गण्डकीमा मुख्यमन्त्री र मन्त्रीका बुबा–आमाको नाममा कोष
काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीका बुबा आमाको नाममा ट्रष्ट स्थापना गर्नेगरी रकम विनियोजन गरेको पाइएको छ । प्रदेशले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मुख्यमन्त्री तथा मन्त्रीका बुबाआमाको नाममा कोष भर्न, ट्रष्ट चलाउन डेढ करोड रकम विनियोजन गरिएको पाइएको हो । उक्त कोषका लागि भन्दै सबैभन्दा धेरै रकम शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई दिईएको छ । मुख्यमन्त्रीका बुवाको नामको कोषलाई ५० लाख र शिक्षामन्त्री श्रेष्ठका बुवा–आमाको नामको ट्रष्टलाई एक करोड रूपैयाँ सरकारी ढुकुटीबाट दिन लागिएको हो । मुख्यमन्त्री पोखरेलले बुवा गोबद्र्धन शर्माको नामको कोष (तनहुँ, व्यास नगरपालिका–१० लाई) मा ५० लाख रूपैयाँ विनियोजन गरेका छन् । शिक्षामन्त्रीले नलिने घोषणा गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट नलिने बताएका छन् । उनले प्रदेशका अर्थमन्त्री रामजी बराललाई उक्त रकम हटाइदिन आग्रह गरेका हुन । उनका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड बजेट छुट्याएको थियो । उनले टष्ट्रबाट फिर्ता भएको बजेट असहाय, जेष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग गर्न आग्रह समेत गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले बजेट मार्फत आफ्ना बुवा–आमाको नाममा सरकारी कोषमा रजाइँ गरेको भन्दै विरोध भइरहेको छ । उक्त विरोधपछि शिक्षामन्त्रीले रकम नलिने घोषणा गरेका हुन । गण्डकी प्रदेश सरकारले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा
टीकापुर । कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गरेका हुन् । सो अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगङ्गा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका कामको सरहाना गरे । ‘समयमै १५ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन पालिकाले गरेको कार्यले आज पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ’,उनले भने, ‘आउँदा दिनमा पनि निरन्तरता दिनुहोला । स्वास्थ्यमा पालिकाले गरेका कार्यले अन्य पालिकालाई पनि प्रेरणा मिल्नेछ ।’ मन्त्री धामीले पूर्णखोप घोषणालगायतका कार्यका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा निमेश खतिवडाले टीकापुरले अब कोभिड–१९ खोप पनि सबैलाई समयमै लगाएर चाँडै पूर्णखोप घोषणा गर्नेमा आशावादी रहेको बताए । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले टीकापुरका नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि टीकापुर अस्पतालले पालिकाहरूसँग समन्वय गरेर सेवा दिइरहेको बताए । ‘हामीकहाँ सातामा दुई दिन खोप कार्यक्रम सञ्चालन हुन्छ, अस्पतालमा खोप सेवा लिनेको सङ्ख्यासमेत धेरै छ’, उनले भने, ‘सहज सेवाका लागि काम गरिरहेका छौँ ।’ कार्यक्रममा पूर्णखोप कार्यक्रममा सघाउने वडाध्यक्षहरू, स्वास्थ्य प्रमुख, कर्मचारी, खोप कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका आठ सय २७ बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । १६ महिनादेखि २३ महिनासम्मका सात जना बालबालिकाले खोप लगाउन छुटेकामा उनीहरुलाई पनि यही अवधिमा पूर्ण खोप लगाइएको सोतीले बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि नगरपालिका प्रतिबद्ध छ,’ उनले भने । जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडी बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि घिरिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भानु नगरपालिका, आँबुखैरेनी कार्यालय, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि कार्यालयलाई अनुरोध गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । रासस