पाँचपोखरी गाउँपालिकाको अभियान ‘पाहुना हाम्रो साथी’ होमस्टेबाट जीविकोपार्जन गर्दै स्थानीय

<p>काठमाडौं । सिन्धुपालचोकको पाँचपोखरीमा सुरु भएको ‘होमस्टे’ बाट स्थानीयहरुले राम्रो आम्दानी गर्न थालेका छन् । सिन्धुपाल्चोकको विकट मानिएको पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पाहुना हाम्रो साथी’ अभियान सञ्चालनसँगै होमस्टे सञ्चालनका लागि तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि व्यवसाय फस्टाउन थालेको हो । यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होमस्टेबाट हुने आम्दानी पनि बढ्न थालेको छ । [&hellip;]</p>

काठमाडौं । सिन्धुपालचोकको पाँचपोखरीमा सुरु भएको ‘होमस्टे’ बाट स्थानीयहरुले राम्रो आम्दानी गर्न थालेका छन् ।

सिन्धुपाल्चोकको विकट मानिएको पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पाहुना हाम्रो साथी’ अभियान सञ्चालनसँगै होमस्टे सञ्चालनका लागि तालिमसहित प्रोत्साहनको कार्यक्रम ल्याएपछि व्यवसाय फस्टाउन थालेको हो ।

यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होमस्टेबाट हुने आम्दानी पनि बढ्न थालेको छ । हाल गाउँपालिकाले होमस्टेको व्यवस्थापनका लागि कार्यविधि समेत बनाउन तर्फ लागेको छ ।

होमस्टेमा पाहुनालाई न्यानो सत्कार, पाहुनाको रोजाइअनुसारका अर्गानिक तरकारीसहित मिष्ठान्न भोजन खुवाइने भएकाले होमस्टेमा बस्ने पर्यटक बढेको थाङपालकोट मानेखर्ककी कान्छी तामाङले बताइन् ।

कान्छी तामाङका अनुसार ३२ वटा होमस्टे रहेको गाउँपालिकामा कुनै दिन ८० जनाभन्दा बढी पाहुना पुग्छन् । पर्यटकलाई स्थानीय स्तरमा उत्पादित अग्र्यानिक तरकारी तथा खाद्यान्नका मिष्ठान्न भोजन खुवाइने होमस्टे सञ्चालकहरुले गरेका छन् ।

विश्वभरी फैलिएको कोरोना महामारीका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन नहुँदा लामो समय बन्द जस्तै रहेको होमस्टे व्यवसाय फेरि तङ्ग्रिन थालेको पनि तामाङले बताइन् ।

यस्तै, होमस्टेबाट हुने आम्दानीले परिवारको खर्च टार्न निकै सहज भएको पाँचपोखरी थाङपाल–४ मानेखर्कका मानबहादुर तामाङले बताए । विश्वको नवौं अग्लो स्थानमा पर्ने पाँचपोखरी कुण्डसहित आमायाङ्ग्री, ढुक्पु, डुखाङ, हवेली, ड्रागन गुफा, नागीथामडाँडा, रैथानेश्वरी जस्ता पर्यटकीयस्थलको प्रवद्र्धनसँगै पर्यटकको रोजाइको गन्तव्य बनाउनका लागि पालिकाले विभिन्न योजना ल्याएको छ ।

पालिकाले ‘पाहुना हाम्रो साथी’ अभियानसँगै होमस्टेलाई प्रोत्साहन गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

गाउँपालिकाभित्र फुटबल, क्रिकेट, ब्याडमिन्टन, म्याराथनजस्ता जिल्ला तथा राष्ट्रियस्तरका खेलकुदका प्रतियोगिता आयोजना हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बाक्लिँदै गएको छ । जसकारण व्यवसायमा चहलपहल बढेको छ भने पर्यटीयस्थलको प्रचारप्रसारसँगै होमस्टे सेवाबाट स्थानीयको जीविकोपार्जन पनि राम्रो हुन थालेको छ ।

पालिकाले होमस्टे सञ्चालनबारे गत सोमबारदेखि बुधबारसम्म तालिम दिएपछि उत्साह बढेको स्थानीय होमस्टे सञ्चालक दोकदोक तामाङले बताए । उनी स्थानीय उत्पादनबाट धेरै परिकार बनाउन सिकेको भन्दै अब त्यसलाई व्यवहारमा पनि उर्तार्ने योजनामा छन् ।

गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले होमस्टेसम्बन्धी तालिम अर्को पटक पनि आयोजना गर्ने बताइन् । होमस्टे सञ्चालकलाई तालिममा सहयोग गरेको संस्था ग्रामीण समाजकल्याण संघ (आर्सो) नेपालका परियोजना संयोजक हर्क तामाङले पाँचपोखरीमा होटल र होमस्टे व्यवस्थापन प्रवद्र्धन गर्नसके आयस्रोत बढ्ने कुरालाई जोड दिए ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा होमस्टेबाट गुणस्तरीय सेवा दिन सके पर्यटकको संख्या बढ्नुका साथै गाउँपालिको आम्दानी पनि बढ्ने गाउँपालिकाका संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेले बताए । रासस

Share News