चीन र भारतसँग सीमाना जोडिएका पालिकाहरु कोभिड नियन्त्रण र रोकथाम कसरी गर्दैछन् ?
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले अहिले विश्व नै आक्रान्त छ । नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसका विरुद्ध लड्न संसार एकजुट भएको छ । विभिन्न देशले लकडाउन गर्ने तथा अन्य विशेष सावधानी अपनाउँदै आएका छन् । कोभिडको महामारी अझै न्यूनीकरण हुन नसक्दा अन्य नयाँ रोग पत्ता लागेको पनि हामी सुनिरहेका छौं । दोस्रो लहरको कोरोना भाइरसले त यो अवस्था पुर्यायो छ झन् तेस्रो लहर पनि आयो भने त्यसको क्षति अनुमान गरेभन्दा भयावह हुने आकलन स्वास्थ्य विज्ञले गरेका छन् । कोरोना विरुद्धको खोप पत्ता लागिसकेपनि आवश्यकता अनुसार उत्पादन हुन नसक्दा धेरै मानिसहरूको मृत्यु भइसकेको छ । विश्वमा हालसम्म ३८ लाख ८८ हजार ८ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । नेपालमा पनि समुदायस्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । मुलुक निषेधाज्ञामा छ । पछिल्लो समयमा संक्रमितहरू संख्या कम भएको आभाष छ । तर, परीक्षणको दायरालाई पनि घटाइँदै गएको छ । सङ्घीय र प्रदेश सरकारको तुलनामा स्थानीय सरकार कोरोना नियन्त्रणमा सक्रियताका साथ लागिपरेको अवस्था छ । पछिल्लो समयमा कोरोनाको संक्रमण घट्दै गएको कारण धेरै स्थानीय तहमा पनि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी हुँदैछ । बिस्तारै विकास निर्माणको काम सञ्चालन गर्ने योजना बनिरहेको छ । महामारी नियन्त्रण गर्नको लागि सरकारले कतिपय कुराहरूमा ढिला सुस्ती गरेकै कारण महामारी व्यापक फैलिएको आरोप पनि लागिरहेको छ । स्थानीय सरकारका थुप्रै कमजोरी होलान् । तर यो महामारीको समयमा भने सक्रियता बढेकै छ । कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका प्रशंसनीय छ । आम नागरिकको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । पछिल्लो समयमा दुर्गम स्थानीय तहमा कोरोनाको संक्रमण फैलिरहेको छ । कतिपय स्थानीय तहहरूमा त बिरामी राख्न सक्ने अस्पताल समेत छैनन् । कतै एम्बुलेन्स गुड्ने बाटो छैन । अति दुर्गमका स्थानीय तहमा तपाई हामीले व्याख्या गरेजस्तो सहज अवस्था छैन । तर, पनि उनीहरूले कोरोना नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेकै छन् । दुर्गमका ठाउँमा आवश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीका अभावले अकालमा नै धेरैले ज्यान गुमाएका छन् । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरूको संख्या बढेको छ । पीसीआर परीक्षण नगरिएका तर संक्रमणको सम्भावना भएका व्यक्तिको छेउमा जोखिम मोलेरै जनप्रतिनिधिहरू पुगेका छन् । यसरी नै भारत र चीनसँग सिमना जोडिएका पालिकाले कोभिड रोकथाम र नियन्त्रण गर्नको लागि गरेका प्रयास यस्ता छन् भनेर यो सामग्री तयार पारिएको छ । भोटखोला गाउँपालिका यो गाउँपालिका प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा पर्छ भने यस पालीकाको सिमाना चीनसँग जोडिएको छ । यो गाउँपालिकामा अन्य पालिका जस्ता कोरोनाको प्रभाव परेको छैन । महामारी नियन्त्रण गर्नमा आवश्यक तयारी गरेको र पातलो बस्ती रहेको कारण कोरोनाको प्रभाव नपरेको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बताउँछन् । गत वर्ष नै तयारी गरेको क्वारेन्टिन तथा स्वास्थ्य सामाग्रीको र संरचनाको प्रयोग यो वर्ष पनि पालिकाले गरेको पनि अध्यक्ष भोटे जनाए । हालसम्म पालिकाका ३ जना संक्रमित भएका छन् भने हाल उनीहरू पनि संक्रमणमुक्त भएका छन् । चीनको सिमाना किमाथाङ्का हेल्थडेस्क, क्वारेन्टिन व्यवस्थापन गरी सशस्त्र प्रहरी बल र स्वास्थ्यकर्मीहरु रहको पनि भोटेले जानकारी दिए । केही स्वास्थ्य सामाग्री पालिकालाई चीनले सहयोग पनि गरेको छ । चीन सम्पर्क गरी बोडरसम्म उनीहरूले स्वास्थ्य सामाग्री ल्याइदिएको र पालिकाले स्वास्थ्यको सामग्री बुझेको पनि अध्यक्ष भोटेले बताए । उनका अनुसार १७ महिनादेखि किमाथाङ्काबाट चीन जाने क्रम रोकिएको छ । किमाथाङ्कामा विकास निर्माणको काम गर्न पनि समस्या उनले बताए । किमाथाङ्कामा ७० प्रतिशत विकास निर्माणका काम गर्न नसकेको तथा किमाथाङ्का र चीनको सीमा तत्काल खोल्ने कुरा नभएको पनि उनले जानकारी दिए । कौडेना गाउँपालिका प्रदेश २ अन्तर्गत सर्लाही जिल्लामा यो गाउँपालिका पर्छ । यस गाउँपालिकामा पनि कोरोनाको प्रभाव परेको छैन । पालिकामा हालसम्म केही पनि संक्रमित नभएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादवले बताए । नागरिकको घर घरमा गई सबैलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने तयारी रहेको पनि अध्यक्ष यादवको भनाई छ । पालिकाले नागरिकको स्वास्थ्यको परीक्षण गर्ने तयारी गर्दैछ । यस पालिका र अन्य ५ पालिका मिलेर सामुिहक रूपमा ४० बेडको आइसोलेसन तयार गरेका छन् । समुहिक रुपमा बनाएको आइसोलेसनमा पनि हालसम्म कुनै बिरामीलाई राख्नु पर्ने अवस्था नआएको पनि अध्यक्ष यादवले जानकारी दिए । महामारी नियन्त्रण गर्नका भारतको सिमानाकामा विष्णु गाउँपालिका र कौडेना गाउँपालिका मिलेर हेल्थडेक्सको स्थापना गरेको पनि उनले जानकारी दिए । सिमानाकाबाट मानिसहरू आउने क्रम रोकिएको र नाकामा सुरक्षा व्यवस्था पनि सबै पालिकमा मिलेर कठाई गरेको यादवले जनाए । पालिकाले आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि खरिद गरेको छ । भीमदत्त नगरपालिका यो नगरपालिका सुदुरपश्चिमाञ्चल प्रदेश अन्तरगतको कञ्चनपुर जिल्लामा पर्छ । विश्व भर महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले भीमदत्त नगरपालिका पनि ठुलो असर पुर्याएको छ । नगरमा कोरोनाको प्रभाव परेसँगै आइसोलेसन, क्वारेन्टिन र भारतको नाकामा हेल्थडेस्कको स्थापना गरेको नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंह बताउछिन् । दोस्रो लहरको कोरोनाको प्रभाव पालिकामा परेसँगै १९ ओटै वडामा स्वास्थ्य सेवाको सुचारु गरेको पनि उपप्रमुख सिंहले बताइन् । नगरपालिकाले महाकाली अञ्चल अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको वितरण गरेको छ । नगरले नर्सिङ क्याम्पसमा एक सय बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ । आवश्यक परे नगरभित्र रहेका भवनलाई पनि आइसोलेसनको रूपमा प्रयोग गर्ने सिंहले जनाइन् । यस नगरपालिका भारतसँग सिमाना जोडिएको कारण बोर्डर व्यवस्थापन गर्न पनि लागिपरेको छ । नगरले भारतबाट फर्किनेहरूको सिमानामा प्रहरी र स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था बारे बुझ्दै आएका छन् । नगरपालिकाले नै एन्टिजेन किट खरिद गरी कोरोना परीक्षण गरेको पनि सिंहले जनाइन् । नेपाल प्रवेश गर्ने र भारतबाट फर्किनेहरूको संख्या धेरै भएपछि एन्टिजेन परीक्षण गर्न नसक्ने पनि उपप्रमुख सिंहको भनाई छ । सिमानाकामा भारतबाट फर्किनेहरूलाई उनीहरूको स्वास्थ्य चेक गरेको र स्वास्थ्यमा समस्या र परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए महाकाली अञ्चल अस्पतालमा उपचार गर्दै आएको पनि सिंहले जनाइन् । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखियो भने महानगरले सञ्चालन गरेको आइसोलेसनमा अथवा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाएको पनि सिंहले जनाइन् । होल्डिङ सेन्टर र आइसोलेसनमा बसेकालाई नगरले र अन्य विभिन्न संघसंस्थासँग समन्वय गरी खाजा तथा खाना निःशुल्क खुवाउँदै आएको पनि सिंहले बताइन् । सिंहका अनुसार नगरको सिमाना हुँदै नेपाल प्रवेश गर्नको संख्या ४५ हजार नाघिसकेको छ भने दिनमा २ सयभन्दा बढि नेपाल प्रवेश गरेका छन् । यो संख्या नगरको मात्र नभई सामग्री देशभित्र बसोबास गर्नेको नागरिकाको संख्या हो । पछिल्लो समयमा नगरका कुनै पनि अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छैन । विभिन्न संघसंथाबाट पनि नगरपालिकालाई स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिको पहिचान गरी एन्टिजेन परीक्षण र पीसीआर गर्ने व्यवस्था मिलाएको पनि उपप्रमुख सिंहले जानकारी दिइन् । एन्टिजेन र पीसीआर परीक्षण नगरले निःशुल्क गर्दै आएको छ । नगरपालिकाले मास क्वारेन्टिन भन्दा होम क्वारेन्टिनलाई जोड दिएका थियो । होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्य शाखाले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहेको पनि सिंहले जनाइन् । नगरपालिकाले कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएकाको प्रत्येक वडाका स्वास्थ्यचौकीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको छ । विकास निर्माणको बजेटबाट नै कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्नका लागि नगरले खर्च गरेको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको पनि सिंहले जनाइन् । पोखरिया नगरपालिका प्रदेश २ अन्तरतको पर्सा जिल्लामा पर्ने पोखरिया नगरपालिकामा तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले ठूलो असर पुर्याएको छ । नगरले कोरोना रोकथाम र नियन्त्रणको लागि जनचेतनाका कार्यक्रमहरू गर्दै आएको उप–प्रमुख सलमा खातुन बताउँछिन् । एन्टिजेन र पीसीआर परीक्षण नगरले निःशुल्क गर्दै आएको छ । आइसोलेसन कक्षको स्थापना पनि गरेको छ । नगरपालिकाभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा अक्सिजनको व्यवस्थापन गरेको पनि उपप्रमुख खातुनले जानकारी दिइन् । वडा तथा समुदाय र नागरिकहरूलाई पनि मास्क, सोनिटाइजर आदि वितरण गरिएको छ । नगरमा उपचार हुन नसकेर केही कोभिडका बिरामीलाई अन्य अस्पतालमा उपचारको लागि रेफर गरेको पनि खातुनले बताइन् । नगरपालिकाले बिरामीलाई निःशुल्क एम्बुलेन्सको प्रयोग गर्न दिएको पनि छ । संक्रमित भएका परिवारलाई विभिन्न संघसंस्थाले राहत पनि उपलब्ध गराएको छ । अक्सिजन सहितको ८ ओटा आइसोलेसन बेड नगरमा छ भने क्वारेन्टिनको पनि नगरपाकाले व्यवस्थापन गरेको छ । खातुनका अनुसार नगरपालिकाले ५० जनासम्म कोरोनाका बिरामीहरूलाई उपचार गर्न सक्छ । एन्टिजेन र पिसीआर गर्ने किट नगरपालिका आफैले खरिद गरेको छ । स्वास्थ्य सामाग्रीको खरिद गरी वडा कार्यालय, अस्पतालमा वितरण गरिएको पनि खातुनले जानकारी दिइन् । प्रदेश र केन्द्रले पनि स्वास्थ्य सामाग्रीहरू नगरपालिकालाई दिएको छ । नगरपालिकामा निषेधाज्ञालाई कायम नै राखेको छ । पछिल्लो समय संक्रमितहरु घट्दै गएको र अक्सिजन, बेडको समस्या नभएको खातुनले बताइन् । नगरपालिकामा हाल सवास्थ्य सामाग्रीको अभाव भएको छैन । तेस्रो लहरको संक्रमण आउन सक्ने तर्फ सचेत हुँदै यसले बालबालिकालाई प्रभाव पार्न सक्ने भएकाले यस प्रति मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको जुटाउने योजना रहेको पनि खातुन बताइन् । नगरपालिकामा भारतबाट फर्किने संख्या कमै रहेको छ । नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छ । यो रकमबाट नै स्वास्थ्य सामाग्रीको खरिद गरेको छ । पालिकामा भएको विकास बजेटबाट पनि महामारी नियन्त्रण गर्नको लागि खर्च गरेको उपप्रमुख खातुनले जानकारी दिइन् ।
कैलालीकाे जानकी गाउँपालिकाद्वारा किसानलाई ७५ प्रतिशत अनुदानमा बोका वितरण
कैलाली । कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ । पालिकालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालनमा थप सहयोग होस् भनी उन्नत जातका बोका वितरण गरिएको हो । पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५ प्रतिशत अनुदानमा लोकल जातको बोका वितरण गरेको हो । पालिकाले बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेपछि बाख्रापालक किसान खुशी भएका छन् । जानकी–४ का किसान सुरेशकुमार कठरियाले व्यावसायिक बाख्रापालन गरेको दुई वर्ष भयो । बाख्रापालन व्यवसायलाई थप बढाउन उन्नत जातको बोका पाएपछि सहज हुने उनको भनाइ छ । ‘गाउँमै केही गरौँ भनी बाख्रापालन व्यवसाय शुरु गरेको हुँ, उन्नत बोका भएपछि अब उन्नत जातका बाख्रा जन्मनेछन्’, कठरियाले भने, ‘यसले व्यवसायलाई थप बढाउन सहयोग पुग्छ । पालिकाले किसानलाई सघाउने कार्यक्रमले हामी खुशी छौँ ।’ पालिकाले कठरियाजस्तै नौ जना किसानलाई बोका वितरण गरेको हो । जानकी–१ का ओमप्रकाश चौधरी पनि गाउँपालिकाबाट उन्नत जातको बोका पाएपछि खुशी भएका छन् । उनी अनुदानमा पाएको बोकाले आफूले गरिरहेको बाख्रापालन कार्यमा टेवा पुग्ने बताउँछन् । ‘हामीले उन्नत जातको बोका किन्न खोजेको बेला पाउन समेत कठिन हुन्छ, उन्नत जातको बोका भएमा स्थानीय जातको लोकल बाख्राले पनि उन्नत पाठापाठी जन्माउन सक्छन्’, चौधरीले भने, ‘यसले बाख्रा उन्नत खालको हुनुका साथै व्यवसाय फस्टाउन सहयोग पुग्छ । बाख्रा धेरै भएमा मासुको अभाव पूर्ति गर्न सहयोग पुग्छ ।’ पालिका अध्यक्ष प्रदीपकुमार चौधरीले बोका वितरण खाली वितरणका लागि सीमित नभएर उत्पादनमा वृद्धि हुने गरी प्रतिफल दिन किसानलाई आग्रह गरे । ‘तपाईंहरुलाई स्वरोजगार बनाउन पनि यस कार्यक्रमले भूमिका खेल्ने अपेक्षा छ । पालिकास्तरमा बाख्रा उत्पादनको अवस्थालाई वृद्धि गर्न बोका वितरण गरेका हौँ’, अध्यक्ष चौधरीले भने , ‘किसानलाई लाभ हुने खालका थप कार्यक्रम आगामी वर्ष ल्याउने तयारीमा छौँ । यहाँहरु राम्रो गर्नुहोला । सरकार सधैँ सहयोगी भूमिकामा हुनेछ ।’ बोयरका उन्नत जातका पाठापाठी उत्पादन गर्ने र अन्य जातभन्दा बोयर जातको बोका, खसीहरु बढी तौलका हुने, यस क्षेत्रको हावापानीमा उपयुक्त मानिएकाले बोयर जातका बोका वितरण गरिएको पशुसेवा शाखाका प्रमुख नरबहादुर कार्कीले बताए । ‘अन्य बाख्राभन्दा यसमा रोग पनि कम लाग्ने, सामान्य स्याहार सुसारमा पनि हुर्कन सक्ने भएकाले किसानले पनि यही जातको बोका माग गरे’, उनले भने, ‘पशु सेवा शाखाले किसानको मागलाई मध्यनजर गर्दै बोयरका बोकाहरु वितरण गरेको हो ।’ रासस
कोभिडका २५ जनासम्म बिरामीलाई अक्सिजन दिएर राख्न सक्षम छौं – गाउँपालिका उपाध्यक्ष थरुनीसँगको अन्तर्वार्ता
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल सारा विश्वनै ठुलो सङ्कटमा छ । विभिन्न देशहरू यो सङ्कटलाई परास्त गर्न लागिपरेको भएतापनि संक्रमणलाई नियन्त्रण गर्न सफल चाहिँ भएको छैन । नेपाल पनि लामो समयदेखि कोरोना भाइरसको लडाईंसँग जुधिरहेको छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण लुम्बिनी प्रदेश अन्तर्गतको बर्दिया जिल्लामा पर्ने गेरुवा गाउँपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ । हिजोआज कोरोनाको जोखिम न्यूनीकरण गर्नको लागि गाउँपालिकाले कस्तो काम गर्दै आएको छ, गाउँपालिकामा संक्रमण थप फैलिन नदिनको लागि कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाकी उपाध्यक्ष हिम कुमारी थरुनीसँग विकासन्युजका लागी राजिब न्यौपानेले गरेको कुराकानी ः विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ? विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यसले मानव जातिको जीवनमा प्रतिकुल अवस्था सिर्जना गरेको छ । यो समयमा हामी एकदमै असहज अवस्थामा काम गरिरहेका छौ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै गाउँपालिका कोरोना संक्रमण नियन्त्रण अभियानमा छ । यस महामारीलाई नियन्त्रण गर्नको गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेको छ । अस्पताल व्यवस्थापन गर्ने र अस्पतालमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने काम हामी गरिरहेका छौं । पालिकामा १० बेडको आइसोलेसन कक्ष पनि रहेको छ । संक्रमण बढ्यो भने २५ जना कोभिडका बिरामीलाई अक्सिजन दिएर राख्न सक्छौं । हाम्रो गाउँपालिकामा ६ ओटा वडा छन् भने प्रत्येक वडामा स्वास्थ्य इकाई रहेका छन् । सबै स्वास्थ्य इकाईमा महामारी नियन्त्रण गर्नको लागि आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । गाउँपालिकाले आवश्यक स्वास्थ्य सामाग्रीको पनि खरिद गरेको छ भने विभिन्न संघसंस्थाबाट पनि स्वास्थ्य सामाग्री प्राप्त भएको छ र हाल गाउँपालिकामा स्वास्थ्य सामाग्रीको अभाव भने छैन । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँंदै आएको छ । पालिकामा हालसम्म २ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने जम्मा ८ सय ४८ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण भएको छ । यससँगै हालसम्म मृतकको संख्या ४ पुगेको छ । पालिकामा संक्रमितको संख्या ३ सय ८४ जना पुगेको छ । पालिकामा कोभिडका बिरामीलाई उपचार गर्न नसकेर अन्य अस्पताल रेफर गरेको संख्या ९ छ । १ सय ८ जना कोरोनाका संक्रमितहरु हाल होम आइसोलेसनमा बसेका छन् । कोभिड बिरामीहरूका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डरहरू भरेर तयारी अवस्थामा राखेका छौ । गाउँपालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि वडा नम्बर २ मा १० शैयाको बेडको अस्थाई कोभिड अस्पताल पनि रहेको छ । त्यही कोभिड अस्पतालमा कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि नेपालगन्ज पठाउँछौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन वा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । वडा कार्यालयसँग समन्वय गरी कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर र एन्टिजेन परीक्षण गर्दै आएका छौं । टोलटोलमै पुगेर परीक्षण गर्ने गरेका छौं । पीसीआर र एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनुभएको छ ? पालिकामा हाल होम आइसोलेसनमा बस्नेको संख्या १ सय ८ रहेको छ । दोस्रो लहरको कोरोना भाइरसको प्रभाव र संक्रमितको संख्या गाउँपालिकामा बढ्दै जाँदा हामीले मास क्वारेनटिनलाई भन्दा होम क्वारेनटिनलाई नै जोड दिएका छौं । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको उपचार गर्न डाक्टरसहितको स्वास्थ्य टोली घरघरमा पुगेको छ । आइसोलेसनमा बसेको संक्रमितलाई परामर्श तथा आवश्यक औषधी पनि वितरण भएको छ । संक्रमितको स्वास्थ्य जाँच, औषधि तथा पीसीआर परीक्षणको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ । आइसोलेसनमा राखिने र गम्भीर बिरामीलाई अस्पतालमा पठाउने गरी उपचार व्यवस्था मिलाइएको छ । होम आइसोलेसनमा बसेका कोभिड संक्रमित नागरिकहरूलाई स्वास्थ्यकर्मीसँग जुनसुकै बेला समन्वय गर्न सकिने व्यवस्था मिलाएका छौ । गाउँपालिका हिजोआज कोरोनाको संक्रमितहरुको संख्या कत्तिको बढिरहेको छ, यसलाई नियन्त्रण गर्नको लागि तपाईंहरुको प्रयास कत्तिको सफल भएको छ ? पालिकामा संक्रमितको संख्या बढ्ने क्रम जारी नै छ । एन्टिजेन र पीसीआर परीक्षण गर्दा संक्रमितहरु फेला परिरहेका छन् । पालिकामा हामी कोरोना महामारी नियन्त्रण गर्नको लागि सक्दो प्रयास गरेका छौं । गत वर्ष अन्य ठाउँबाट पालिकामा प्रवेश गर्नेहरूलाई विद्यालयमा क्वारेन्टिन बनाएर राखेका थियौं । तर, दोस्रो लहरको कोरोना भाइरसको प्रभाव परेपछि रोजगारीमा गएकाहरु धेरै पालिकाबासीहरु गाउँ प्रबेश गरे र गाउँमा आएर धेरै मानिसहरुसँग घुलमिल भए त्यसैले पनि अलिक बढि संक्रमण फैलियो । गत वर्षजस्तो बाहिर जिल्लाबाट पालिकामा प्रवेश गर्ने मानिसलाई क्वारेनटिनमा चाहिँ राख्न सकेनौं । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ भने विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । टेन्डरका काम अनि स–साना तालिमका कामहरू पनि रोकिएका छन् । यसले पूर्वाधारहरूको विकासमा बाधा सिर्जना गरेको छ । पालिकाको कामकाजमा मात्र नभई कोरोना भाइरस कोभिड–१९ ले स्वास्थ्य, शिक्षा, यातायात, आदि जस्ता विविध क्षेत्रमा प्रतिकुलता असरको सिर्जना गरेको छ । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । महामारी नियन्त्रण गर्नको लागि पालिकामा आवश्यक बजेट छैन । अन्तरीक स्रोत पनि पालिकामा कमै मात्रामा छ । जनताका चाहना, आवश्यकता धेरै छन् तिनीहरूलाई पनि पूरा गर्ने नसकिरहेको अवस्था छ । विकास बजेटबाट पनि हामीले कोरोना महामारी नियन्त्रण गर्नमा खर्च गरेका छौं । गाउँपालिकाले गम्भीर खालका बिरामीलाई थप उपचारका लागि के व्यवस्था गरेको छ ? कोभिडका केही गम्भीर बिरामीहरू नेपालगन्ज रेफर गर्ने व्यवस्था गरेका छौं । बिरामीको अवस्था सामान्य छ भने पालिकाकै अस्पतालमा राखेर उपचार गर्छै । कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ? पालिका स्तरबाट राहतका कार्यक्रमहरू ल्याइएको छैन । हाल राहतमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो रहेको छ । त्यसैले राहतका कार्यक्रमहरू ल्याउन सकेका छैनौं । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग हाम्रो समन्वय भइरहेको छ । यो महामारी न्यूनीकरण गर्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई कसरी फराकिलो बनाउने यी यावत् कुराहरूमा हामीले छलफल गरेका छौँ । अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रूपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानको प्रशंसा गरेर सकिँदैन । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ ? प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागी बजेट चाहिँ सहयोग मिलेको छैन तर, स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । यस महामारीको समयमा पनि स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ । संक्रमण थप नफैलिओस् भन्नेर कस्तो रणनीति अवलम्बन गर्नु भएको छ ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमै गएर सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । हामीले आवश्यक स्वास्थ्य सामाग्री पनि खरिद गरेर राखेका छौं । पहिलाको तुलनामा केही हदसम्म नागरिकहरू पनि सचेत भएका छन् । पालिकामा बजेटको पनि अभाव तर बजेटको अभाव हुन नदिनको लागि गाउँ सभाको बैठक बसेर हामी छलफल गर्ने नै छौं । गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ? पालिकामा कोरोना फैलिन जोखिम क्षेत्रहरूको पहिचान भएको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) बाट पालिकाका सबै समुदाय नै प्रभावित भएको छ । पछिल्लो समयमा कोरोना महामारी पालिकामा बढ्दै गएको छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ छ । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ? गेरुवा गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगर्दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु ।