केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् आयोजनाको गृह कक्ष तत्कालिन माओवादी विद्रोहीले भत्काइदिएपछि लामो सयम भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो बाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुप काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइन विस्तारको पहल थलिएको हो । त्यो अवधिमा छिटफुटरुपमा पेल्टीसेट, ससाना विद्युत् आयोजना सञ्चालनमा थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सोलार सेट, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था थियो । भोजपुरको विद्युत्को इतिहास बोकेको सो विद्युत् गृह भने हाल बन्द छ । हिले-भोजपुर ३३ केभी राष्ट्रिय प्रसारणलाइन विसं २०६७ कात्तिक १९ देखि भोजपुरमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५० दशमलव ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत् प्रावधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट देखिएका छन् । केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पुर्‍याउने कोसिस भइरहेको छ । पूणर्रुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबै भन्दाबढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । बाँकीले स्थानीयस्तरमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेको गाउँपालिकाले जनाएको छ । ती स्थानमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको गाउँपालिकाको भनाइ छ । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूणर्रुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ । यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ । भोजपुर नगरपालिकाका सबै वडामा विद्युत् पुगेको भए पनि केही केही वडाका घरपरिवारमा विद्युत् पुग्न केही समय लाग्ने भोजपुर नगरपालिका उपप्रमुख ममिता राईले जानकारी दिइन् । गाउँपालिकामा विद्युत् विस्तारका लागि रु चार करोड ४० लाखको बोलपत्र आह्वान गरेर कामको थालनी गरेको विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । त्यो रकममध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामका लागि रु ९९ लाख ५३ हजार ६३३ खर्च हुने कार्यालयको भनाइ छ । हतुवागढी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तार भए पनि लक्ष्यअनुसारको काम हुन नसकेको गाउँपालिकाको भनाइ छ । हालसम्ममा केन्द्रीय लाइन गाउँपालिका केन्द्र र आसपासका क्षेत्रमा वितरण भएको छ । केन्द्रीय लाइनले दुई वटा वडाका करिब ५०/५० प्रतिशत जनताले उपभोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिए ।

महालक्ष्मी नगरपालिकामा नव नियुक्त नगर प्रहरीकाे ३० दिने तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी नगरपालिकामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिका ललितपुरका नगरप्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाले हालै १ जना नगरप्रहरी नायव निरीक्षक, २ जना नगरप्रहरी सहायक निरीक्षक र ११ जना नगर प्रहरी जवान गरी कूल १४ जना करार सेवामा नियुक्त गरेको छ । कार्यक्रमको सञ्चालन प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले गरेका थिए । कार्यक्रममा नगर प्रहरीहरुले कवाज प्रदर्शनीका साथै सुरक्षा र अग्नी नियन्त्रण सम्बन्धी ड्रिल प्रदर्शन गरेका थिए । यस्तै साे कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठले नगर प्रहरी नायब निरीक्षक र नगर प्रहरी सहायक निरीक्षकहरूलाई दर्जानी चिन्ह प्रदान गरेका थिए । नगर प्रमुख श्रेष्ठले ‘स्वच्छ, सफा, समृद्ध, सुन्दर – महालक्ष्मी नगर’ भन्ने लक्ष्य प्राप्त गर्न नगर प्रहरीहरूको समेत महत्वपूर्ण भुमिका रहनेहुँदा सोही लक्ष्य प्राप्तिका लागि नगरपालिकाको नीतिलाई अक्षरशः कार्यान्वयन गर्ने तथा सहयोग गर्नु नगर प्रहरीहरूको मुख्य कार्य रहने बताए ।  

राष्ट्रिय वाणिज्य बैंकले चैनपुर नगरपालिकाका युवालाई सहुलियपूर्ण कर्जा दिने

काठमाडाैं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका(संखुवासभा जिल्ला) बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ । त्यसपछि बैंकले तालिम प्राप्त उद्यमीहरुलाई नियमअनुसार अनुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ । कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु राज्य लक्ष्मी खड्गी, सरोज वस्नेत, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।