सरकारी कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने

कुश्मा । पैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नियम ल्याउन लागेको छ । गाउँ शिक्षा समितिको बैठकले आगमी शैक्षिक सत्र २०८० देखि सरकारी विद्यालयमै पदाधिकारीका छोराछोरीलाई पढाउन पठाउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले बताए । उनका अनुसार सरकारी सुविधा लिएर छोराछोरी निजीमा पढाउनेको सुविधा रोक्का गर्नेसम्मको निर्णय भएको छ । ‘सरकारी सुविधा लिएर निजीमा छोराछोरी पढाउँदा सामुदायिकप्रतिको चासो घट्ने र गुणस्तरसमेत खस्किने निष्कर्षसहित यस्तो निर्णय गरिएको हो ।’, शिक्षा अधिकृत लामिछानेले भने,’आउँदो शैक्षिक सत्रदेखि निर्णय लागू गर्ने सहमति भएको छ । सहमति कार्यान्वयनमा अटेरी गर्नेको सरकारी सुविधा रोक्का गर्नसकिने निर्णयमा उल्लेख छ ।’ गाउँ शिक्षा समितिले गरेको निर्णय कार्यपालिकाबाट पारित गराएपछि कार्यान्वयनमा लैजाने गाउँपालिकाको तयारी छ । प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार निर्णय अनुसारको कार्ययोजना बनाएर सामुदायिक विद्यालयको शैक्षिक सुधारमा अहिलेदेखि नै सर्वपक्षीय तयारी थाल्ने शिक्षा समितिको निर्णय छ । निजी विद्यालयले ग्रामीण क्षेत्रका भित्री बस्तीसम्म सवारीसाधन पु¥याएर विद्यार्थी बटुल्न थालेपछि सामुदायिक विद्यालय सङ्कटमा पर्दै गएका छन् । यो अवस्थालाई रोक्न सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राज मल्लले बताए । त्यसबाहेक शैक्षिक र सचेत व्यक्तिले नै निजी विद्यालयमा बालबालिका पढाउँदा सामुदायिकप्रतिको चासो घट्दै गएकोले सचेत नागरिकलाई सामुदायिक विद्यालयको महत्व बुझाउन पनि यो निर्णय गर्नुपरेको उनले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष नै संयोजक रहने समितिमा कार्यपालिका सदस्य, दुई माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षाप्रेमी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेत नौजना रहने व्यवस्था छ । गाउँ शिक्षा समितिले गरेको यो निर्णय गर्न पाउने व्यवस्था पैयूँ गाउँ पालिकाको गाउँ शिक्षा ऐनमासमेत व्यवस्था गरिएको छ । ऐनको दफा १६ मा भएको व्यवस्था बमोजिम नै यो निर्णय गरिएको शिक्षा अधिकृत लामिछानेले बताए । रासस

कञ्चनपुरको महेन्द्रनगर जलमग्न

दोधारा चाँदनी । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् । महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ । बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमैै डुबानमा पर्न थालेको यहाँका व्यवसायी बताउँछन् । यहाँका व्यवसायी यज्ञराज जोशीले पसल अगाडि जलमग्न हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । ‘ढल निकास नहुँदा मुख्य बजार नै डुबानमा पर्न थालेको छ’, उनले भने, ‘पालिकाले ढल व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।’ भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताए । उनले एशियाली विकास बैंक एडिबीको सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाउने योजना निमार्णका क्रममा रहेकाले पनि बजार क्षेत्रमा डुबानमा परेको बताए । ‘व्यवस्थित ढलसहितको आधुनिक सहर बनाउने योजनाअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ’, उनले भने, ‘निमार्ण कार्य सम्पन्न भएपछि यो समस्याको समाधान हुन्छ ।’ वर्षाले यहाँका बस्ती जलमग्न भए पनि अहिलेसम्म कुनै घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘अहिलेसम्म ठूलो समस्या भएको सूचना आएको छैन ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले भने, ‘निरन्तर वर्षा भइरहेको छ, सबैले सचेत भएर बस्न जरुरी छ ।’ रासस

चन्द्रागिरी नगरपालिकाले पहिरोको कारण मृत्यु भएको परिवारलाई तत्काल ५० हजार दिने

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ । अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी छन् । चन्द्रागिरी नगरप्रमुख घनश्याम गिरीले आज बिहान घटनास्थलको अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् । उनले भने, ‘पहिराले थप क्षति हुन नदिन स्थानीय क्षेत्रमा अवरुद्ध बाटो खुलाउने काम भइरहेको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपालिकाले सचेतना जगाउने काम गरिरहेको छ ।’ नगरप्रमुख गिरीले पहिरामा पुरिएकाको शव निकालिएको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए । स्थानीयवासीका अनुसार ध्यान केन्द्रमा बसेका श्रेष्ठ परिवार दमका रोगी रहेका बताइएको छ । रासस