तनहुँमा विपन्नलाई पढाउन समता विद्यालय सञ्चालनमा ल्याइने
तनहुँ । व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा आवासीय विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाको ३५ औँ नगरसभाबाट आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका नाजुक परिवारका बालबालिकामा शिक्षाको पहुँच पुर्याउने उद्देश्यले समता विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । नगरपालिकालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नका लागि नगर शिक्षा योजना निर्माण गरी नगरपालिकामा रहेको विद्यालय तथा क्याम्पसस्तरका शिक्षालाई थप गुणस्तरीय र विश्वसनीय बनाइने उनले बताए । व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधार योजना कार्यान्वयन गरिनेछ । उनले भने, ‘नगरपालिकाभित्र रहेका विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यपुस्तक र माध्यमिक तहका कक्षा ११ र १२ मा वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यपुस्तक अध्यापन गराउने व्यवस्था मिलाइने छ ।’ हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने नाराका साथ नगरपालिकाभित्रका विभिन्न विधामा नगर क्षेत्रभित्रका विद्यार्थीबीच प्रतिस्पर्धा गराई नगरस्तरीय उत्कृष्ट प्रतिभा छनोट गरी पुरस्कृत गरिनेछ । नगरपालिकाभित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का वर्गका छात्रछात्रालाई अध्ययन गर्नका लागि अनुसन्धान अनुदान एवं छात्रवृत्ति सहयोग पु¥याइने नगरपालिकाले जनाएको छ । रासस
हामीले घोषणापत्रमा लेखेका कुरा पूरा गरिसकेका छौं – नगरप्रमुख पोखरेल
कोरोना महामारीको दोस्रो लहर व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिइरहँदा झापा जिल्लाको कनकाई नगरपालिकाले सो संक्रमण रोकथामका लागि देखाएको सक्रियता प्रशंसनीय छ । यो नगरपालिका पनि कोभिड–१९ बाट पिडित छ भने यहाँ अझैपनि संक्रमण फैलिइरहेको अवस्था छ । यसैक्रममा कोरोना भाइरस संक्रमणपछि नगरपालिकाले कसरी उपचार सेवा सञ्चालन ग¥यो, त्यसैगरी स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले नगरपालिकामा विकास निर्माणको काम र सेवा कसरी प्रवाह गरेका छन् भन्ने लगायतका विषयमा केन्द्रित भएर सो नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ ऊक्त कुराकानीको सम्पादित अंश : कोरोना रोकथाम तथा न्यूनीकरणको लागि नगरपालिकाले के गरिरहेको छ ? विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो नगरपालिका पनि अछुतो रहन सकेन । यस महामारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । महामारी नियन्त्रण गर्नको लागि हामीसँग जे जति स्रोतसाधन छ त्यसको भरपुर प्रयोग गरेका छौं । कोरोना संक्रमण दर हामीले कल्पना गरे भन्दा द्रुत रूपमा फैलिएको छ । नगरपालिकाले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेको छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । बजारमा भिडभाड हुन नदिनको लागि संघ, प्रदेश र स्थानीय तह मिलेर निषेधाज्ञा जारीगरेका छौं । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको र निषेधाज्ञालाई खुकुलो बनाएका छौं । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण फैलिनसक्ने जोखिम पनि उच्च छ । नगर भित्रका बजारहरु सञ्चालन गर्दा पनि स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्न लागि सबैलाई आग्रह गरेका छौं । नगरपालिका भित्र एउटा पीसीआर ल्याब छ, त्यसमा चाहिँ सबैले शुल्क तिरेर परीक्षण गर्न अवस्था छ । हालसम्म एन्टिजेन तथा पीसीआरमार्फत परीक्षण गर्दा ६ सय जना भन्दा बढिमा संक्रमित पुष्टि भएको छ । पालिकामा हालसम्म ४ सय जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाबाट १८ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । कोभिड बिरामीहरूका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डरहरू भरेर तयारी अवस्थामा राखेका छौ । स्वास्थ्य सुविधा व्यवस्थापनको निमित्त स्वास्थ्यकर्मी टिम गठन भएको छ । यो टिमले चौविसौ घण्टा परिचालित छ । होम आइसोलेसनमा बसेकालाई यो टिमले आवश्यक परामर्श दिनु हुन्छ । कोभिड अस्पतालको रूपमा २० बेडको आइसोलेसन सेन्टरको स्थापन गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । आइसियु बेड, भेन्टिलेटरमा राखि पनि जटिल बिरामीले उपचार गराइरहेका छौं । हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम गरे पनि महामारीसँग जुध्न निकै कठिन भइरहेको छ। पालिकामा हाल पनि संक्रमणको संख्या घटेको छैन । हाल पनि एक सय जनामा परीक्षण गर्दा १० जनामा कोरोनाको पुष्टि हुन्छ । कोरोना नियन्त्रणमा नगरपालिकालाई के–कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । विश्वभरका उदाहरण बाट के देखिन्छ भने जसले भ्याक्सिन लगायो त्यो मानिस तुलनात्मक रूपमा सुरक्षित छ । त्यसो हुनाले जति सक्दो भ्याक्सिन खरिद गरेर ल्याउनु नेपाल सरकारको आजको आवश्यकता हो । भ्याक्सिन ल्याउनको लागि नेपाल सरकारले नसक्ने अवस्था छ भने जनताहरुले आफैं भ्याक्सिन खरिद गरी लगाउन सक्छन् । हाम्रो नगरपालिकाका ३० प्रतिशत मानिसहरुले भ्याक्सिन किनेर लगाउन सक्ने अवस्थामा छन् । यदि भ्यासिन ल्याउने हो भने नेपाल सरकारले आर्थिक बोझ हुन्छ कि भन्ने हिसाबले गाह्रो नमाने हुन्छ । धेरै संघसंस्था र मानिसहरुले हामी एउटा खोप लागउछौं र अरुलाई २ ओटा सम्म खोप सहयोग गर्छौं पनि भनेका छन् । वास्तवमा, अहिले सबैतिर भ्याक्सिन नै ठुलो आवश्यकताको रूपमा देखिएको छ । कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनुभएको छ ? पालिकामा हाल निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञाको समयमा पनि हामीले सानासाना भौतिक निर्माणको कामहरु रोकेनौं । भौतिक वा सामाजिक दुरी कायम गरेर पनि विकास निर्माणको कामहरू सञ्चालन ग¥यौं । विकास निर्माण र आर्थिक गतिविधि निरन्तर सञ्चालन भए । दिनभरि मजदुरी गरेर साँझ चुलो धुवाउनेहरू निषेधाज्ञामा बिचल्ली परेका छन् भने उनीहरूलाई वडाको सहकार्यमा राहत वितरण गरेका छौं । गत वर्ष हामीले राहतका कार्यक्रमहरू सञ्चालन गरेका थियौं भने राहत वितरण गर्नले विकृति पनि भयो भने राहत भन्नाले सरकारको दिएको सुविधा भन्ने बुझाई भयो । यो वर्ष हामीले जहाँ अफ्टयारो पर्छ त्यहाँ मात्र राहतका कार्यक्रमहरू पुर्यायौं । हाल राहतमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो छ । तपाईं नगर प्रमुखको रूपमा निर्वाचित भएको आएको ४ वर्ष पूरा भयो, जनताले अत्यधिक मत दिए, तपाईंंले पालिकालाई के दिनुभयो ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम सकिसकेका छौं । निर्वाचित भएर आइसके पछि यहाँको पूर्वाधार, शिक्षा, पर्यटन, स्वास्थ्य, युवा दक्षता अभिवृद्धिलगायत रोजगार सिर्जनाका काममा केन्द्रित भएका छौं । पालिकामा दीर्घकालीन योजना बनायौं यसै योजनाअन्तर्गत हरेक वडामा नयाँ बाटो खन्ने, सडक स्तरोन्नति गर्ने काम भए । हरेका क्षेत्रहरूमा सुधार र परिवर्तन आएको छ । हामीले नगरपालिका भित्रका अधिकांश नागरिकहरूलाई पालिकाको तर्फबाट सेवा प्रवाहमा न्यूनतम आधारभूत कुराहरू परिपुर्ति गर्नको लागि हाम्रो प्रयत्न जारी छ । आजसम्म तपाईंले संघर्ष नै गर्नुपरेको र जुध्नुपरेका काम जुन अहिले पनि पूरा भएन, त्यो के होला ? यो अवधिभर समस्या र चुनौतीहरू धेरै आए । खानेपानीको काममा धेरै बजेट लाग्ने भएको हुनाले यस तर्फ राम्रो काम गर्न सकेको छैन । ठुलाठुला विकास निर्माणको कामहरू छन्, सडक निर्माणको काममा हामीले जति गर्नुपर्ने थियो त्यति गर्न सकेका छौं । अर्को कुरा पर्यटन क्षेत्रमा पनि राम्रो काम गर्न सकेका छैनौं । नितिग कुराले पनि हामीले केही कुराहरू गर्न सकेका छैनौं । हामीले पालिकाको पुजिले भ्याउने जति काम चाहिँ गरेका छौं । नगरपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने पहिलो पालिका नै हाम्रो होला । सुरुमा हामीले ५२ लाख रुपैयाँ बजेट विनियोजन गरी ५२ जना कृषकहरुलाई कृषिको तालिम दिएका छौं । हामीले एउटा बैंकसँग साझेदारी गरेर ४ सय युवाहरूलाई रोजगारी दिनका लागि सम्झौता गरेका छौं । युवाहरूलाई कृषि उत्पादनसँग जोड्नु पर्छ भनेर हामीले भनिरहेका छांै । कृषि पेसामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । अन्त्यमा, आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? सबैभन्दा पहिला त पालिकाका वासिन्दाहरुलाई धन्यवाद भन्न चाहन्छु । यहाँहरूकै साथ तथा सहयोगले नगरपालिकालाई एउटा बेग्लै पहिचान दिएर देशभरी चिनाउन सफल भएका छौं । विकास निर्माणको काम जनप्रतिनिधि एक्लैले मात्र गरेर भएकाे हाेइन बरू यहाँका राजनैतिक दल, नागरिक आदि सबैको सहयोगले यो सफलता पाउन सकेका हौं । कोभिडको समय पनि छ, भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ । त्यसकारण कर्तव्यबोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । नआत्तिनुहोस्, धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहनुहाेस् भन्न चाहन्छु ।
दैनिक ज्यालामजदुरी गर्ने वर्गलाई राहत प्रदान गरेका छौं – गाउँपालिका अध्यक्षसँगको अन्तर्वार्ता
अहिले सारा विश्व कोभिड–१९ महामारीको चपेटामा छ । नेपालमा पनि कोरोना भाइरसको महामारी फैलिएको धेरै समय भइसकेको छ । यस भाइरसबाट गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको तमानखोला गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । यस गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ । यस्तै महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो कार्य गर्दै आएको छ, स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिले गाउँपालिकामा के–कस्ता विकास निर्माणका काम गरेका छन् भन्ने लगायतका सम्बन्धमा केन्द्रित भएर सो गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । अहिले कोरोनाका कारण विश्व नै आक्रान्त छ, कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाले के गरिरहेको छ ? अन्य ठाउँमा जस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । यस महामारीलाई नियन्त्रण गर्नको लागि हामीले पालिकाको तर्फबाट सम्पूर्ण प्रयासहरू जारी राखेका छौं । गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यलाई निरन्तरता दिँदै नागरिक सचेतना गराउँदै, अहिले पनि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छौं । कोरोनाको लक्षण देखिएका बिरामीहरूको एन्टिजेन र पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । परीक्षण गर्दा कोरोना पुष्टि भएका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामीलाई होम आइसोलेसनमै सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरू तथा जनप्रतिनिधिहरू उनीहरूको स्वास्थ्य अवस्था बारे बुझ्दै आउनुभएको छ । हालसम्म पालिकामा १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्स पनि व्यवस्था गरेका छौं । पालिकामा १० बेडको आइसोलेसन कक्षको व्यवस्थापन गरी हाल यस आइसोलेसनमा ४ जना कोभिडका बिरामीहरू उपचाररत छन् । कोभिड परीक्षण गर्दा चाहिँ संक्रमितहरु देखापर्ने क्रम जारी नै छ । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्न सबै लागिपरेका छौं । गाउँपालिकाले स्वास्थ्य सतर्कतालाई अहिले पनि उच्च प्राथमिकता दिएर कार्यान्वयन गराएको छ । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । बर्खाको समय छ जटिल अवस्थाका बिरामीहरू भए भने उपचार गर्न पनि समस्या छ । पालिकामा बर्षायामको सुरुवातसँगै धेरै ठाउँमा बाढि पहिरो, भूक्षयको बढि प्रकोप हुने गर्छ । अन्य अस्पतालमा बिरामीको उपचार गर्नको लागि पठाउन पनि बाटो अवरुद्ध, खोलमा बाढिका कारण समस्या छ । कोभिडका बिरामीहरूलाई पालिकामा उपचार हुन सकेन भने धौलागिरी अञ्चल अस्पताल, पोखरा, काठमाडौंसम्म पुर्याउने व्यवस्था मिलाएका छौं । गाउँपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरू पनि ल्याएको छ कि ? गाउँपालिकाले दैनिक ज्यालामजदुरी गर्ने वर्गलाई राहत प्रदान गरेको छ । गरिब र आर्थिक स्थिति कमजोर भएका ६० घरपरिवारलाई विभिन्न संघसंस्थाको सहयोगमा राहत वितरण गरेका छौं भने केही व्यक्तिगत डोनेसनबाट पनि विपन्न परिवारलाई खाद्यन उपलब्ध गराएका छौं । विपन्न वर्गको लागि चामल, नुन, तेल आदि वितरण गरेका छौं भने अन्यलाई गरेका छैनौं । तपाईं गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा पालिका भित्र के कति काम गर्नुभयो र कस्ता परिवर्तन आए पालिकामा ? स्थानीय तहमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरू धेरै भएका छन् । हामीले अन्तिम वर्षको कार्यकालको दौरानमा पनि २०७८/७९ को पनि बजेट ल्याएका छौं । स्थानीय सरकार अहिले प्रत्यक्ष जनतासँग जोडिएका काम गर्दै आएको छ । नागरिकको आवश्यकता तथा समस्याको समाधान गर्ने हाम्रो कर्तव्य तथा दायित्व हो । पालिकाले देखिने खालको परिवर्तन भन्दा पनि न्यूनतम जनताको आधारभूत कुराहरूलाई प्राथमिकतामा राखेर काम गरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायतको क्षेत्रहरूमा परिर्वतन आएको छ । हामीले गाउँपालिका भित्रका अधिकांश नागरिकहरूलाई पालिकाको तर्फबाट सेवा प्रवाहमा न्यूनतम आधारभूत कुराहरू परिपुर्ति गर्नको लागि हाम्रो प्रयत्न जारी छ । विद्यालयको हकमा करिव ७० प्रतिशत भौतिक संरचनामा निर्माण गरी गाउँपालिकाले विद्यालय कार्यलाई उच्च प्राथमिकतामा राखी आवश्यक काम गरेको छ । शिक्षकको दरबन्दी मिलान, शैक्षिक सामग्रीको व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्न वातावरण तयार गरेका छौं । हाम्रो पालिकामा ६ ओटा वडा छन् जसमध्ये हामी निर्वाचित भएर आउनुअगाडि २ ओटा वडामा स्वास्थ्यसंस्था थिएन भने हाल हामीले ती वडामा पनि स्वास्थ्य संस्थाको स्थापना गरिसकेका छौं । यस्तै कोभिड अस्पतालको रूपमा पनि स्वास्थ्य सेवा सञ्चालन भएको छ । स्थानीयको मागअनुसार भौतिक विकासको कामलाई उच्च प्राथमिकता दिँदै खानेपानीको हकमा ‘एक घर एक धारा’ सञ्चालन गरेका छौं भने आजको दिनमा ७० प्रतिशत घरधुरीमा ‘एक घर एक धारा’ खानेपानी पुर्याउन पनि सफल भएका छौं । कच्ची सडक भएपनि सबै वडामा सडक सञ्जाल पुर्याएका छौं । गाउँपालिकाको कृषि शाखाले आवश्यक सहजीकरण, समन्वय गर्ने, त्यसका लागि गाउँपालिकाले प्रारम्भिक काम अगाडि बढाएको छ । कृषि तथा पशुपालनमा पनि धेरै काम गरेका छौं । गाउँपालिका भित्र अब गर्नुपर्ने कामहरू चाहिँ के–के छन् नि ? हाम्रो कार्यकालमा गाउँपालिकाको आधारभूत कुरा तथा पूर्वाधारको तयारी गर्नको लागि हाम्रो समय तथा बजेट खर्चिएको अवस्था छ । पालिकामा उत्पादकत्व वृद्ध गर्नको लागि यहाँका नागरिकहरूलाई उत्पादन तर्फ लगाउन चाहिँ जरुरी छ । औद्योगिक तथा व्यवसायी बनाउने हिसाबले कृषि पशुपालनलाई पनि व्यावसायिक बनाउन आवश्यक छ । पूर्वाधारको काम गर्दागर्दै कृषि तथा पशुपालनमा हामीले भने जस्तो लगानी गर्न सकिरहेको छैन । आगामी दिनमा उत्पादनसँग जोडने दियौं र यस तर्फ धेरै लगानी गयौं भने राम्रो काम हुने छ । विकास निर्माणको कामहरु पनि धेरै गर्नुपर्ने छ । स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के– कस्ता चुनौती र समस्या आए त ? स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा सङ्घीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरूले स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । गाउँपालिकाले दरबन्दी सिर्जना कर्मचारीहरु पनि राखेको छ । कार्मचारीहरुलाई सही तरीकाले कार्यान्वयनमा गराउने बेलामा हामी कोभिडको सामना गरी रहेका छौं । स्थानीय तहलाई सक्षम बनाउनको लागि अब कोभिडसँग जुद्धै अगाडि बढ्नु आवश्यक छ । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? तमानखोला जनतालाई म के भन्न चाहन्छु भने अहिलेका चुनौतीको रूपमा खाँडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्डको पुरा गरौं भन्छु । भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ त्यस कारण कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु ।