सिलिन्डर थप गर्ने कुरा भइरहेको छ । केही स्वास्थ्य सामाग्रीहरू संघसंस्थाबाट पनि प्राप्त भएको छ । पालिकाले पनि स्वास्थ्य सामाग्री खरिद गरेको छ । कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि स्वास्थ्य सामाग्रीमध्ये पीपीईमा सबैभन्दा बढि रकम खर्च भएको छ । एक चोटि लगाए पछि अर्को चोटि प्रयोग गर्न नमिल्ने भएको कारण पीपीईमा चाहिँ बढि खर्च भएको हो । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि सहजीकरण गर्दै आएका छौं । अस्पतालमा पनि स्वास्थ्य सामाग्रीको अभाव हुन चाहिँ दिएका छैनौं । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागि के कस्तो सहयोग मिलेको छ ? प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागि सहयोग मिलेको छ भने समन्वय पनि भइरहेको छ । प्रदेश र केन्द्रले जिल्लामा स्वास्थ्य सामाग्री पठाएको थियो र जिल्लाबाट हामीले भर्खरै स्वास्थ्य सामाग्रीहरू प्राप्त गरेका छौं । यस महामारीको समयमा पनि स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ । यसमा ५ ओटा अक्सिजन सिलिन्डर, ३० थान पीपीई, अक्सिमिटर आदि स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । हाम्रो जिल्लाभर १० ओटा स्थानीय तह छ भने यी स्थानीय तहलाई जिल्ला सङ्कट व्यवस्थापन समितिले निर्णय गरी आवश्यकता अनुसार स्वास्थ्य सामाग्री दिएको छ । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । अब चाहिँ के चुनौती आउँदैछ भने श्रम गरिखाने जनसमुदायलाई कोरोनाका कारण समस्या भएको छ । दिनभर दाउरा खोजी बेलुका झापा लगेर बेच्ने मानिसहरुलाई पनि हाल यो समयमा दाउरा नबिक्ने भएको कारण समस्या छ । उनीहरुको आम्दानीको स्रोत नै नभएको कारण अबको समयमा राहत कार्यक्रमहरु ल्याउनु पर्ने पनि आवश्यकता छ । यो समयमा हामीले पनि उनीहरूलाई सकेसम्म अन्य ठाउँ नजानु भनेका छौं । यस्तो समयमा उनीहरूलाई राहत दिनको लागि छलफल पनि भइरहेको छ । उच्च प्राथमिकतामा कुन समुदायलाई राख्नुपर्ने हो भनेर हामी अनुगमन पनि गर्छौं । यसरी नै कोभिड बढ्दै गयो भने पालिकामा राहतको कार्यक्रमहरू ल्याउनु पर्ने आवश्यकता र अनिवार्यता छ । जोखिम न्यूनीकरण गर्नको लागि पालिकामा बजेट अभाव छ कि छैन ? यो महामारी न्यूनीकरण गर्नको लागि हामीलाई बजेटको अभाव नै छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुनुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । यो रकमबाट नै हामीले स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । पालिकामा भएको विकास बजेटहरू विकास निर्माणकै काममा खर्च भइसकेको छ । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, त्यो समयमा तपाईंले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला त ? कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रूप लिएको हुँदा चुनावलाई भन्दा हाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने आजको आवश्यकता हो । सबै मानिसलाई बचाईसकेपछि मात्र चुनाव गर्नुपर्ने आवश्यकता हुन्छ । अहिले कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकतामा नागरिकको जीवन रक्षा पर्नुपर्ने हो । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं । कोरोना महामारी नियन्त्रण भइसक्यो भने चुनाव पनि आवश्यकता हो । तर, पनि हामी स्थानीय सरकार भएको हिसाबले हरेक उपायहरू अपनाएर जनताको सुरक्षा गर्नमा लागिपरेका छौं । पहिलो प्राथमिकता स्वास्थ्य र कोभिड नियन्त्रण गरी चुनाव गर्नु राम्रो हुन्छ होला । आज सरकारले जनताको विषय र जनताको ज्यू ज्यानसँग विवेकपूर्ण तरिकाले न्याय दिन सकिरहेको छैन । यो समयमा सबैजना मिलेर यो विश्व महामारीको रूपमा फैलिएको कोभिडलाई रोक्नु पर्छ । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागि पर्यौं भने यो अवश्य नियन्त्रण हुन्छ ।
अपिहिमाल गाउँपालिकामा छिटै विद्युत् उत्पादन हुँदै
दार्चुला । अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ता लगानीमा विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको हो । विद्युत्को इन्टेक, विद्युत्गृह, क्यानललगायतका काम सकिएको छ । मुख्य पाइप लाइन जडानको काम मजदुर अभावले रोकिँदा निर्माण कार्य केही ढिलाइ भएको निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए । ‘अहिले यार्सागुम्बा सङ्कलनको समय चलेको कारण निर्माण कार्य अवरुद्ध भएको छ’, अध्यक्ष धामीले भने, ‘मजदुर पाइयो भने एक महिनाभित्र विद्युत्को काम सकिने छ ।’ पाथाको घट्टेखोलामा निर्माण भइरहेको विद्युत्को ६८० मिटर लम्बाइको पाइप लाइन छ । विद्युत् निर्माणअन्तर्गत विद्युत्का पोल गाड्नेदेखि तार विस्तारको काम बाँकी छ । अहिले पनि मजदुरको खोजी भइरहेको छ । मजदुर अभावमा रोकिएको काम पुनः शुरु गराउन गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले समेत आग्रह गरेका छन् । ‘निर्माणको काम निकै ढिलो भयो, मजदुर नपाएर काममा ढिलाइ गर्न मिल्दैन’, उनले भने । पालिकाभित्र मजदुर नपाए बाहिरबाट ल्याएर भए पनि समयमै विद्युत् बाल्न उनले समितिलाई आग्रह गरेका छन् । विद्युत् निर्माण गर्न सके उज्यालो अपि अभियानमा सघाउने पुग्नेछ । यो विद्युत् साविकको खण्डेश्वरी गाविसको ७०० घरधुरीमा पु¥याउने योजना छ । खण्डेश्वरीमा विद्युत् खपत हुन नसके साविकको घुसा गाविसम्म विस्तार गर्न सकिने जनाइएको छ । सडक पहुँच नपुगेको अपिहिमालको पाथासम्म विद्युत्को सामान ढुवानीमा लागत बढेको उपभोक्ता समितिका अध्यक्ष धामी बताउँछन् । उनले भने, ‘हामीले विद्युत्का ठूला मेसिन तथा ट्रान्सफर्मर शैल्यशिखर नगरपालिकाको शिखरबाट हेलिकप्टरमार्फत ढुवानी ग¥यौँ । अहिले पनि गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडसम्म मात्रै सडक पहुँच छ । सडक पहुँचबाट एक दिन हिँडेपछि मात्रै निर्माणाधीन योजनास्थल पुग्न सकिन्छ ।’ अहिलेसम्म विद्युत निर्माणका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले रु दुई करोड ८५ लाख, गाउँपालिकाले ९० लाख, स्थानीय साझेदारी पूर्वाधार विकास कोषअन्तर्गत ५० लाख र स्थानीय उपभोक्ताको ५७ लाख लागतमा विद्युत् निर्माण भइरहेको छ । रासस
स्वास्थ्य चौकी बनाउन वडा अध्यक्षले गरे जग्गा दान
फाइल फाेटाे काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षले स्वास्थ्यचौकी भवन निर्माणको लागि साढे ३ रोपनी जग्गा निःशुल्क दिएका छन् । वडा नं. ३ का वडाध्यक्ष तेजेकान्त अर्यालले स्वास्थ्यचौकी भवन निर्माणको लागि निःशुल्क जग्गा दिएका हुन् । अर्याले केही समय अगाडी स्वास्थ्याचौकी भवन निर्माणको लागि स्वास्थ्य मन्त्रालयलाई जग्गा दिएका थिए । उनका अनुसार जग्गाको लालपुर्जा स्वास्थ्य मन्त्रालयको नाममा भई हाल उक्त जग्गामा अस्पतालको भवन निर्माण काम भई रहेको छ । भवन निर्माणका लागि अहिले घडेरी निर्माणको काम भइरहेको छ । भवन निर्माण समितिले काम गरी रहेको पनि आर्यले जनाए । भवन निर्माणको लागि सुरु चरणमा अर्थ मन्त्रालयबाट १५ लाख रुपैयाँ बजेट आएको पनि अर्यालले जानकारी दिए । स्वास्थ्यचौकी भवन निर्माणको लागि लालपुर्जा भएको जग्गा चाहिने र जग्गा किन्नको लागि वडामा रकम नभएको कारण निःशुल्क जग्गा दिएको उनको भनाई छ । यो स्वास्थ्य भवन बनेपछि नागरिकको स्वास्थ्य क्षेत्रलाई थप सुविधा सम्पन्न र नजिक बनाउन जग्गा उपलब्ध गराएको वडाध्यक्ष अर्यालले बताए ।