भरतपुरका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता

चितवन । भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको २० लाखको अक्षयकोषबाट भत्ता दिन सुरु गरिएको हो । सो कोषमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले एक लाख थप गरी भत्ता वितरण थालिएको हो । कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले महासङ्घका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । महासङ्घले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महिनाको चार जना पत्रकारलाई मासिक चार हजारका दरले हुन आउने १२ हजार जनही वितरण गरिएको छ । योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासङ्घले जनाएको छ । महासङ्घ र महानगरपालिका मिलेर भरतपुर महानगर ज्येष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८ बनाई सो कार्यविधिअनुसार कोष स्थापना गरी प्राप्त व्याजबाट भत्ता वितरण सुरु गरिएको हो । कार्यविधि बनाएर काम अघि बढाएको महानगरले जनाएको छ । लाभग्राही पत्रकार थपिएसँगै स्वतः महानगर र महासङ्घले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाइएको छ । कोष सञ्चालनका लागि महासङ्घका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासङ्घसँग सहकार्य विगतमा झै आगामी दिनमा पनि गर्दै जाने बताइन् । उमेर घटाउने र कोषलाई वृद्धि गर्दै लग्ने विषयमा महानगरले छलफल गर्ने उनको भनाइ छ । उनले नेपालमानै पहिलोपटक पत्रकारिता क्षेत्रमा नमूना कार्य गरिएको बताइन् । महासङ्घले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कठ्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उनले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । यससँगै लेखनवृत्ति, क्षमता अभिवृद्धिलगायतका कार्यमा महानगरले सहकार्य गर्ने उनको भनाइ छ । प्रमुख भएसँगै अघिल्लो कार्यकालमा पत्रकारिता क्षेत्रलाई प्रवद्र्धन हुने गरी विभिन्न कार्यक्रम अघि बढाएको उनले बताइन् । यस कार्यकालमा पनि महासङ्घका प्रस्तावलाई सम्बोधन गरिने उनले जानकारी दिइन् । सोही अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले नेपालमै महानगरले महासङ्घसँग सहकार्य गरेर अनुकरणीय काम अघि बढाएको बताए । यसबाट दुई संस्थाबीचको सहकार्य थप मजबुत हुने उनको भनाइ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले सबै प्रक्रिया पूरा गरेर महासङ्घसँग सहकार्य गरी भत्ता वितरण कार्यका लागि कोषमा जम्मा हुने गरी रकम वितरण गरेको बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्यालले देशमानै नमूना काम यहाँको महासङ्घ र महानगरले गरेको भन्दै प्रशंसा गरे । महासङ्घका अध्यक्ष अधिकारीले संस्थागतरुपमा महासङ्घबाट आएका प्रस्ताव अहिलेसम्म फर्किनु नपरेको भन्दै अब अगाडि सारिएका आयोजनामा सहकार्य गरिदिन आग्रह गरे । सोही अवसरमा ६० वर्ष कटेका ज्येष्ठ पत्रकार रेशम वीरही, डिल्लिराम पोख्रेल, मोहोन पोख्रेल र महेन्द्रराज श्रेष्ठलाई तीन महिनाको निवृत्तिभरण रकमबापत १२ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो । निवृत्तिभरण रकम बुझेसँगै वीरहीले पत्रकारको योगदान हालसम्म राज्यले गर्न नसकेको बताए । साे कार्यको थालनी महत्वपूर्ण भएको उनले बताए । भत्ता वितरण कार्यविधिअनुसार महिला, दलित, अपाङ्ग र अल्पसङ्ख्यकका लागि ५५ वर्ष र अन्यको हकमा ६० वर्ष कटेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई यो कोषबाट भत्ता वितरण गर्ने व्यवस्था रहेको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउनयोग्य उमेर भएपछि यो कोषबाट भत्ता पाइने छैन । यससँगै नेपाल सरकारका कुनै पनि निकायका नियमित सुविधा लिनेलाई कोषमा समावेश गरिने छैन ।

धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना

काठमाडौं । धोबीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना गरेको छ । हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको सार्वजानिक भएपछि छानविन गरि महानगरपालिकाले सो कार्यमा संलग्नलाई जरिवाना गरेको हो । महानगरले यस्ता कार्य नगर्न र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन सबैलाई अनुरोध गरेको छ ।

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू

तम्घास । गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । जिल्लाको धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका हुन् । धुर्कोट गाउँपालिकाले शैक्षिकसत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागू गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिए । यो वर्षदेखि कक्षा ८ सम्म नै स्थानीय पाठ्यक्रम लागू गर्ने गाउँपालिकाको तयारी छ । ‘पाठ्यक्रम तयार गरी यसै वर्षबाट लागू हुन्छ’, उनले भने, ‘पाठ्यपुस्तक अर्को वर्ष आइपुग्छ ।’ पाठ्यक्रममा धुर्कोटका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल, भूगोल, आर्थिक पक्षलगायत विषय समेटिएको गाउँपालिकाले जनाएको छ । गुल्मी दरबार गाउँपालिकामा अघिल्लो शैक्षिकसत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यक्रम लागू गरिएको थियो । पाठ्यक्रम कक्षा ३ सम्मका लागि तयार भए पनि पाठ्यपुस्तक लेखनको काम बाँकी रहेकाले लागू नगरिएको शिक्षा शाखा प्रमुख नरेन्द्रप्रसाद शर्माले जानकारी दिए । ‘कक्षा दुई र तीनको पाठ्यपुस्तक लेखन कार्य चल्दैछ, यही वर्षदेखि कक्षा २ मा लागू हुन्छु, उनले भने, ‘संस्कृति, आर्थिक स्थिति, स्थानीय सीपलगायत विषयलाई प्राथमिकतामा राखेका छौँ ।” गुल्मी दरबारमा दुई वटा निजी र २९ वटा सामुदायिक विद्यालय छन् । पुस्तकका लागि छपाइ खर्च रु डेढ लाख र लेखन खर्च रु तीन लाख लागेको शाखा प्रमुख शर्माले बताए । कालीगण्डकी गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १ र २ मा स्थानीय पाठ्यक्रम लागू गरेको थियो । यो वर्ष कक्षा ३, ४, ६ र ७ मा लागू गर्ने शिक्षा शाखा प्रमुख अग्निधर लोहनीले बताए । पाठ्यक्रममा कालीगण्डकीको परिचय, विपद्सम्बन्धी योजना, विपद् न्यूनीकरणमा गाउँपालिकाको योजना, दैवी प्रकोपलगायत विषय समेटिएको छ । पुस्तकका लागि गत वर्ष छपाइ खर्च रु दुई लाख ५२ हजार र बैठक, खाजा खर्च एवं लेखाइ खर्चमा रु एक लाख खर्च भएको उहाँले जानकारी दिए । अर्को वर्ष कक्षा ५ र ८ मा पनि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी छ । कालीगण्डकीमा रहेका दुई वटा निजी विद्यालयमा पनि पाठ्यक्रम लागू गरिएको छ । सबै विद्यार्र्थीले पाठ्यपुस्तक निःशुल्करुपमा प्राप्त गरेका छन् । रेसुङ्गा नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म लागू गरेको छ । कूल २५० थान पुस्तक छापेर विद्यालयलाई प्रदान गरिएको शिक्षा शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिए । पाठ्यक्रम १०० पूर्णाङ्कको रहेको छ । यसका लागि कूल रु तीन लाख ५० हजार खर्च भएको उनको भनाइ थियोे । दुई पालिकामा यसै वर्षबाट लागू हुने मुसिकोट नगरपालिकामा पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छ । यसै वर्ष कक्षा ५ सम्म लागू गर्ने आगामी वर्ष कक्षा ८ सम्म लागू गर्ने तयारी रहेको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिए । साउनको अन्तिमसम्म विद्यालयको पहुँचमा पाठ्यक्रम पुगिसक्ने उनले बताए । सत्यवती गाउँपालिकामा पाठ्यक्रम बनेर पनि पाठ्यपुस्तक लेखनको काम हुँदैछ । पाठ्यक्रम लेखनको काम यही आर्थिक वर्षमै सकिने शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । कूल १० लाखको लागतमा सत्यवतीले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्दैछ । पाठ्यक्रममा स्थानीय संस्कृति, स्थानीय सीप, कला, धर्म, भाषा, भूगोल अर्थात् समग्र पालिकाको परिचय समेटिएको छ । पुस्तक विद्यार्थीका लागि निःशुल्क प्रदान गर्ने योजना रहेको छ । रासस