बालेनले ५ महिनाअघि सुरु गरेको फोहर वर्गीकरण रोकियो
काठमाडौं । करिब पाँच महिनाअघि काठमाडौं महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्गिकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो । सुरुको एक दुई हप्ता कामपाको योजनाअनुरुप काम भए पनि यसले निरन्तरता भने पाउन सकेन । कामपाको प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्साल स्थान अभावको कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको बताउँछन् । कामपासँग खुला स्थानको अभाव भएकाले केन्द्र सरकासँग एकै स्थानमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको छ । ‘सरकारले जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ । जग्गा प्राप्त भएसँगै कुहिने र नकुहिने फोहरको स्रोतमा नै वर्गीकरणको काम पुनः सुरु हुन्छ, आशा छ नयाँ सरकार गठन भएसँगै उक्त कार्यले पुर्णता पाउने छ’, लम्सालले भनिन्, ‘कामपालाई कानुनीरुपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अतिग्रहण गर्ने अधिकार छैन । त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको हो ।’ स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट दुई सय गाडीले फोहर ओसार्छन् । काठमाडौं उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा बञ्चरेडाँडा व्यवस्थापन हुँदै आएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न थालिएको हो । सबै किसिमका फोहर बञ्चरेडाँडा पु¥याउन कहिले स्थानीयको अवरोध त कहिले सडकका कारण समस्या सिर्जना हुँदै आएको थियो । आगामी दिनमा प्रभावकारीरुपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचान गरी कुहीने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि उक्त कार्यले पूर्णताः पाउन सकेको छैन ।
पोखरा महानगरपालिकाले व्यवसाय गर्न दियो साढे ११ लाख अनुदान
पोखरा । पोखरा महानगरपालिकाले उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन कार्यक्रम अन्तर्गत २४ वटा फार्मलाई अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र अन्तर्गत उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्द्धन केन्द्र (इबिक) परियोजनाको सहजीकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत् २४ फार्मलाई ५० हजारका दरले अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा नयाँ रोजगारी सिर्जनामा यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘व्यवसाय सञ्चालन तथा रोजगारी सिर्जनामा पहिलो पाइला महत्वपूर्ण हुन्छ, नवीनतम् सोच भएका व्यक्ति तथा फार्मलाई यो रकमले प्रोत्साहन गर्ने विश्वास लिएका छौँ’, उनले भने । प्रमुख आचार्यले रकम साना भए पनि पहिलो पाइलामा यो पुरस्कार प्राप्त गर्नु महत्वपूर्ण भएको जनाउँदै रोजगारी सिर्जनाका लागि महानगरपालिकाले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए । अनुदान रकम प्राप्त गर्नेमा सुन्ती पुर्जा (हस्तकला), सरस्वती अधिकारी थापा (गँड्यौला पालन, कौसी खेती र फोहोर मैला व्यवस्थापन), चुत्रल कृषि समूह (कृषि उत्पादन), ग्रिन रोड बेस्ट म्यानेजमेन्ट (प्लास्टिक व्यवस्थापन) छन् । साथै, एक कल होम सोलुसन (विभिन्न सेवाका लागि प्राविधिक सेवा), सुवास परियार (वातावरणमैत्री झोला प्रवद्र्धन), रेखाकुमारी थापा (गँड्यौला मल प्याकेजिङ), बाबुराम बस्ताकोटी (आर्ट एन्ड ह्यान्डी क्राफ्ट)ले पनि अनुदान पाएका छन् । त्यसैगरी प्रेमबहादुर विक (मेटल उद्योग), महिला सीप विकास संस्था (हस्तकला उत्पादन), पोखरा तारा मण्डल एन्ड विज्ञान केन्द्र (सिकाइ प्रवद्र्धन) र जमुना सुनार (हस्तकला), झलकप्रसाद बराल (पोल्टी), तारानाथ पहारी (कृषि पर्यटन), पोखरा बर्डस एन्ड एग्रो फार्म (कृषि), ज्योति प्रोभिजन स्टोर (लोकल घीउ तथा पनिर उत्पादन), पिन शोभा गुरुङ (विषादी मुक्त अग्र्यानिक उत्पादन), रनदेवी गुरुङ (कृषि तथा पशुपालन), विश्वबन्धु पोखरेल (कृषि तथा पशु), विष्णुमाया आचार्य (हस्तकला), पद्मावती खाद्य उद्योग (आयुर्वेदिक औषधी तथा जडीबुटी), बिजुला परिवार (टेलर्स), देवीथान कृषि फर्म (कृषि) र ग्रिनबायोट्रिक एन्ड रिसर्च सेन्टरलाई पनि अनुदान उपलब्ध गराइएको छ । पोखरा महानगरपालिका क्षेत्रभित्र नयाँ व्यवसाय तथा नवीनतम् सोचका साथ व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका युवा/महिला/वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फर्महरूलाई व्यवसाय सञ्चालनका लागि हौसलास्वरूप अनुदान प्रदान गरिएको इबिक परियोजनाका संयोजक नवराज अधिकारीले बताए । पोखरा महानगरपालिकाअन्र्तगत व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा प्रकाशित सूचनाका आधारमा सूचीकृत भई छनोटमा परेका २४ वटा व्यक्ति तथा फर्महरूलाई अनुदान उपलब्ध संयोजक अधिकारीले जानकारी दिए । रासस
काठमाडौंका आकाशे पुल मर्मत गर्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् । जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन् । कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण गरेको हो भने पुराना पुल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएका हुन् । पुराना पुलको अवस्था बुझ्न प्राविधिकलाई निर्देशन दिइएको र प्राविधिकको स्थलगत निरीक्षणपछि मर्मतको काम अघि बढ्ने कामपाले जानकारी दिएको छ । कामपाको लगानीमा निर्माण भएका बाहेक पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेको भनाइ छ । दुई दिनअघि कामपाको उपप्रमुख सुनिता डङ्गोलले पुरानो पुल असुरक्षित रहेको यात्रुबाट गुनासो आएकाले त्यस्ता पुलको समस्या यकिन गरी मर्मत गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचार गर्न निर्देशन दिएका थिए । महानगरले २०७६ सालमा पैदलयात्रुको अत्यधिक चाप भएका आठ स्थानमा नयाँ आकाशे पुल निर्माण गर्ने निर्णय गरेको थियो । तर हालसम्म चार वटा मात्र निर्माण भएको छ । महानगरले टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडकमा आकाशे पुल निर्माण गर्ने भने पनि लामो समय बितिसक्दा काम अघि बढ्न सकेको छैन । हाल कामपाभित्र सुन्धारा, वीर अस्पताल, रत्नपार्क(भोटाहिटी, जमल, रत्नपार्क(बागबजार, भद्रकालीमा पुराना आकाशे पुल सञ्चालनमा छन् भने रत्नपार्कमा एउटा सव–वे सञ्चालनमा छ । त्यसैगरी स्थानान्तरण गर्न सकिने गरी कामपाले चावहिल चोक, कोटेश्वर, रामशाह पथ र नेपाल विद्युत् प्राधिकरण केन्द्रीय भवन अगाडिका स्थानमा पुल सञ्चालनमा ल्याएको छ । रासस