५०० रुपैयाँसम्म एकीकृत सम्पत्ति कर तिर्नेलाई विद्युतीय चुलो बाँड्दै प्युठान नगरपालिका
प्युठान । दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ । प्युठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम पाँच सयसम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगपालिकाका आर्थिक विकास समितिका संयोजक तथा प्युठान नगरपालिका–३ का वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘गत आवमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको आन्तरिक गरी करिब सात लाखमा एक हजार चार सय इन्डक्सन चुलो विपन्न परिवारलाई सहयोग गर्ने भनेर खरिद भएको हो ।’ उनका अनुसार चुलो चलाउन हाई भोल्टेज विद्युत् आवश्यक पर्ने र पकाउने भाँडा सोहीबमोजिम फेरि किन्नुपर्ने हुँदा गाउँघरमा विपन्न परिवारका लागि अनुपयुक्त देखिएकाले कार्यपालिका बैठकबाट निर्णय संशोधन गरी धेरै कर तिर्ने करदातालाई सम्मानस्वरूप दिने निर्णय भएको हो । गरिब परिवारलाई इन्डक्सन चुलो दिँदा झन आर्थिक बोझ थपिने भएपछि सम्पत्ति कर धेरै तिर्नेलाई दिने तयारी अन्तिम चरणमा रहेको संयोजक श्रेष्ठले बताए । नगरपालिकाका ग्रामीण क्षेत्रमा स्थानीयवासीका अधिकांश घरमा छ एम्पियर क्षमताको विद्युत् एमसिबी जडान छन् । इन्डक्सन चुलो सञ्चालनका लागि कम्तीमा १५ एम्पिएर क्षमताको जडान हुनुपर्ने उनले बताए । नगरपालिकाले करिब चार महिनाअघि चुलो खरिद गरेको थियो । रासस
विराटनगरका ३६ सहकारी संस्था हराए
विराटनगर। विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाब किताब सहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो । पछिल्लो समय सहकारी संस्थाले ग्राहकको निक्षेप फिर्ता गर्न आनाकानी गर्ने प्रवृत्ति बढेपछि महानगरपालिकाको सहकारी शाखामा ग्राहक उजुरी पर्ने क्रम बढेको छ । ती सहकारीमा ताकेता गरेपछि सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन रहेका ३६ ऋण तथा बचत सहकारी संस्था लिमिटेडका फाइलमा उल्लेखित ठेगाना नभेटिएको, पटक-पटक ताकेता गर्दापनि सम्पर्कमा आउन नचाहेको, सम्पर्क स्थापित गर्न नसकिएको र कुनैपनि प्रकारको कारोबारको विवरण पेस नगरेकाले ती सहकारीको नाममा सूचना जारी गर्नाका साथै नाम पनि सार्वजनिक गरिएको छ । सम्पर्कमा नआएका ती सहकारीले साधारणसभासमेत नगरी कारोबारको विवरण सम्बन्धित शाखामा नबुझाउँदा कैयौंँ ग्राहकको रकम डुब्ने जोखिम बढेर गएको छ । त्यस्ता सहकारीमा विराटनगर वडा नं २ को सक्रिय, वडा नं ३ को स्पर्श, वडा नं ४ को परिचय, सगुन र पुष्पाञ्जलि, वडा नं ५ को विराट कोसेली र एक्सेन्ज, वडा नं ७ को सुमेरू, विराट उपभोक्ता र हिमशिखर, वडा नं ८ को सहयोगी, वडा नं ९ को भिजन फर्मा, क्यापिटल, खाटु श्याम, सत्य ओम साई, सबल, युरो र हाम्रो बचत तथा ऋण सहकारी संस्था रहेका छन् । यस्तै वडा नं १०को एभरेष्टमल्टिपल,वडानं११को ज्ञानपुञ्ज, निलकमल, यातायात, स्वर्णलक्ष्मी, वडा नं १२ को गजलक्ष्मी, गरिमा, बखरी, ताजा तरकारी तथा फलफूल उत्पादक, वडा नं १३ को नक्षत्र, वडा नं १४ को बहुमूल्य, जुनतारा र प्रभावकारी, वडा नं १५ को इच्छा, नेश्नल, ऋद्धिसिद्धि र वडा नं १७ को वाटिका र उपकार बचत तथा ऋण सहकारी संस्था रहेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले सम्पर्कमा नआएका सहकारी संस्थालाई सम्पर्कमा आउन ३५ दिने म्याद जारी गरिएको बताए । उनले ती सहकारीलाई खोजेर कानुन बमोजिम कारबाही गरिने जानकारी दिए । रासस
सुन्धाराको मूल धारा नष्ट गरिएकामा काठमाडौं महानगरको आपत्ति
काठमाडौं । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् । काठमाडौंको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए । उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरेका छन् । रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठीक पछाडी ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य बस्तु काठको लामो पाइप नष्ट हुनगएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं।२२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो । सो विरोधपछि आज प्रमुख बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँं वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो । प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारेका छन् । सो अवसरमा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुनधारास्थित ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको छ । रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै सो ट्याङ्की निर्माण लगायतका कार्य अघि बढाएको जानकारी दिँदै हाललाई निर्माण कार्य रोक्न कामदारलाई निर्देशन दिइएको बताए । सो अवसरमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ । ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करिब दुई सयवर्ष अघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मूल भने चार–पाँच सय वर्षभन्दा पुरानो भएको कुरा पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।