काठमाडौं महानगरद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
काठमाडौं । काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ । दिवसका अवसरमा कामपा र नेपाली सेनाको सहकार्यमा आज र बिहीबार दुई दिन शहीद गेट नजिकै रहेको नेपाली सेनाको खेलमैदानमा शिविर सञ्चालन गरिएको हो । महानगर प्रमुख बालेन्द्र शाहले आज उद्घाटन गरेको सो शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड, बालरोग, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाडजोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग र दन्त रोगको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिनेछ । बिहान ८ देखि दिउँसो १२ बजेसम्म बिरामीको नाम दर्ता गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य परीक्षण गरिनेछ । काठमाडौं महानगरपालिका बसोबास गर्ने सबै व्यक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा अल्ट्रासाउन्ड, मुटुको भिडियो एक्स–रे, एक्स–रे र मोबाइल हस्पिटल भेहिकल लगायतका मेडिकल उपकरण र साधन प्रयोग गरिएको छ । शिविरमा सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन अनुसारको औषधि वितरण गर्नाका साथै आवश्यकताअनुसार बिरामीको अन्य अस्पतालमा सिफारिस पनि गरिनेछ । कार्यक्रममा सेनापति प्रभुराम शर्मा, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, कामपाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।
वीरगञ्ज महानगरले फोहोर व्यवस्थापन गर्न मोबाईल एप्लिकेशन ल्याउँदै
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ । द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने महानगरपालिकाले जनाएको छ । महानगर र क्लिन अप नेपाल बीच सम्झौता भएसँगै केही दिनमै एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए । क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिए । यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् । यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने छ । साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर दण्डित गरिने मेयर सिंहले बताए । फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने उनको भनाइ छ । यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने महानगरपालिकाले जनाएको छ । उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, सबै वडाका वडाअध्यक्ष र सचिवहरु तथा महानगरका कर्मचारीलाई एप्लिकेशन प्रयोगका बारेमा जानकारी गराईएको छ । सर्वसाधारणले फोटो खिचेर पठाएका समस्या कसरी थाहा पाउने र समाधान कसरी गर्ने भन्ने बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गराइएको छ ।
बर्सेनि ४२ लाख भाडामै खर्चिन्छन् गुल्मीका पाँच पालिका
रेसुङ्गा । गुल्मीका पाँच पालिकाले बर्सेनि ४२ लाख ७२ हजार कार्यालय भाडामै खर्चिदै आएका छन् । एक नगरपालिका र चार गाउँपालिकाले मासिक भाडा ३३ देखि ९७ हजार रुपैयाँसम्म तिर्दा उनीहरूले बर्सेनि सो रकम खर्च गर्नुपरेको हो । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा पाँच पालिकाले अझै पनि भाडाकै घरबाट कार्यालय सञ्चालन गरेका छन् । जिल्लाको मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी, इस्मा र गुल्मीदरबार गाउँपालिकाले भाडाकै भवनबाट सेवा दिइरहेका छन् । यीबाहेक रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकाले आफ्नै प्रशासनिक कार्यालय बनाएका छन् । धुर्कोटको अर्को प्रशासनिक भवन पनि निर्माणाधीन अवस्थामा छ । मदाने गाउँपालिकाले साविकको गाविस भवन, मालिकाले आफ्नै बहुउद्देशीय भवन, छत्रकोटले सभाहल, सत्यवतीले सभाहल र रुरुक्षेत्र गाउँपालिकाले कृषि सम्पर्क कार्यालयबाट सेवा दिइहरेका छन् । कार्यालय भाडामै रहेकामध्ये चन्द्रकोट गाउँपालिकाले सबैभन्दा धेरै मासिक रु ९७ हजार भाडा तिर्दै आएको छ । चन्द्रकोट क्याम्पसबाट कार्यालय सञ्चालन गर्दै आएको गाउँपालिकाले वार्षिक ११ लाख ६४ हजार रुपैयाँ भाडा तिर्दै आएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए । गाउँपालिकाको आफ्नै कार्यालय निर्माणाधीन अवस्थामा छ । कालीगण्डकी गाउँपालिकाले मासिक रु ९० हजार कार्यालय भाडा तिर्दै आएको छ । दुई वटा भवन भाडामा लिएको कालीगण्डकीले वार्षिक १० लाख ८० हजार रुपैयाँ भाडा तिर्दै आएको गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर थापाले बताए । गाउँपालिकाको कार्यालय बनाउन जग्गाको व्यवस्थापन अझै भएको छैन । गुल्मी दरबार गाउँपालिकाले मासिक ७४ हजार रुपैयाँ कार्यालय भाडामा खर्च गर्दै आएको छ । तीन वटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरेको गुल्मी दरबारले वार्षिक आठ लाख ८८ हजार रुपैयाँ तिर्दै आएको गाउँपालिकाका सूचना अधिकारी नवराज भण्डारीले जानकारी दिए । गाउँपालिकाको कार्यालय बनाउने जग्गाको अझै टुङ्गो छैन । मुसीकोट नगरपालिकाले मासिक ६२ हजार रुपैयाँ कार्यालय भाडा तिर्दै आएको छ । दुई वटा भवन भाडामा लिएको मुसीकोटले कार्यालय भाडामा सात लाख ४४ हजार रुपैयाँ खर्च गर्दै आएको नगरपालिकाका सूचना अधिकारी मुना ज्ञवालीले बताए । नगरपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ । इस्मा गाउँपालिकाले कार्यालय भाडामा मासिक ३३ हजार रुपैयाँ तिर्दै आएको छ । सिङ्गो घर भाडा लिएको इस्माले वार्षिक तीन लाख ९६ हजार रुपैयाँ भाडा तिर्दै आएको गाउँपालिकाका सूचना अधिकारी नारायण महतले जानकारी दिए । गाउँपालिकाको केन्द्रसम्बन्धी सर्वोच्चमा मुद्दा परेपछि इस्मा केन्द्र टुङ्गो लगाउनेमै अन्योल छ । गाउँपालिकाको केन्द्र, जग्गा र कार्यालय कार्यपालिकाको बैठकबाट बहुमतले पास भएपछि प्रक्रिया अगाडि बढ्ने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले जानकारी दिए । ‘प्रशासनिक भवनको लागि पालिकाको आफ्नै अधिकार हुन्छ, कार्यपालिकाबाट बहुमतले पास गरेपछि प्रक्रिया अगाडि बढ्छ,’ प्रमुख खत्रीले भने । आवश्यक परेर सहयोग मागेका मात्र आफूहरूको समन्वय हुने उनको भनाइ छ । रासस