पाँचपोखरी गाउँपालिकाको अभियान ‘पाहुना हाम्रो साथी’ होमस्टेबाट जीविकोपार्जन गर्दै स्थानीय
काठमाडौं । सिन्धुपालचोकको पाँचपोखरीमा सुरु भएको ‘होमस्टे’ बाट स्थानीयहरुले राम्रो आम्दानी गर्न थालेका छन् । सिन्धुपाल्चोकको विकट मानिएको पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पाहुना हाम्रो साथी’ अभियान सञ्चालनसँगै होमस्टे सञ्चालनका लागि तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि व्यवसाय फस्टाउन थालेको हो । यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होमस्टेबाट हुने आम्दानी पनि बढ्न थालेको छ । हाल गाउँपालिकाले होमस्टेको व्यवस्थापनका लागि कार्यविधि समेत बनाउन तर्फ लागेको छ । होमस्टेमा पाहुनालाई न्यानो सत्कार, पाहुनाको रोजाइअनुसारका अर्गानिक तरकारीसहित मिष्ठान्न भोजन खुवाइने भएकाले होमस्टेमा बस्ने पर्यटक बढेको थाङपालकोट मानेखर्ककी कान्छी तामाङले बताइन् । कान्छी तामाङका अनुसार ३२ वटा होमस्टे रहेको गाउँपालिकामा कुनै दिन ८० जनाभन्दा बढी पाहुना पुग्छन् । पर्यटकलाई स्थानीय स्तरमा उत्पादित अग्र्यानिक तरकारी तथा खाद्यान्नका मिष्ठान्न भोजन खुवाइने होमस्टे सञ्चालकहरुले गरेका छन् । विश्वभरी फैलिएको कोरोना महामारीका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन नहुँदा लामो समय बन्द जस्तै रहेको होमस्टे व्यवसाय फेरि तङ्ग्रिन थालेको पनि तामाङले बताइन् । यस्तै, होमस्टेबाट हुने आम्दानीले परिवारको खर्च टार्न निकै सहज भएको पाँचपोखरी थाङपाल–४ मानेखर्कका मानबहादुर तामाङले बताए । विश्वको नवौं अग्लो स्थानमा पर्ने पाँचपोखरी कुण्डसहित आमायाङ्ग्री, ढुक्पु, डुखाङ, हवेली, ड्रागन गुफा, नागीथामडाँडा, रैथानेश्वरी जस्ता पर्यटकीयस्थलको प्रवद्र्धनसँगै पर्यटकको रोजाइको गन्तव्य बनाउनका लागि पालिकाले विभिन्न योजना ल्याएको छ । पालिकाले ‘पाहुना हाम्रो साथी’ अभियानसँगै होमस्टेलाई प्रोत्साहन गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । गाउँपालिकाभित्र फुटबल, क्रिकेट, ब्याडमिन्टन, म्याराथनजस्ता जिल्ला तथा राष्ट्रियस्तरका खेलकुदका प्रतियोगिता आयोजना हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बाक्लिँदै गएको छ । जसकारण व्यवसायमा चहलपहल बढेको छ भने पर्यटीयस्थलको प्रचारप्रसारसँगै होमस्टे सेवाबाट स्थानीयको जीविकोपार्जन पनि राम्रो हुन थालेको छ । पालिकाले होमस्टे सञ्चालनबारे गत सोमबारदेखि बुधबारसम्म तालिम दिएपछि उत्साह बढेको स्थानीय होमस्टे सञ्चालक दोकदोक तामाङले बताए । उनी स्थानीय उत्पादनबाट धेरै परिकार बनाउन सिकेको भन्दै अब त्यसलाई व्यवहारमा पनि उर्तार्ने योजनामा छन् । गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले होमस्टेसम्बन्धी तालिम अर्को पटक पनि आयोजना गर्ने बताइन् । होमस्टे सञ्चालकलाई तालिममा सहयोग गरेको संस्था ग्रामीण समाजकल्याण संघ (आर्सो) नेपालका परियोजना संयोजक हर्क तामाङले पाँचपोखरीमा होटल र होमस्टे व्यवस्थापन प्रवद्र्धन गर्नसके आयस्रोत बढ्ने कुरालाई जोड दिए । यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा होमस्टेबाट गुणस्तरीय सेवा दिन सके पर्यटकको संख्या बढ्नुका साथै गाउँपालिको आम्दानी पनि बढ्ने गाउँपालिकाका संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेले बताए । रासस
पाँच पालिकाले बजेट ल्याउन नसक्दा कर्मचारीको तलब भत्ता रोकियो
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ । दैनिक कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ । मधेस प्रदेशका चारवटा र लुम्बिनी प्रदेशको एउटा पालिकाले अहिलेसम्म बजेट ल्याउन सकेका छैनन् । धनुषाको नगराइन र र कमला नगरपालिका, रौतहटको बौधीमाई नगरपालिका र सर्लाहीको विष्णु गाउँपालिकाले बजेट ल्याएका छैनन् । त्यस्तै, बाँकेको डुडुवा गाउँपालिकाले पनि बजेट ल्याएको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार भने आठवटा पालिकाले आफ्नो वार्षिक बजेट मन्त्रालयको प्रणालीमा प्रविष्ट गरेका छैनन् । यद्यपि, त्यसमध्ये पालिकामध्ये सिराहाको औरही गाउँपालिका तथा कर्जन्हा नगरपालिकाका र रौतहटको यमुनामाई गाउँपालिकाले भने बजेट ल्याइसकेका छन् । यी पालिकाले मन्त्रालयको प्रणालीमा प्रविष्ट नगरेको तर वार्षिक बजेट भने गाउँसभाबाट पारित भइसकेको छ । अन्तर(सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा तीनमा ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्नेछ’, भनी उल्लेख गरिएको छ तर बजेट नआएका कारण ती पालिकामा आर्थिक गतिविधि चलायमान हुन सकेका छैनन् । पालिकाले वार्षिक बजेट नल्याउँदा उनीहरुका विकास निर्माणका काम ठप्प हुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । ‘बजेट नै नल्याएपछि उनीहरुले खर्च गर्न पाउँदैनन् । तलब भत्तासम्म दिएका हुनसक्छन् । तर विकास निर्माणका काम रोखिएका छन्’, तामाङले भने । गाउँसभा र नगरसभाबाट बजेट पारित नभएका पालिकाका लागि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिकाले बजेट रोकिदिने उनको भनाइ छ । संविधान, ऐन, कानूनले नै सम्बन्धित पालिकालाई बजेट निर्माणको जिम्मा दिएको र यसमा सङ्घीय र प्रदेश सरकारको कुनै भूमिका नरहने पनि प्रवक्ता तामाङको भनाइ छ । असार दोस्रो साताभित्र ल्याइसक्नुपर्ने बजेट मङ्सिर मसान्तसम्म पनि आउन नसक्नुको मुख्य कारण गाउँ तथा नगरसभामा राजनीतिक दलबीचको किचलो तथा प्रमुख र उपप्रमुखबीचको मनमुटाव देखिएको छ । धनुषाको नगराइन नगरपालिकाका नगरप्रमुख विनयकुमार यादवले गाउँसभामा बहुमत नपुग्दा बजेट पारित गर्न नसकिएको बताए । ‘नगर उपप्रमुखसहित नेकपा एमालेबाट निर्वाचित सदस्यको बहुमत छ । म नेपाली कांग्रेसबाट निर्वाचित भएकाले नगरसभामा उनीहरुले अड्को थाप्नुभएको छ’, यादवले भने । उनका अनुसार तलबसमेत नपाएपछि नगराइन नगरपालिकाका कर्मचारी गत शुक्रबारदेखि आन्दोलन उत्रिएका छन् । वार्षिक योजना तथा कार्यक्रमबारे दलगतरुपमा विवाद बढ्दै गएपछि कमला नगरपालिकामा पनि बजेट आउन सकेको छैन । ‘योजनामा राजनीतिक भागबण्डा भएपछि त्यसको विवादले बजेट पारित हुन नसकेको हो । तलब नपाएपछि कर्मचारी आन्दोलनमा छन् । शिक्षकले सात महिनादेखि तलब पाएका छैनन्’, नगर उप्रमुख शिलादेवी मण्डलले भने । रौतहटको बौधीमाई नगरपालिकाले पनि बजेट ल्याएको छैन । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वरराय यादवका अनुसार नगरपालिकाको नीति तथा कार्यक्रमबारे पुनरावेदन अदालतमा मुद्दा चलिरहेको छ । सामान्य कार्यालय सञ्चालनमा समेत समस्या देखिएको उनले बताए । त्यस्तै, रौतहटको यमुनामाई गाउँपालिका पनि पाँच महिनादेखि बजेटविहीन बनेको छ । गाउँपालिका अध्यक्ष मोहमद साउदका अनुसार गत शनिबार मात्रै गाउँसभामा बजेट पेश भएको छ । बाँकेको डुडुवा गाउँपालिकाले पनि बजेट ल्याउन सकेको छैन । गाउँसभा बैठक बस्न नसकेका कारण बजेट आउन नसकेको र बजेट नआएका कारण आर्थिक गतिविधि हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । सिराहाको औरही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेशनारायण शर्माले बजेट आइसकेको भएपनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रणालीमा प्रविष्ट हुन नसकेको बताए । ‘गाउँसभाबाट बजेट स्वीकृत भइसकेको छ । मन्त्रालयलाई पत्रमार्फत् जानकारी पनि गराइसकेका छौँ तर प्रणालीमा प्रविष्ट हुन सकेको छैन’, शर्माले भने । कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोलाप्रसाद पोख्रेलले प्राविधिक समस्याका कारण बजेट प्रविष्ट हुन नसकेको बताए । मन्त्रालय अनालाइन प्रणालीमा राख्नका युजरनेम र पासवर्ड नपाउँदा बजेट राख्न नसकिएको उनको दाबी छ । रासस
महानगर दिवसको अवसरमा खाना मेलादेखि महिला उद्यमी मेला
काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरु घोषणा गरेको छ । बुधवार २८ औं महानगरदिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्तहव्यापी कार्यक्रमको जानकारी गराएको हो । महानगरले महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवद्र्धन गर्न खाना मेला हुने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता नविन मानन्धरले गुणस्तरिय र पहँचयुक्त स्वास्थ्य र व्यवहारिक शिक्षा, मूर्त, अमूर्त सम्पदाको सन्तुलित विकासमा महानगर लागेको बताए । उनले महानगरपालिकाले फोहारमैला व्यवस्थापनका लागि सरोकारवाला निकायहरुसँग समन्वय,साझेदारी र सहकार्य भइरहेको पनि बताए । उनले शहरी विकासका लागि काम गर्ने छरिएर रहेका योजना, स्रोत र कार्यक्रमलाई एकीकृत पूर्वाधार विकासको थालनी गरिएको बताए । उनले महानगरमा राजश्व तिर्न,भवन नक्शा स्वीकृत गर्ने लगायतका कार्यका लागि महानगरले अनलाइन प्रणाली बनाउने जानकारी । प्रवक्ता मानन्धरले महानगरका धेरैजसो काम अनलाइन प्रणालीबाट भइरहेको पनि बताए । उनले सहरी सुन्दरता बढाउन होर्डिङ बोर्ड हटाउने, सार्वजनिक यातायात प्रणाली र पार्किङमा सुधार गर्ने काम भइरहेको जानकारी दिए । त्यस्तै, प्रवक्ता मानन्धरले महानगर दिवसको अवसरमा खुला क्षेत्रको सरसफाई, महशुस यात्रा, चित्रकला, विशेष सरसफाई, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरु गर्ने बताए । महानगरले ७ जना जनप्रतिनिधि ५ जना कर्मचारीहरुलाई सेवाभावमा प्रेरित गर्न ‘महानगर सेवा गौरव पदक’ बाट सम्मान गर्ने भएको छ । त्यस्तै ५० हजार नगद सहित उत्कृष्ट महानगर सेवा पुरुस्कार,महानगर सेवा पुस्कार,जनकमान श्रेष्ठ शुसासन पुस्कार र ५ जना पत्रकारलाई सुशासन पत्रकारिता पुस्कारसहितको सम्मान कार्यक्रम रहने महानगरले जनाएको छ ।