कपिलवस्तुको विजयनगर गाउँपालिकाले छोरी जन्मिए बैंक खातामा १५ हजार राखिदिने
चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । ‘परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार बचत गर्छ र त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तीमा रु पाँच हजार वा त्योभन्दा बढी रकम जम्मा गर्न लगाइन्छ’, उनले भने । उक्त रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । उक्त रकम पाउन गाउँपालिकाले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच गरे नगरेको रिपोर्ट कार्ड अनिवार्यसमेत गराएको छ । त्यसले गर्दा गर्भावस्थामा जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने गाउँपालिकाको अपेक्षा छ । गर्भवतीले अनिवार्य बर्थिङ सेन्टरमा शिशु जन्माउनुपर्ने छ । कार्यक्रममार्फत शिशु जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराइसक्नुपर्ने व्यवस्था रहेकाले जन्म दर्ता पनि समयमा नै हुने अध्यक्ष थापाले बताए । मधेशमा महिलाको नागरिकता समयमा नै नबनाउने दरमा यो कार्यक्रमले कमी ल्याउने वडा नं ७ का वडाध्यक्ष दिनेश चौधरीले बताए । यसले महिला हिंसामा समेत न्यूनीकरण ल्याउने विश्वास गरिएको छ । गाउँपालिकाले पहिलो छोरीको खातामा जम्मा गरिदिने उक्त रकमले उनलाई उच्च शिक्षा पढाउने भार पनि कम हुने र बिहेवारी गर्दा लाग्ने खर्चमा समेत राहत पुग्ने गाउँपालिकाको विश्वास छ । नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण गर्दै आइरहेको छ । रासस
गाेरखाकाे सर्वोत्कृष्ट गाउँपालिका बन्याे बारपाक सुलिकोट
गााेरखा । गोरखा जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको मापदण्डका आधारमा गरिएको संस्थागत क्षमताको स्वमूल्याङकनमा सो गाउँपालिका जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भएको हो । कार्यविधिमा समावेश गरिएका १० सूचक र १०० उपसूचकका आधारमा बारपाक सुलिकोट गाउँपालिकाले ६६.७५ प्रतिशत अङ्क प्राप्त गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । त्यस्तै कार्यविधिको मापदण्डअनुसार संस्थागत क्षमताको स्वमूल्याङकनमा भीमसेन थापा गाउँपालिका सबैभन्दा पछाडि परेको छ । सो गाउँपालिकाले ३३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । संस्थागत क्षमताको स्वमूल्याङकनको आधारमा जिल्लाको अजिरकोट गाउँपालिका दोस्रो र शहिद लखन गाउँपालिका तेस्रो गाउँपालिका बनेको छ । अजिरकोटले ६५.५ प्रतिशत र शहिद लखनले ६०.२५ अङ्क ल्याएका छन् । कार्यविधिअनुसार गाउँपालिका र नगरपालिकाका सबल र दुर्बल पक्षहरुको पहिचान र समीक्षा गर्ने गरिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी स्वयंले सहभागितामूलक विधिद्वारा आ–आफ्नो स्थानीय तहको कार्यबारे मूल्याङ्कन गर्ने गर्दछन् । नगरपालिका र गाउँपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु बनाएर त्यस आधारमा कामको मूल्याङ्कन गर्न कार्यविधिले सघाउने सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले बताए । शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सामाजिक समावेशीकरण, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सङ्गठन तथा प्रशासन, सहकार्य र समन्वयको आधारमा स्थानीय तहरुले नम्बर प्राप्त गर्दछन् । जिल्लाका ११ स्थानीय तहमा आरुघाट गाउँपालिकाले भने भर्खरै मात्र संस्थागत क्षमताको स्वमूल्याङकन प्रक्रिया शुरु गरेको जनाएको छ । रासस
इलामको देउमाइ नगरपालिकाले कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार दिने
इलाम । कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ । सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । यौनिक अल्पसङ्ख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । अन्य स्थानीय तहभन्दा फरक कार्यक्रमका रुपमा शुरुबाट नै यस नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने नगरवासीले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृत्यु हुँदा दाहाससस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ । जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताए । शिक्षा, सडक मर्मत तथा निर्माण, विजुलीवत्ती, खानेपानी, कृषि तथा पशु लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद बास्तोला (गोपाल) ले बताए ।