विकास निर्माणको लागि आएको बजेट निषेधाज्ञाले फ्रिज हुन लाग्यो- गाउँपालिका उपाध्यक्षसँगको अन्तर्वार्ता

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट पाँचथर जिल्लाको याङवरक गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ । देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । याङवरक गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनिकरणका लागि गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाकी उपाध्यक्ष कमल कुमारी योङहाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी : गाउँपालिकामा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठूलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित पनि भएका छन् । यस महामारीलाई न्यूनिकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था गरेका छौं । एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा लकडाउन जारी गरेका छौं । सी.सी.एम.सी ले पालिकालाई निर्देशन दिए पछि लकडाउनलाई थप कढाई पनि गरेका छौं । हाल लकडाउनलाई निरन्तरता दिइरहेका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने कोभिड अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एबुलेन्सको पनि व्यवस्था गरेका छौं । १५÷१५ बेडको आइसोलेसन कक्ष १ र ५ नं. वडामा तयार गरेका छौं । पालिकमा १० बेडको कोभिड अस्पताल छ । पालिकाले बनाएको आइसोलेसन कक्षमा हालसम्म कसैलाई पनि राख्नु पर्ने अवस्था आएको छैन । हामीले मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले बुझ्दै आउनु भएको छ । पछिल्लो समयमा होम क्वारेन्टिन २ जना मात्र बसेका छन् । धेरै नागरिकहरुले कोरोना जिती सकेका छन् । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यस महामारीलाई न्यूनिकरण गर्न सबै लागि परेका छौं । पालिकामा अक्सिजनको अभाव छ कि छैन नि ? सबैतिर अक्सिजनको अभाव भइरहेको अवस्थामा हाम्रो पालिकामा चाहिँ अक्सिजनको अभाव नहुने कुरै भएन । अक्सिजन सिलिन्डरको पनि अभाव छ । पालिकामा ४ ओटा अक्सिजन सिलिन्डर छ, यति अक्सिजनले मात्र पालिकामा नपुग्ने अवस्था छ । कोरोना संक्रमितहरुलाई पालिकाले बनाएको आइसोलेसन कक्षमा राख्नु पर्ने अवस्था नआएको कारण हाल अक्सिजनको प्रयोग भएको छैन । पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? स्वास्थ्यकर्मीहरूलाई पीसीआर परीक्षणको तालिम दिएर पालिकामा नै पीसीआर परीक्षण गर्दै आएका छौं भने परीक्षणको लागि अन्य ठाउँमा लगेका छैनौं । पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । पीसीआर मात्र नभइ एन्टिजेन परीक्षण पनि पालिकाले गर्दै आएको छ । हामीले प्रत्येक स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरोका छौं । पालिकामा पहिला १० लाख रुपैयाँ मात्र बजेट थियो र यस महामारी नियन्त्रण गर्नको लागी बजेट नपुगेर बिचमा प्रक्रिया पुरा गरेर लगभग २४ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरी फेरी बजेटको व्यवस्थापन गरी आकस्मिक कोषमा रुपन्तरण गरेर हामीले स्वास्थ्य सामाग्रीको पनि खरिद गरेका छौं । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? निषेधाज्ञाले पालिकाका सबै नागरिकहरूलाई समस्या बनाएको छ तर, निषेधाज्ञा गर्नुपर्ने आवश्यक छ । जिल्लाले पनि निषेधाज्ञा कढा बनाउनु भनेर निर्देशन दिएको छ । श्रमजीवि र दैनिक ज्यलादारी गर्ने मानिसलाई समस्या पुर्याएको छ । बजारी क्षेत्रहरूमा बसोबास गर्र्ने नागरिकहरूलाई समस्या छ । यो समयमा धेरै कृषि गर्ने कृषकहरू खेत बारीमा काम गरी रहेका छन् । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रुपमा परिपालन गर्याे भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझेका छन् । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय पनि हो । हामीले,“अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ, नत्र घरैमा सुरक्षित बसौँ” भनेर आग्रह गरेका छौं । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण पालिकावासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्ता सहयोग मिलेको छ ? एन्टिजेन परीक्षण गर्ने किट पनि हामी आफैले खरिद गरेका छौं । स्वास्थ्य सामाग्री पनि पालिकाले नै खरिद गरेको छ । अस्ति भर्खरै मन्त्रीज्यूले ३ सय ओटा एन्टिजेन परीक्षण गर्ने किट र सामान्य स्वास्थ्य सामग्रीहरू पालिकामा पठाउनु भएको छ । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले पालिकाका प्रत्येक विद्यालयका विद्यार्थीलाई २ सय रुपैयाँका दरले स्वास्थ्य सामाग्री वितरण गर्नको लागी बजेट पठाएको छ । विद्यार्थीलाई मास्क, सोनिटाइजर लगायतका स्वास्थ्य सामाग्री किनेर दिनको लागि बजेट आएको हो । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ भने विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । टेन्डरका काम अनि स–साना तालिमका कामहरू पनि रोकिएका छन् । विकास निर्माणको लागि भनेर आएको बजेट निषेधाज्ञाकै कारण पैसा फ्रिज भएर जाने अवस्था छ । पालिकामा लगभग विकास निर्माणको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ । पालिकामा एम्बुलेन्सको सेवा छ कि छैन ? पालिकामा निजी एम्बुलेन्स चाहिँ छैन तर व्यक्ति तथा संस्थाले किनेको एम्बुलेन्स चाहिँ छ । त्यसलाई हामीले सूचीकृत गरेर आवश्यक परेको बेला यी नै एम्बुलेन्स प्रयोग गर्ने भनेर भनेका छौं । कोभिडका बिरामीहरुलाइ निःशुल्क एम्बुलेन्स सेवा पनि दिँदै आएका छौं । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा के छ ? फेरी यस किसिमको महामारी आउँछ भनेर हामीले कल्पना गरेका थिएनौं । यो महामारीलाई नियन्त्रण गर्नको लागी सबै जना खटेका छौं किन भने लकडाउनलाई प्रभावकारी बनाउने जनचेतनाका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरी रहेका छौं । हाम्रो स्रोत र साधनले भ्याए जति कोरोना महामारी नियन्त्रण गर्नमा लागेका छौं । जबसम्म जनता सचेत रहँदैनन् तबसम्म स्थानीय तहको नेतृत्वले मात्र केही हुँदैन । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । किन भने यदि स्थानीय सरकार थिएन भने यो महामारी भयावह हुन सक्ने थियो । यो महामारी नियन्त्रण गर्नमा स्थानीय तहको ठुलो भूमिका रहेको छ ।

गाउँपालिका अध्यक्ष भन्छन्- पालिकामा पैसा भएर पनि स्वास्थ्य सामाग्री किन्न नपाइने अवस्था छ

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । दिन प्रतिदिन कोरोनाबाट प्रभावित बनिरहेको भएपनि गाउँपालिका सङ्कटलाई परास्त गर्नमा लागि परेको छ । धेरै ग्रामीण क्षेत्र रहेको यो पालिकाका सम्पूर्ण कामकाजमा कोरोनाले ठुलो असर पुर्याएको छ । गाउँपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ भने त्यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागी गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागी कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् : कोभिडको प्रभाव पालिकामा पनि बढ्दो छ, कोभिड–१९ को महामारीसँग जुध्नको लागी पालिकाले कस्तो प्रयास गरिरहेको छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका त छैनन् । यो महामारी पालिकामा यसरी फैलिन्छ भन्ने हामीले सोचेका थिएनौं । एकाएक पालिकामा कोभिड–१९ को प्रभाव तीव्र गतिमा बढ्दै गयो । यस महामारीलाई न्यूनिकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था गरेका छौं । एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा लकडाउन पनि जारी गरेका छौं । पालिकामा उपचार हुन नसक्ने अवस्था आयो भने कोभिडका बिरामीहरूलाई एम्बुलेन्स मार्फत बिराटनगरसम्म लैजाने व्यवस्था मिलाएका छौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन्ट परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । हामीले मास्क क्वारेन्टिन भन्दा होम क्वारेन्टिनलाई जोड दिएका छौं भने होम आइसोलेसनमा पनि कोभिडका बिरामीहरू बसेका छन् । होम आइसोलेसन बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहनु भएको छ । होम आइसोलेसनमा बसेका कोभिड बिरामीलाई सामान्य औषधी स्वास्थ्यकर्मीहरुले वितरण गर्नु भएको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । अस्पतालको क्षमता बढाउने र संक्रमणको दर घटाउने कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आजको आवश्यकता छ । पालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागी सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा हालसम्म ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने केही नागरिकहरू निको भएर घर पनि गएका छन् । यस महामारी नियन्त्रणको लागी स्वास्थ्य शाखा कार्यालयको टिम खटिरहनु भएको छ । पालिकामा संक्रमितको संख्या पछिल्लो समयमा केही कमि भएको भन्ने आभाष छ । हाम्रो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने पालिकामा हामीले लकडाउनको घोषणा गरेका छौं । गाउँपालिकामा अक्सिजनको अभाव छ कि छैन ? पालिकामा अक्सिजन भएता पनि पर्याप्त मात्रमा चाहिँ छैन । हाल कोभिडका बिरामीलाई अक्सिजन दिएर राख्नु परेको छैन भने धेरै कोभिडका बिरामीहरू होम आइसोलेसनमा बसेका छन् । त्यसै गरी स्वास्थ्य जनशक्तिको पनि अभाव छ । हामीले एन्टिजेन्ट परीक्षण गर्ने मेशिन पनि खरिद गरेका छौं । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण गरेका छौं । पालिकामा ५ ओटा अक्सिजन सिलिन्डर रहेको छ । आइसोलेसन बेड पालिकामा कति छ, आइसोलेसन कक्षको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? पालिकामा अक्सिजन सहितको ५ बेड आइसोलेसन कक्ष छ । पालिकाकै एउटा विद्यालयमा पनि आइसोलेसन सेन्टर बनाएका छौं । यो महामारी नियन्त्रण गर्ने भन्न चाहीँ सजिलो छ, तर स्थानीय तहमा आइसोलेसन कक्ष र स्वास्थ्य सामाग्री जुटाउनको लागी समस्या छ । यो रोग नियन्त्रणका लागि तयारी पुगेकाे छैन जस्ताे मलाई लाग्छ । हाम्रो पालिकाको अस्पतालमा दरबन्दीका डाक्टर नै छैनन् । पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? पीसीआर गर्नको लागी पालिकामा ल्याब छैन । पीसीआर गरे पछि चेक गर्नको लागी अन्य ठाउँ लानु पर्छ, रिपोर्ट आउन पनि धेरै समय लाग्ने गरेको छ । बर्खाको समयमा यातायात सञ्चालन हुन पनि समस्या छ । स्वाब सङ्कलनसम्म हाम्रो पालिकामा हुने सक्छ तर हामीले पीसीआर चाहिँ गरेका छैनौं । हाम्रो जस्तो दुर्गम स्थानमा पीसीआर गर्न पनि समस्या छ । एन्टिजेन्ट परीक्षण छिटो हुने भएकाले यस मार्फत कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरीकको परीक्षण गर्दै आएका छौं । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागी पनि जोड दिइरहेका छौं । एन्टिजेन परीक्षण गर्ने मेशिन पनि खरिद गरेका छौं । कोरोनासँग अन्तसम्बन्धित लक्षण देखिएका नागरिकहरूको एन्टिजेन परीक्षण गर्दै आएका छौं । जिल्लामा निषेधाज्ञा छ, पालिकामा लकडाउन छ, नागरिकले हाल लकडाउनलाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? नागरिकहरूले लकडाउनलाई सामान्य रूपमा लिएका छन् । निषेधाज्ञा भनेको केही होइन भन्ने मानिसहरुकाे साेचाइ छ । कार्यालयहरु बन्द भएको कारणले मानिसलाई सामान्य पिडा चाहिँ परेको छ । विस्तारै कोरोना लाग्यो भने समस्या हुँदो रहेछ भन्ने जनतामा चेतनाको विकास हुँदैछ । लकडाउन प्रति त्यति नराम्रो प्रतिक्रिया आएको छैन । निषेधाज्ञामा गाउँका मानिसहरू विभिन्न कृषिका कामहरू गरिरहेका हुन्छन् । हाम्रो जस्तो ठाउँमा निषेधाज्ञाको कुनै अर्थ पनि हुँदैन । यहाँका धेरै नागरिकहरू कृषिमा आवद्ध भएको कारण यो समयमा खेतमा काम गरिरहेका छन् । मानिसहरूलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाे र मृतकको संख्या पनि बढ्दो भएका समाचार तथा सूचनाले नागरिकहरू पनि त्रसित अवस्थामा छन् । निषेधाज्ञा भनेकाे जटिल कुरा हो तर यहाँका नागरिकहले बुझदैनन् । लकडाउनमा चाहिँ हिड्न नहुने रहेछ भने बुझ्ने भएकोले पालिकाले छुट्टै निर्णय गरी २२ गतेसम्मको लागी लकडाउन जारी गरेको छ भने जिल्लाले २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ नि ? हामी संघीयतमा गए पछि प्रदेश, केन्द्र र स्थानीय तहको बिचको समन्वय अभाव देखेको छु । केन्द्र र प्रदेशमा स्वास्थ्य सामाग्री आयो भन्ने सुनिन्छ तर स्थानीय तहमा आइपुगेको छैन । प्रदेश र केन्द्रबाट सहयोग नै आएको छैन भनौं भने केही कुरा आउने त प्रदेश र केन्द्र देखि नै हो । एन्टिजेन्ट परीक्षण गर्ने मेशिन पनि हामी आफै खरिद गरिरहेका छौं । केही समय अगाडि एन्टिजेन परीक्षण गर्ने मेशिन नभएर परीक्षणको दायरा बढाउन सकेनौं तर यो नभए पनि आतङ्क चाहिँ भई हालेकाे थिएन । हाल परीक्षण गर्ने मेशिन पनि आइसकेको छ । यो ३ ओटा सरकार बिचको अन्तरसम्बन्ध राम्रो हुन आवश्यक छ । जिल्लामा कुरा गर्याे भने स्थानीय तह आफैंले स्वास्थ्य सामग्री जुटाउने भन्ने सुनिन्छ । केन्द्र र प्रदेश सरकारको यति बेला जुन खालको सक्रियता हुुनुपर्ने थियो त्यति चाहिँ नभएको महशुस गरेको छु । जोखिम न्युनिकरण गर्नको लागी पालिकामा बजेट अभाव छ कि छैन ? प्रदेश र केन्द्रबाट जोखिम न्यूनिकराण गर्नको लागी माथिबाट कुनै पनि बजेट पठाएकाे जानकारी छैन । हामी आफैंले गत साल पनि केही बजेटहरू छुट्याएका थियौं । कोरोना रोकथाम र नियन्त्रणको लागी जति बजेट हुर्नुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । पालिकामा भएको विकास बजेटहरू पनि सबै तिरबाट आइरहेको छैन । बिकास निर्माणको कामलाई रोकेर भए पनि सकेसम्म स्वास्थ्य सामाग्री खरिद गर्ने भनेका छौं । यो समयमा स्वास्थ्य सामाग्री खरिद गर्न पनि सक्ने अवस्था छैन । ५ सय एन्टिजेन परीक्षण गर्ने किट किन्नको लागी हामीले २ महिना पर्खिनु पर्याे। किन्न पाइयो भने पनि स्वास्थ्य सामाग्री बेच्ने मानिसले बढि दाम भन्छ । बढि दामको बिल स्वास्थ्य सामाग्री बेच्ने मानिसले दिन मान्दैन भने कम दामको बिल उसले दिन्छ । यो खालको प्रक्रियाले गर्दा अत्यतै समस्या छ । यो एक स्वास्थ्य सम्बन्धि क्षेत्रमा भएको समस्या पनि हो । पालिकासँग पैसा भएर पनि स्वास्थ्य सामाग्री किन्न नपाइने अवस्था छ । हामीले अक्सिजनका सिलिन्डर त किन्नै पाएनौं । यो बेला स्वास्थ्य सामाग्रिको मूल्य पनि बढि छ । बढि मूल्य भएको सामाग्री खरिद गर्याे भने समस्या पनि हुन्छ । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । एक ठाउँबाट अर्काे ठाउँमा नजाऊ भनिएको छ । विकास निर्माणको काम त धेरै प्रभाव परेको छ । ८/९ जना कर्मचारीहरू होम आइसोलेसनमा बसिरहनु भएको छ । मानविय क्षति हुनबाट बचाऔं भन्ने छ । टेन्डरका काम अनि सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । लकडाउन भएको समयभर अतिआवश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ । कर्मचारी नै संक्रमित भएपछि समस्या चाहिँ छ । यस्तो समयमा पनि काम गर्नुपर्दा निकै चुनाैति छ, जनताहरू रिसाएका छन्, यो रोगदेखि डराएका छन् । यसरी नै यो भाइरस फैलिरह्यो भने अब भोक देखि डराउने बेला पनि हुन्छ । कोरोना महामारी सकियो भने आगामी दिनमा यत्तिको अप्ठ्याराे चाहिँ स्थानीय तहले भाेग्नुपर्दैन जस्ताे लाग्छ । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, यो समयमा तपाईंले चुनावमा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला र ? यो एक राजनैतिक मुद्दा हो । राजनैतिक र संवैधानिक हिसाबले विशिष्ट ढंगले आउने कुरा हो । चुनावभन्दा राज्यले पहिलो प्राथमिकता जनताको स्वास्थ्यमा राख्नु पर्ने हो । राजनैतिक मुद्दा भएको कारण प्रक्रियामा छिरिसके पछि यो पनि एउटा आवश्यकता हो । सधै हामीले कोरोना भन्दै बस्नु पर्ने अवस्था आउँदैन होला र यो महामारी सधै यसरी नै बढिरहन्छ भन्ने अपेक्षा पनि गरेका छैनौं । कोरोना महामारी नियन्त्रण भयो भने चुनाव पनि आवश्यक हो । पहिलो प्राथमिकता जनताको स्वास्थ्यको हो तर अहिले नै चुनाव हुँदैन भन्ने बेला हैन । त्यो बेलासम्म हामी अपेक्षा गरौं । यो कोरोनाको कहर नियन्त्रण हुँदै गयो भने र सहज वातावरण बन्दै गयो भने चुनाव पनि आवश्यकतै हो । यदि कोरोनाको संक्रमण नेपालमा पनि रहिरह्यो भने त्यो बेला विशिष्ट खालको एउटा राजनैतिक तथा संवैधानिक निर्णय होला । खाली संविधानको कुरालाई मात्र पढेर भएन । मान्छे गाउँगाउँमा मरिरहेका छन् । यो बेलामा चुनाव पहिलो प्राथमिकता होइन, पहिलो प्राथमिकता स्वास्थ्य हो । त्यसो भन्दैमा अहिले नै चुनाव हुँदैन भनिहाल्ने बेला होइन । त्यो बलासम्म अपेक्षा तथा आशा गरौं कोरोना नियन्त्रण हुँदै जाला । आर्थिक वर्ष ७७/७८ को बजेटमा मानिसको स्वास्थ्यमा ख्याल गरेर राज्यले धेरै बजेट ल्याएको पनि बुझेको छु । सबै जनतालाई कोरोना विरुद्धको खोप लगाएर जनतालाई सुरक्षित गरेर एउटा नियमित प्रक्रियाबाट जानुपर्ने हुन्छ । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागिपर्याैं भने यो अवश्य पनि नियन्त्रण हुन्छ । चुनाव भनेको दोस्रो पाटो हो । महामारी बढ्दै गयो भने चुनावलाई सार्नुपर्ने पनि हुन सक्छ । पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको छ, तर पीसीआर गर्न ढिला भएको भन्ने सुनिन्छ, किन यस्तो भएको होला ? भाइरल ज्वरोको मौसम भएको कारणले पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको हो । कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएकालाइ एन्टिजेन परीक्षण गर्दै आएका छौं भने पीसीआर गर्नको लागी पालिकामा ल्याब छैन । सबैलाई पीसीआर गर्न सक्ने अवस्था पनि छैन । पहिलो हामीसँग एन्टिजेन्ट परीक्षण गर्ने किट पनि थिएन । हामीले किट खरिद गरी एन्टिजेन्ट परीक्षणको लागी सुरुवात गरेका हौैं । एन्टिजेन्ट परीक्षण गर्ने मेशिन र किट खरिद गरी जो–जो मानिसलाई कोरोनासँग सम्बन्धित लक्षण देखिएको थियो उनीहरूको घर घरमा गएर परीक्षण पनि गर्यौं । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएता पनि जनचेतनाको अभावले कोरोना परीक्षण गर्न मानेका छैनन् । कोरोना देखियो भने मानिसले समाजले तिरस्कार गर्छ भन्ने नागरिकको मानसिकता छ । एन्टिजेन परीक्षण गर्ने किट आएपछि जेठ ४ गतेबाट परीक्षण अहिलेसम्म गरिरहेका छौं । संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउने काम गरिरहेका छौं । सबै काम कोरोना रोकथाम नियन्त्रण गर्ने औषधी ल्याउने, परीक्षण गर्ने सबै काम जनप्रतिनिधि र २/४ जना स्वास्थ्यकर्मीले गर्नुपर्ने हो भन्ने छ । यो महामारी नियन्त्रण गर्नको लागी सबै जनप्रतिनिधि, कर्मचारी, नागरिकसमाज सबै राजनीतिक दल आदि लाग्नु पर्ने हो । तर, यो महामरी नियन्त्रण गर्नको लागि यस्तो खाल्को माहोल बनेन । सबै भन्दा बढि लकडाउन गरेर कोरोना संक्रमण धेरै हदसम्म रोक्न सफल भएको हाम्रो पालिका हो । कोरोना महामारीको समयमा बिवाह पनि भयो । मानिसहरुले जम्मा भएर भोज पनि खाए र धेरै ठाउँबाट मानिसहरू आउने र भेटघाट हुने माहोल बन्यो । त्यसैले जहाँजहाँ मानिसको जमघट धेरै भए त्यही ठाउँमा कोरोनाले बढी प्रभाव पार्यो । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा के छ ? फेरी यस किसिमको महामारी आउँछ भनेर हामीले कल्पना गरेका थिएनौं । सबै पालिकामा ठुलो अस्पताल बनाउन सक्ने क्षमता हुँदैन । राम्रो स्वास्थ्यकर्मीको पनि स्थानीय तहमा अभाव छ । सरकारले पनि हाम्रो जस्ता ठाउँको स्वास्थ्य अवस्था बारे ख्याल गर्दैन । डाक्टरको अभावका कारण पालिकाले डाक्टरको तलब थपेरै भएपिन महामारी नियन्त्रण गर्नमा लागेका छौं । यो महामारी नियन्त्रण गर्नकोलागि प्रमुख जिम्मेवारी राज्यको हो । जबसम्म जनता सचेत रहँदैनन् तबसम्म स्थानीय तहको नेतृत्वले मात्र केही हुँदैन । सबै स्थानीय तहहरू समान खाल्का छैनन् । स्थानीय तहहरू सजग छन् तर स्रोत, साधन तथा उपकरण जुटाउने कुरामा सरकारले नयाँ खाले ढाँचा ल्याउनु पर्छ । किनभने यदि स्थानीय सरकार थिएन भने यो महामारी भयावह हुन सक्ने थियो । राज्यले पनि विकसितभन्दा कम विकसित भएको स्थानीय तहको विकास गर्नुपर्ने आवश्यकता छ । स्थानीय तहले गरेको कामले नै आज संक्रमण धेरै ठाउँमा फैलिन पाएकाे छैन । यो महामारी नियन्त्रण गर्नमा स्थानीय तहको ठुलो भूमिका रहेको छ । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । स्वास्थ्य, शिक्षा र रोजगारीमा राज्यले जिम्मा लिनुपर्ने आवश्यकता छ । स्थानीय तहमा धेरै काम हुन्छन् । यो महामारी नियन्त्रण गर्नमा सक्दाे काम त हामी गरीरहेकै छौं ।

झापाका पालिकालाई सात अर्ब १८ करोड सङ्घीय बजेट, सबैभन्दा बढी मेचीनगरलाई

झापा । झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि  दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई ७६ करोड ५२ लाख बजेट छ । अर्जुनधारा नगरपालिकालाई ४७ करोड ७१ लाख, कन्काईलाई ५८ करोड १८ लाख, गौरादहलाई ४८ करोड ५१ लाख, दमकलाई ७० करोड १७ लाख, बिर्तामोडलाई ७० करोड १७ लाख, भद्रपुरलाई ५० करोड छ लाख र शिवसताक्षी नगरपालिकालाई ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ । यसैगरी गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख छुट्टिएको छ । गौरीगञ्जलाई ३४ करोड ८६ लाख, कचनकबललाई ३८ करोड ८७ लाख, झापालाई ३४ करोड ८४ लाख, बाह्रदशीलाई ३४ करोड १८ लाख, बुद्धशान्तिलाई ३५ करोड ७६ लाख र हल्दिवारी गाउँपालिकालाई ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ । रासस