ओखलढुंगा सामुदायिक अस्पतालबाट छिमेकी जिल्लाका बिरामीहरूले पनि सेवा पाइरहेका छन् – नगरप्रमुख श्रेष्ठ

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका पनि प्रभावित बनेको छ । पालिकामा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरू पनि धेरै भइसके । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नागरिकहरूको जनजीवन अस्तव्यस्त बनेको छ । देशका अधिकांश भागहरूमा जस्तै यस पालिकामा पनि निषेधाज्ञा लगाइएको छ । नगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि कसरी प्रयास गरी रहेको छ, अस्पतालमा अक्सिजन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाका नगरप्रमुख मोहन कुमार श्रेष्ठसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । नगरपालिकामा कोरोनाको संक्रमण दिन प्रति बढ्दो छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? कोभिड–१९ को पहिलो चरणले भन्दा दोस्रो चरणले नेपाल अधिराज्य भर आतंक मच्चाएको छ । हाम्रो पालिका पनि दिन प्रतिदिन कोरोनाबाट प्रभावित बन्दै गएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेका छौं । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ जस्तो लाग्छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने १२ ओटै वडामा माइकिङ्ग पनि गर्दै आएका छौं । यो महामारीलाई न्यूनिकरण गर्नु सरकारको पहिलो जिम्मेवारी भित्र पर्दछ । तत्कालको लागि हामीले स्वास्थ्य सामग्रीमा मास्क १० हजार, स्यानिटाइजर ५० लिटर, तथा अक्सिमिटर १५ ओटा खरिद गरेका छौं । पालिकाको १२ ओटै वडाका स्वास्थ्यचौकीमा अक्सिमिटर वितरण गरेका छौं । हाम्रो पालिकामा एउटा सामुदायिक अस्पताल रहेको छ । ११ नं. वडामा रहेको तथा ओखलढुंगाको रुम्जाटारमा रहेको अस्पताललाई २/२ हजार मास्क र १०/१० लिटर स्यानिटाइजर दिएका छौं । नेपाली सेना, जनपथ प्रहरी र प्रहरीलाई पनि ५/५ सय मास्क र ५/५ लिटर स्यानिटाइजर वितरण गरेका छौं । बाँकी रहेको मास्क, स्यानिटाइजर तथा अक्सिमिटर स्थानीय स्वास्थ्यचौकीमा वितरण गरेका छौं । सी.सी.एम.सी. ले निर्णय गर्नुभन्दा पहिला नै नगरपालिकाको बैठक बसि बैशाख २२ गते देखी २९ गतेसम्मको लागि हामीले निषेधाज्ञा जारी गरेका थियौं । फेरी पनि १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ । निजी र भाडाका सवारीहरुलाई निषेधाज्ञा अवधिभर सञ्चालन हुन दिएका छैनौं । स्वास्थ्यको मापदण्ड अपनाएर तरकारी र खाद्यका सामानहरु मात्र बिक्रीवितरण गर्न दिएका छौं । खाद्य पसल बिहान ७ बजे देखि १० बजेसम्म खोल्न दिएका छौं भने अन्य पसलहरू बन्द गराएका छौं । छिमेकी जिल्लाहरुमा भेन्टिलेटरको अभाव भएको हुँदा त्यहाँका केहि बिरामीहरुको हाम्रो जिल्लाको सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । विगत केहि वर्ष यता पालिकामा सञ्चालन हुँदै आएको मेयर कप भलिबल प्रतियोगिताका लागि भनेर २० लाख रुपैयाँ बजेट छुट्टिएको थियो । कोरोनाले गर्दा यो कार्यक्रम स्थगित भएको थियो । जेठ ७ गते नगर कार्यपालिकाको बैठक बसेर यो वर्ष यस कार्यक्रमलाई स्थगित गरी सोही रकमले बरु भेन्टिलेटर किन्ने निर्णण भएको छ । जिल्ला सामुदायिक अस्पताल ओखलढुंगाले ३ जिल्लाका बिरामीलाई सेवा दिइरहेको छ । पालिकामा करिब २६ ओटा अक्सिजन सहितको आइसोलेसन कक्ष रहेको छ । अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन, अक्सिजनको अभाव हुन नदिन के गर्दै हुनुहुन्छ ? २ ओटा अस्पतालमध्ये ओखलढुंगा सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट पनि रहेको छ । यो प्लान्टले दिनमा १५ ओटा सिलिन्डर भर्न सक्छ । जिल्ला अस्पताल ओखलढुंगा वडा नं. ४ मा रहेको अस्पतालमा अक्सिजनसहितको ६ बेड आइसोलेसन कक्ष रहेको छ । यो अस्पतालबाट पनि कोभिडको बिरामीको उपचार भइरहेको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा अक्सिजनको सुविधा सहितको २० बेडको आइसोलेसन कक्ष रहेको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा सोलुखुम्बु जिल्लाका बिरामीहरूले पनि सेवा पाइरहेका छन् । कोरोनाका संक्रमितहरु दिन प्रतिदिन यसरी नै बढ्दै गए भने अक्सिजन र सिलिण्डर दुवैको अभाव हुन सक्छ । उद्योग वाणिज्य महासंघले पालिका भित्रनै १० ओटा अक्सिजन सहितको बेड तयारी अवस्थामा राखेको छ । नेपाल पत्रकार महासंघ पनि अक्सिजन सहितको ५ बेडको आइसोलेसन कक्ष बनाउने तयारीमा रहेको छ । अहिलेसम्म त २ ओटा सामुदायिक अस्पतालबाट कोभिड–१९ का बिरामीहरूको उपचार भइरहेको छ तर दिन प्रतिदिन संख्या बढ्दै गएको हुनाले आइसोलेसन कक्ष अभाव हुनसक्ने अवस्था छ । संघसंस्थाहरुले छुट्टाछुट्टै भन्दा पनि एकै ठाउँबाट सेवा दिने तरीकाको सामुदायिक भावनाबाट आइसोलेसन कक्ष बनाउनु पर्छ भनेर पनि छलफल गरिरहेका छौं । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? पहिलो चरणमा कोरोनाको बारेमा धेरैले त विश्वास नै गरेनन् तर हाल भने जनताको पूर्ण सहयोग छ । मानिसहरुलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । संक्रमित र मृतकको संख्या बढ्दै गएपछि नागरिकहरू पनि त्रसित भएका छन् । पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । बाहिरी जिल्लाबाट आएकाहरुमा संक्रमण दर धेरै देखिएको कारण बाहिरबाट आउनेहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्न अपिल गरेका छौं । अहिलेसम्म कोभिड रोकथाम र नियन्त्रणका लागि आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्ता सहयोग मिलेको छ ? संघीय सरकारबाट भएको निर्णय र निर्देशन अनुसार प्रदेश सरकाले काम गरेको छ । प्रदेश सरकार र स्थानीय तहको प्रत्यक्ष समन्वय चाहिँ छैन । सी.सी.एम.सी बाट निर्णय भइसकेपछि स्थानीय जिल्ला प्रशासनबाट समन्वय भइरहेको छ । नगरपालिका सदरमुकामबाट नजिकै भएको कारण समन्वय गरिरहेका छौं । नगरपालिकाका र मानेभञ्याङ गाउँपालिकाको सहकार्यमा हामीले होल्ड सेन्टरको स्थापना गरेका छौं । बिदेशबाट आएका र अन्य जिल्लाबाट आएका नागरिकलाई होल्ड सेन्टरमा होल्ड गराई उनिहरुको स्वास्थ्य अवस्थाको राम्रो जनकारी लिएर मात्र उनीहरुलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाएका छौं । कोरोना रोकथाम र नियन्त्रणको लागि बजेटको अभाव छ कि छैन ? पालिकामा कोरोनाको संक्रमण यसरी नै बढ्दै गयो भने चाहिँ पक्कै बजेटको अभाव हुन्छ । संघीय सरकारले अब जुनसुकै शिर्षकबाट आएको बजेट पनि कोभिड रोकथाम नियन्त्रणको लागि खर्च गर्न सकिन्छ भन्ने निर्देशीका जारी गर्नुपर्ने आवश्यकता मैले देखेको छु । कहिलेकाहीँ हामीसँग बजेट भएर पनि बिनियोजन गर्दा शिर्षक भएन भने रकमान्तरण गर्न सक्दैनौं । केन्द्र सरकारले निर्देशिका जारी गरी यदि कुनै पनि समय कोभिड–१९ संक्रमण बढ्यो र यसको रोकथाम र नियन्त्रणको लागि बजेट अभाव भयो भने स्थानीय तहसँग भएको जुनसुकै शिर्षकको रकम खर्च गर्न सकिने छ भन्ने कुरा राखिदियो भने सहजता हुनेथियो होला । कोरोना महामारीले नगरपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले नगरपालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । हामीले हरेक शाखामा १ जनाभन्दा बढि कर्मचारी उपस्थित गराएका छैनौं । विकास निर्माणको कामहरू पनि प्रभावित भएका छन् तरपनि केही योजनाहरूको काम भने स्वास्थ्य मापदण्ड अपनाउँदै गरिएको छ । समयमा नै विकास निर्माणको काम सम्पन्न गर्नको लागि समस्या हुन सक्छ । आर्थिक वर्ष ७८/७९ को नीति कार्यक्रम तथा बजेट तयार गरी आउने असार १० गते स्थानीय तहले पेश गर्नुपर्ने हुन्छ । योजनाका ७ चरण छन् । यी ७ चरण पुरा गरी बजेट बिनियोजन गर्नुपर्ने आवश्यकता रहन्छ । यसरी नै कोभिडको प्रभाव पालिकामा बढ्दै गयो भने बजेट निर्माण गर्न चाहिँ समस्या हुन्छ । बजेट निर्माण गर्न समस्या भयो भने ७८/७९ को कार्यक्रम बजेट निर्माणको चरण नपुर्याइकन एकै चोटि नगर सभाबाट कार्यान्वयन गरेर जानुपर्ने अवस्था हुन्छ । तर त्यसको लागि पनि निर्देशिकाका जारी गर्नु पर्छ संघीय सरकारले । टेन्डरका काम अनि सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । नगरवासीको लागि नगरपालिकाले कुनै राहतका कार्यक्रमहरू ल्याएको छ कि छैन नि ? हालसम्म कुनै पनि राहतका कार्यक्रमहरू ल्याउन सकेका छैनौं । पालिकामा कुनै पनि विकास निर्माणको काम नरोकिएको कारण केही व्यक्तिहरूले रोजगार पाइरहेका छन् । हामीले सुरक्षाका मापदण्ड अपनाएर नै विकास निर्माणका कामहरू गरेका छौं । हालै राहत वितरण गरिहाल्नुपर्ने अवस्था पनि छैन । यसरी नै कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने आवश्यकता र अनिवार्यता छ । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा चाहिँ के छ ? केही हदसम्म यो सही पनि हो । जब जनताको इच्छा चाहना पुरा हुन सक्दैन तब जनता आक्रोशमा आउनु स्वाभाविक नै हो । कोभिड–१९ को सम्बन्धमा कुनै एउटा निकायको प्रयासले मात्र यो रोग नियन्त्रणमा आउनसक्ने अवस्था छैन । नागरिकहरू जबसम्म सचेत, सजग, अनुशासित अनि स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो गतिविधि गर्नुहुन्न तबसम्म यो रोग नियन्त्रण गर्न सक्दै सकिँदैन । जसरी एउटा स्थानीय तहले कोरोना नियन्त्रण गर्न सकेन भन्ने जनताको गुनासो छ, त्यो गुनासो आउनु स्वभाविकै हो । स्थानीय तहले पनि अहिलेको राज्यको पुनर्संरचनासँगै नयाँ काम गरिरहेको अवस्था छ । आफूसँग भएको पैसा खर्च गर्न पनि नीति नियम पुर्याएर मात्र गर्नसक्ने अवस्था छ । यिनै कारणहरुले गर्दा चाहे अनुरूपको काम गर्न नसकिएको हो । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, यो समयमा तपाईंले चुनावमा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला र ? यो एक राजनैतिक मुद्दा हो । राजनैतिक मुद्दा र जनताको आवश्यकतालाई २ ओटा पाटोबाट हामीले निर्णय गर्नुपर्ने हुन्छ । राजनैतिक मुद्दा भएको कारण प्रक्रियामा छिरिसके पछि यो पनि एउटा आवश्यकता हो । कोभिड–१९ ले नेपालमा पनि महामारीको रुप लिएको हुँदा चुनाव अहिलेको आवश्यकता होइन भन्ने आवाज उठेको हो । यो पनि आफैमा नराम्रो होइन राम्रो हो । तर म के भन्छु भने राजनीति र विकासको पाटो छुट्टाछुटै छ स्थानीय तहमा । राजनीति प्रक्रियागत रूपमा आउँदा त्यो किसिमको घटनाक्रमले चुनाव गर्नुपर्ने स्थिति भयो कि भन्ने सबैको बुझाई छ । चुनाब हुने कि नहुने भनेर सर्वाेच्च अदालतको निर्णय आउन बाँकी छ । अहिले नै चुनाव हुन्छ भन्ने पनि टुङ्गो भइसकेको छैन । त्यसैले अदालतले निर्णय गरेपछि मात्र यसको यकिन हुने हो । यदि चुनाव गर्नुपर्ने नै स्थिति आयो भने यो राजनैतिक मुद्दा भएको हुनाले स्थानीय तहको क्षेत्र अधिकार त्यो भित्र पर्दैन । तथापि जनताले कोभिड–१९ को भ्याक्सिन नपाइरहेको अवस्थामा ठुलो धनराशी खर्च गरेर चुनाव गर्नुपर्ने आवश्यकता छ जस्तो मलाई लाग्दैन । यहाँका जनताको मनसाय बुझ्दा खेरी पनि उनीहरुले अहिलेको आवश्यकता चुनाव नभई बरु खोप तर्फ सरकारले ध्यान दिए हुन्थ्यो भन्ने पाएको छु ।

काठमाडौं महानगरको सहयोगमा बुधबारदेखि क्षेत्रपाटीमा ३५ वेडको कोभिड अस्पताल सञ्चालनमा

काठमाडौं । काठमाडौँ महानगरको सहयोगमा आजदेखि क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याईएको छ । क्षेत्रपाटी चिकित्सालय अस्पतालमा महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहार्नेछ । यसका लागि गएको बैशाख ३१ गते नै सम्झौता भइसकेको छ । महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गर्ने जनाईएको छ । अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार अहिले जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकता राखिएको छ । अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन, प्रमुख शाक्यको भनाइ थियो । उक्त अस्पतालको पूर्वाधार सुधारका लागि महानगरले करीब ३० लाख रुपैयाँ बराबरको खर्चमा लिफ्ट जडान गरिदिएको छ भने नयाँ भवन निर्माण गर्न करीब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन भएको हो । बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोभिडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धि माग गरेका थिए । अस्पतालहरुको मागअनुसार विभिन्न मितिमा १२ वटा अस्पतालहरुसँग सम्झौता भएका छन् । यसरी गरिएका सम्झौताबमोजिम बुधबारबाट कोभिड अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० वेडको राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ वेडको एचडीयू र २५ वेडको गरी ५० वेडको आइसोलेसन सञ्चालनमा आइसकेका छन् । यस्तै विभिन्न अस्पतालहरुमा ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) सहित उपकरण जडान हुँदैछन् । महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका ४ थान भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई र २ थान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई वितरण गरिसकेको छ ।

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन – उपप्रमुख राई

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको नियन्त्रणका लागि षडानन्द नगरपालिका कम्मर कसेर लागिपरेको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा नगरपालिकाको सक्रियता पनि प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । पालिकामा कोरोनाको संक्रमण दर उच्च भई संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । यस्तो अवस्थामा नगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाकी उप–प्रमुख मेरिका राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । नगरपालिकामा कोरोनाको संक्रमण दिन प्रति बढ्दो छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? अन्य ठाउँमाजस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा नगरपालिकाले १४ बेडको आइसोलेसन कक्ष तयार पारेको छ । आवश्यक परेमा आइसोलेसन कक्ष बढाउने तयारी पनि गरेका छौं । स्वास्थ्यकर्मीको अभावले हालसम्म संक्रमितलाई पालिकाले बनाएको आइसोलेसनमा राखेका छैनौं । अहिले तत्काल भने संक्रमित भएका नागरिकलाई अन्यत्रै लगेर राख्ने व्यवस्था मिलाएका छौं । नगरपालिकाको केन्द्रमा १५ शैयाको अस्पताल रहेको थियो तरपनि हालसम्म त्यो अस्पताल सञ्चालनमा आएको छैन । त्यहि अस्पतालमा नै कोरोनाका बिरामीहरूलाई राख्ने योजना रहेको छ । पालिकामा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर नै काम गरिरहेका छौं भने नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । पालिकामा भेन्टिलेटरको अभाव छ । कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीहरूलाई निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएका छौं । पालिकामा पीसीआर गर्नका लागि ल्याब छैन तर स्वाब संकलन गरी पीसीआरको लागि नजिकैको धनकुटा जिल्लामा लगेर चेक गर्ने व्यवस्था मिलाएका छौं । नगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेका छौं । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेका छौं । पालिकाका धेरैभन्दा धेरै कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा बसेका नागरिकहरूको स्वास्थ्य अवस्था पनि बुझिरहेका छौं । हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र पालिकाले बनाएको आइसोलेसन कक्षमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमै सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बस्ने नागरिकहरूलाई सामान्य मेडिकल प्याकेज किट दिने गरेका छौं । इरखुवा खोला हाइड्रोपावरमा काम गर्ने धेरै कामदारहरूलाई कोरोना संक्रमण भएको छ । कम्पनीले उनीहरुलाई इटहरी लगेर स्वास्थ्य अवस्थाको ख्याल गरिरहेको छ । हाइड्रोपावरबाट गाउँ नजिकै रहेको हुँदा गाउँका धेरै नागरिकहरू पनि कोरोना संक्रमित भएका छन् । पालिकाको आफ्नो एम्बुलेन्स छैन । एम्बुलेन्स नभएको कारण पालिकाले नै एउटा गाडी हायर गरी एम्बुलेन्सको रूपमा प्रयोग गरेको छ । पालिकाबाट अन्य जिल्लासँग जोडने सडकको मोटरेबल पुल नभएको कारण समस्या पनि भइरहेको छ । संखुवासभा र पालिका जोड्ने फेरी सञ्चालनामा छ तर बर्खाको समयमा यो फेरी पनि सञ्चालन हुन सक्दैन । पालिकाका कोरोना संक्रमितहरुलाई खाँदवारी नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन कक्षमा राखेका छौं । चाहेर पनि हामीले एम्बुलेन्स निःशुल्क गर्न सकेका छैनौं बरु अस्पतालले तोकेको दरमा नगरपालिकाले केही सहुलियत दिएर रकम तोकेका छौं । बिरामीलाई एम्बुलेन्स आवश्यक परेको खण्डमा पालिकाले हायर गरेको गाडीलाई तुरुन्तै पठाउने व्यवस्था मिलाएका छौं । नगरपालिकाको अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन ? हाम्रो प्राथमिकता सकेसम्म आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्था गर्नुपर्छ भन्ने हो । पालिकामा हाल अक्सिजन तथा सिलिण्डरको अभाव छ । त्यसैगरी स्वास्थ्य जनशक्तिको पनि अभाव छ । वडा नं. १ मा स्वास्थ्य सामग्रीको अभाव रहेको छ । कोभिडको लागि भनिएको औषधीको पनि अभाव नै छ । नगरपालिकाको सबै वडामा स्वास्थ्य संस्था रहेका छन् । औषधी खरिद गरी ल्याउने क्रममा पनि छौं । पालिकामा १४ ओटा मात्र अक्सिजन सिलिण्डर छन् । यति अक्सिजनले मात्र पालिकामा नपुग्ने अवस्था छ । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? गत वर्षको तुलनामा यस पल्टको महामारीमा नागरिकहरू आफैं सचेत हुनुभएको छ । पहिलेको तुलनामा हालको निषेधाज्ञामा पूर्ण रूपमा जनताको सहयोग मिलेको छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरसले पालिकाका धेरै मानिसहरूको स्वास्थ्यमा समस्या पारेको छ । अहिलेको स्थितिमा सरकारलाई पूर्ण सहयोग गर्नुपर्छ भनेर आम नागरिकले निषेधाज्ञालाई पूर्ण पालना गरेका छन् । उनीहरूलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । ज्याला मजदुरी गर्न मानिसहरूलाई समस्या छ । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण नगरबासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेकै छ । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरिरहेको छ । पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको छ, तर पीसीआर गर्न ढिला भएको भन्ने सुनिन्छ, किन यस्तो भएको होला ? भाइरल ज्वरोको मौसम भएको कारणले पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको हो । कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका धेरै नागरिकहरूको चाहना पीसीआर गर्ने छ । सबैलाई पीसीआर गर्न सक्ने अवस्था पनि छैन । पीसीआर गर्नको लागि पालिकामा ल्याब छैन । ल्याब अभावको कारण धनकुटा पुग्नुपर्ने अवस्था छ । यो रोग नियन्त्रण गर्नको लागि हामी सबै लागी परेका छौं । पालिकाले समेत संस्थागत आइसोलेसन, स्वाब सङ्कलन तथा संक्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधिहरू गरिरहेको छ । हरेक वडाका संक्रमितको अवस्था बुझ्न र जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिएका छौं । कोरोनाको लक्षण देखिएका बिरामीको उपचारका लागि समुदायस्तरबाट सहयोग जुटेको छ भने जनप्रतिनिधिसमेत निरन्तर खटिनुभएको छ । संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेर काम गरिरहेका छौं । चिकित्सक तथा जनप्रतिनिधिहरु खटिरहनु भएको छ । कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूले वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसँग परामर्श लिई उनीहरूको नाम संकलन भएपछि पीसीआरको टोलिबाट पीसीआर गर्ने व्यवस्था मिलाएका छौं । बर्खायाम भएको कारण पनि समस्या भइरहेको छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्तो सहयोग मिलेको छ नि ? प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन । हामीले पटकपटक आर्थिक सहयोगको लागि अपिल गरेका छौं । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुर्नुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । कोरोना महामारीले नगरपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले नगरपालिकाको सम्पूर्ण कामकाजमा ठुलो असर पुर्याएको छ । विकास निर्माणको धेरै योजनाहरू सकिएका थिए तथा भुक्तानीको चरण सञ्चालन भइरहेको थियो । कार्यालयहरु बन्द भएपछि कामदारहरु मारमा परेका छन् । टेण्डर तथा सानातिना तालिमका कामहरू रोकिएका छन् । तथापि आफू सुरक्षित भएर हामीले जनतालाई दिने सेवा दिइरहेका छौं । मानिसहरु जहाँ भिडभाड गर्थे ती ठाउँहरू मात्र बन्द गरेका छौं । नगरवासीको लागि नगरपालिकाले कुनै राहतका कार्यक्रमहरू ल्याएको छ कि छैन त ? हाम्रो पालिकामा धेरैजसो क्षेत्र ग्रामीण छ । यहाँका धेरै नागरिकहरूले कृषि पेशा अँगाल्दै आएका छन् । गत वर्ष हामीले राहतका कार्यक्रमहरू ल्याएका थियौं, तर यो कोरोना महामरिमा कुनै पनि राहतका कार्यक्रमहरू ल्याउन सकेका छैनौं । राहत वितरण गरिहाल्नु पर्ने अवस्था पनि छैन । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा के छ ? यस्तो किसिमको महामारी आउँछ भनेर हामीले कल्पना गरेका थिएनौं । यो महामारी नियन्त्रण गर्नको लागि हामीले कुनैपनि बजेट छुट्याएका थिएनौं । सामान्य विपद् बजेट भनेर छुट्याएका थियौं । जबसम्म जनता सचेत रहँदैनन् तबसम्म स्थानीय तहको नेतृत्वले मात्र केही हुँदैन । हामीले गरेको कुरामा नागरिकले चासो र समर्थन दिए भने काम गर्न पनि सजिलो हुन्छ । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । जनताको आवश्यकता र चहना दिन प्रतिदिन बद्दै जान्छ । ब्यक्तिगत विकासभन्दा सामुहिक विकासमा बढि जोड दिएका छौं ।