महानगरले भन्यो : ३० दिनभित्र व्यवसाय दर्ता नगरे बन्द गर्छौं
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सबै व्यवसायीहरुलाई ३० दिनभित्र आफ्नाे व्यवसाय दर्ता गर्न आदेश दिएकाे छ । महानगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै ३० गतेभित्र व्यवसाय दर्ता गर्ने निर्देशन दिएकाे हाे । महानगरले ताेकिएकाे समयमा व्यवसाय दर्ता नगरे बन्द गर्ने चेतावनी दिएकाे छ । ‘महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिनेछ,’ विज्ञप्तिमा भनिएकाे छ ।
घरमै परिचयपत्र पाउँदा हर्षित छन् ज्येष्ठ नागरिक
दमौली । तनहुँको म्याग्दे गाउँपालिका–७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिकरूपमा अपाङ्गता छन् । चार वर्ष अगाडि काम गर्दागर्दै अचानक ढलेका उनी त्यसपछि आफ्नै सहारामा उठ्न सक्नुभएको छैन । उठ्नप¥यो भने उनलाई परिवारको सहारा चाहिन्छ । उनको दैनिक ह्वीलचियरबाट चलिरहेको छ । घरको मूली नै शारीरिक अपाङ्गता भएपछि परिवार चिन्तित छन् । उनले हालसम्म अपाङ्गता परिचयपत्र पाएका थिएन । परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म जान असमर्थ उनलाई गाउँपालिकाले घरमै ल्याएर परिचयपत्र प्रदान गर्दा उनको मुहारमा खुसी छाएको छ । गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरको अवसरमा वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले घरमै पुगेर सार्कीलाई निलो रङको परिचयपत्र प्रदान गरेका छन् । ‘अपाङ्ग भइसकेपछि अपाङ्गता परिचयपत्र बनाउनका लागि जान कोसिस गरेता पनि पालिकाको कार्यालय धेरै टाढा पर्छ, जान आउन पनि समस्या हुँदै आएको थियो’, उनले भने, ‘गाउँपालिकाले घरमै ल्याएर दिँदा राहतको महसुस भयो ।’ अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि सरकारी तवरबाट प्राप्त हुने सुविधा पाउनेमा सार्की विश्वस्त छन् । म्याग्दे–७ स्वामीभञ्ज्याङका ६३ वर्षीया देउमाया भुजेलले घर नजिकैबाट ज्येष्ठ नागरिक परिचयपत्र पाए । ज्येष्ठ नागरिक परिचयपत्र बनाउन एक घण्टाभन्दा बढीको पैदल र सवारीयात्रा गरी गाउँपालिको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको उनले घरदैलोमै परिचयपत्र पाउँदा खुसी लागेको बताए । ‘ज्येष्ठ नागरिक परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म पुग्नुपर्दा समस्या हुँदै आएको थियो’, उनले भने, ‘गाउँपालिकाले घरदैलोमै ल्याएर परिचयपत्र दिँदा सहज भयो ।’ सोही ठाउँका ज्येष्ठ नागरिक रामबहादुर थापा जनप्रतिनिधि तथा कर्मचारीले घरदैलोमा नै ल्याएर परिचयपत्र दिएकामा हर्षित छन् । ‘यो भन्दा ठूलो कुरा हाम्रा लागि के हुन्थ्यो र ? स्थानीय सरकार त भनेको सुनेका थियौँ, व्यवहारमा नै महसुुस भयो’, उनले खुसी हुँदै भने, ‘सेवा लिन गाउँपालिकाको कार्यालयमा धाउनुपरेन, घरदैलोमा पनि पायौँ ।’ वडा कार्यालय टाढा पर्ने र वृद्धावस्थामा हिँडेर जान नसक्ने अवस्था भएकाले घरदैलोमा नै परिचयपत्र पाउँदा राहत मिलेको थापाले बताए । निलो रङको अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि मासिक सामाजिक सुरक्षा भत्तावापत तीन हजार उपलब्ध गराउने प्रावधान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दिए । सोही वडाका ५९ वर्षीय कृष्णबहादुर विकले घरमै कोभिड–१९ विरुद्धको खोप लगाउन पाउँदा खुसी लागेको बताए । ‘खुट्टा काटिएर अपाङ्ग भएर बस्नुपरेपछि खोप लगाउन जान पनि सकेको थिइनँ, सबैले खोप लगाइसके पनि आफू खोप केन्द्रसम्म जान नसक्दा घरमै आएर खोप लगाइदिएको आभारी छु’, उनले भने । जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले आयोजित एकीकृत घुम्ती शिविरका अवसरमा आठ सय २५ जनाले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । विभिन्न वडामा गरी १० जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । ‘स्थानीय सरकार जनताको नजिकको सरकार हो, वडा तथा गाउँपालिकासम्म आएर सेवा लिनुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका नै स्थानीयको घरदैलोमा पुग्ने अभ्यास सुरु गरेका हौँ’, उनले भने, ‘यसले गर्दा सर्वसाधारणलाई राहत मिलेको अनुभूति भएको छ ।’ एकीकृत घुम्ती शिविरका अवसरमा महिला स्वास्थ्य सेवाअन्तर्गत महिलाहरूको पाठेघर परीक्षण, देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेषण एवं परामर्श सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । यसका साथै एकीकृत घुम्ती शिविरमा परिवार नियोजन परामर्श सेवा, कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा प्रदान गरिएको छ । बहिरङ्ग सेवाअन्तर्गत बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवाअन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमूना सङ्कलन, औलो रोगको परीक्षण हुनेछ । जन्म, मृत्यृ, बसाइँसराइको सेवा घुम्ती शिविरबाटै प्रदान गरिएको छ । प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता, राजस्व सङ्कलन, मालपोत तथा भूमिकर सङ्कलन सेवा प्रदान गरिएको छ । कृषि तथा पशुशाखाअन्तर्गत बीउबिजन वितरण एवं कृषि अनुदान माग सङ्कलन, गोबर परीक्षण र नतिजाको आधारमा पशुपक्षीलाई औषधि वितरण, बाख्रा, पाठालाई बन्ध्याकरण, पशुको उपचार सेवा प्रदान गरिएको छ । गत असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्मको दोस्रो चरणको शिविर वडा नं ५, ६ र ७ मा सञ्चालन हुनेछ । यसअघि पहिलो चरणको शिविर असोज २ गतेदेखि असोज २८ गतेसम्म वडा नं १, २, ३ र ४ मा सम्पन्न भइसकेको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताए । ‘स्थानीय सरकार जनताको घरमा पुग्नुपर्छ भन्ने मान्यतासहित यो शिविर सुरु गरिएको हो, घरदैलोमा जाँदा आम जनतासँग साक्षात्कार पनि हुन्छ, समस्या पनि सुन्न पाइन्छ’, उनले भने ।
थापाथली वरिपरिका अनधिकृत संरचना हटाउन सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो । यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो । त्यसबेला विभिन्न समूहको दबाबमा काम रोकिएकामा अहिले काठमाडौँ महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिए । त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ । थापाथली क्षेत्रमा सुकुम्वासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ । सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन् । राजधानीमा सुकुम्वासीका नाममा नदी किनारका सार्वजनिक जग्गा कब्जा गर्नेले सबैभन्दा बढी नदी प्रदूषित बनाउँछन् । सुकुम्वासीलाई इचङ्गुनारायणमा आवासीय भवन निर्माण गरेको वर्षौँ बिते पनि सर्न मानेका छैनन् । राजधानीको मुटुमा रहेको नदी किनारमै बस्न पाउनुपर्ने माग सुकुम्वासीका नाममा हुँदै आएको छ ।