आँबुखैरेनीमा पन्ध्र शय्याको अस्पतालमा सञ्चालन
आँबुखैरेनी । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले पन्ध्र शय्या क्षमताको आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको नवनिर्मित भवन निर्माणपश्चात् साविकको वडा नं २ र ३ को कार्यालय रहेको सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी सञ्चालनमा ल्याइएको हो । स्थानीय तहको निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा पूरा गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिए । सरकारीस्तरबाटै स्थानीयरुपमा अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीय नागरिकलाई उपचार गराउन सहज हुने र अब टाढा र महँगा निजी अस्पताल जानुपर्ने अबस्था अन्त हुने उनले बताए । सामान्य नागरिकलाई पनि सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरणको व्यवस्था मिलाइने उल्लेख गर्दै अध्यक्ष चुमानले अस्पतालमा अहिले एक चिकित्सकसहितका स्वास्थ्यर्कीले सेवा दिने तर पछि आवश्यकताअनुसार थप स्वास्थ्यकर्मी र चिकित्सकको व्यवस्था मिलाइने जानकारी दिए । गाउँपालिकाले चिकित्सकसहितको मोबाइल टोली टोलटोलमा लगेर जनताको स्वास्थ्य परीक्षण गर्नेलगायत योजना बनाएर अघि बढ्ने लक्ष्य राखेको जनाएको छ । रासस
बानेश्वरको एउटै भवनबाट ४३ वटा बोर्ड महानगरले हटायो
काठमाडौं । काठमाडौं महानगरभित्र रहेका अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिन २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ । पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए । मध्य क्षेत्रअन्तर्गत पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ । पहिलो दिन पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा गरी २७५ वटा सामग्री हटाइएको थियो । ३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ । एकभन्दा बढी बोर्ड भए, ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको छ । यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन् । उनीहरुले भर्याङ्, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई हेल्मेट, पञ्जालगायत व्यक्तिगत सुरक्षाका साधन उपलब्ध गराइएको छ ।
विराटनगरमा महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार
विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह लोगो प्रयोगमा ल्याउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । छनोटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगद रुपैयाँले पुरस्कृत गरिनेछ । छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ ।