तारकेश्वर नगरपालिकामा २२ करोड खर्च
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा २२ करोड १७ लाख रुपैयाँ खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार रुपैयाँ र पुँजीगत खर्च आठ करोड ४९ लाख रुपैयाँ रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगती बढेको बताए । ‘काठमाडौं भित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ’, उनले भने । तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्षको बजेट दुई अर्ब छ करोड रुपैयाँ रहेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिकामा ११ वडा छन् । रासस
सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरको निर्णय
काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराएकी हुन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिइन् । महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनु भएकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरुमाथि कुनै पनि किसिमको विभेद नहुने पनि बताइन् । ‘महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौं, न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो, कुनै पनि द्वन्द्वको निरुपण गर्ने विधि भनेको मेलमिलाप नै हो, मेलमिलाप गराउनका लागि वडावडामा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ, महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरपण गरिन्छ, अब वडा वडामा एकहप्ता भित्र महिला सञ्जाल गठन गरिसक्न हुन म आग्रह गर्दछु,’ उनले भनिन् । काठमाडौं महानगरपालिकाले यस अघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन् ।
कर नतिर्ने कम्पनीमा ताला लगाउँदै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने ठूला संस्थाहरूलाई कारबाही गर्ने तयारी गरेको छ । महानगरले निश्चित समयको अल्टिमेट दिंदै पत्राचार गरे पनि कर तिर्न अटेर गरेपछि कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । महानगरपालिकाले कर नतिर्ने कम्पनीहरूलाई पुनः एक पटक पत्राचार गरेर तिहार पछि कारबाही गर्ने तयारीमा छ । पत्राचार गरेपछि पनि महानगरलाई कर नबुझाए कारबाही हुने महानगरपालिका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले बताए । यस अघि लामो समयदेखि कर नतिर्ने ठुला तथा साना संस्थालाई महानगरले निश्चित समय दिंदै कर तिर्नको लागि ताकेता गरेको थियो । विभागीय प्रमुख अधिकारीका अनुसार कर नतिरे कम्पनीमा ताला लगाइने छ । समयमा नै कर नतिर्ने कम्पनीलाई रकमको जरिवाना पनि हुने पनि महानगरको भनाइ छ । कर तिर्ने ताकेता गरेपछि महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ असोज सम्मको तुलनामा चालु आर्थिक वर्षको असोजसम्ममा महानगरको राजस्व् करिब दोब्बरले वृद्धि भएको हो । चालु आर्थिक वर्षको असोज महिनासम्ममा २ अर्ब ३५ करोड ८० लाख १८ हजार ३ सय ८५ रुपैयाँ राजस्व संकलन भएको छ । ‘हामीले कारबाही गर्न पनि प्रक्रिया पुर्याउनु पर्छ, सो प्रक्रिया पुर्याएर कारबाही गर्छौं, तिहारपछि केही समय दिएर पत्राचार गर्छौं, हामीलाई कर नतिर्ने कम्पनीलाई ताला लगाउन सक्नेसम्मको अधिकार छ, ताला लगाउने नलाउने भन्न विषयमा महानगरको पनि छलफल हुन्छ,’ उनले भने । कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्न सक्ने व्यवस्था छ । यी हुन् कर नबुझाउने संस्था तथा कम्पनी काठमाडौं महानगरपालिकाले कर बुझाउन पत्राचार गरेर ताकेता गरे पनि धेरै ठूला संघ संस्था कम्पनीहरुले कर बुझाउन बाँकी छ । महानगरपालिका अनुसार कर नबुझाएका कम्पनीलाई पत्राचार गरे पनि उनीहरूले वास्ता नगरको बताएको छ । कतिपय संघ संस्थाहरूले कर नलाग्ने भन्दै सात प्रतिशत कर छुट समेत मागेको महानगरले जनाएको छ । अधिकारीका अनुसार केही कम्पनीहरूले कर तिर्नको लागि थप समय मागेका छन् । महानगरले पत्राचार गरे पनि खाद्य संस्थान, ह्वाईट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाँचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेसनल ट्रेडिङ्ग लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, आर.बि. कम्प्लेक्स र नेपाल सेयर मार्केटले पनि सम्पत्ति कर बुझाउन बाँकी छ । यसै गरी काठमाडौं प्लाजा, शैलेन्द्र राज मानन्धर, काठमाडौं इन्जिनियरिङ कलेज र सिभिल मलले सम्पत्ति कर बुझाउन बाँकी रहेको महानगरपालिकाले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरलाई १९ करोड रुपैयाँ कर बुझाउनु पर्ने भएको छ । यस्तै, क्यासिनो प्याट, र्याडिसन होटल–२, साँग्रिला क्यासिनो, साँग्रिला होटल–३, रोयल र क्यासिनो याक एण्ड यति–१ ले मनोरञ्जन कर तिर्न बाँकी छ । यि हुन् कर बुझाउने २० संस्था काठमाडौं महानगरपालिकाले कर बुझाउनका लागि ताकेता गरेपछि चालु आर्थिक वर्षमा २० वटा संस्थाले भने कर बुझाएका छन् । कुनै संस्थाले थोरै बुझाएर थप किस्ता बुझाउँदै जाने प्रतिबद्धता पनि गरेका छन् । काठमाडौं महानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको असोजसम्म ८६ लाख ४५ हजार १ सय ८९ रुपैयाँ मनोरञ्जन कर संकलन भएको छ । काठमाडौं फन पार्कले १७ लाख ३६ हजार ११, डेल्टीन क्यासिनो होटल म्यारियटले २१ लाख ४२ हजार ३४, क्यासिनो अन्पुर्ण होटलले ११ लाख ८५ हजार ४ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् । यस्तै, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रीएसन हायात होटलले ९ लाख ८९ हजार ४ सय ६०, बाल्को क्यासिनो होटल एलफ्ट–२६ ले २ लाख १० हजार २ सय ५८, माजोङ्ग इन्टरनमेन्ट होटल सोल्टी–२३ ले ९ लाख ९३ हजार ६ सय र बेलीज क्यासिनो मल्ल होटलले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् । मनोजङ्ग इन्टरटेन्मेन्ट होटल सोल्टीले १७ लाख ८५ हजार ५ सय र महावीर प्यालेसले १ लाख १५ हजार गरी जम्मा १९ लाख ५ सय व्यवसायिक कर बुझाएका छन् । यसै गरी महानगरपालिकाले पत्राचार गरे पश्चात् २ करोड ३८ लाख १२ हजार ५९ रुपैयाँ सम्पत्ति करको संकलन गरेको छ । मनमोहन मेमोरियल कलेज एण्ड शिक्षणले ८९ लाख, सिविक हस्पिटल प्रा.लि.ले ८ लाख ३५ हजार ३ सय ८०, नेपाल फाइनान्स लिमिटेडले १४ लाख ७० हजार ४ सय १२, शैलेन्द्र राज मानन्धरले २ लाख ४४ हजार ७ सय २८ र केदारलाल श्रेष्ठ १३ लाख ९२ हजार ७ सय ९१ रुपैयाँ सम्पत्ति कर बुझाएका छन् । यस्तै, कान्तिपुर डेण्टल कलेजले ५२ लाख, सगरमाथा इन्स्योरेन्सले ८ लाख ८ हजार १ सय ४७ हजार, भिजी अटो मोबाइलले ११ लाख ७८ हजार, ८ सय ४७, गोपालजी प्रोपर्टिजले ५० लाख ६६ हजार ७ सय ३ सय, देवेन्द्र लाल श्रेष्ठ १४ लाख ८५ हजार ५१, सिद्धार्थ वनस्थली इन्स्टिच्युट २ लाख रुपैयाँ सम्पत्ति कर बुझाएको छ ।