टुकुचाको सुरुङ राणाकालमै बनेको प्रमाणहरु भेटिए
काठमाडौं । पुरातत्व विभागले टुकुचालाई भूमिगत गर्न बनाइएको सुरुङ कम्तिमा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालमा बनेको पुष्टि हुने थप प्रमाणहरु पत्ता लगाएको छ । महानगरले टुकुचा खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएपछि उनीविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएका थिए । महानगरले जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला रेखांकन गरिदिन नापी विभागलाई पत्राचार गरेको थियो । मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्ने समिति गठन गरेको थियो । जसले अध्यन गर्दै जाने क्रममा महानगरले सुरुङ खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा ‘श्री(३ वीर’ लेखेको भेटाएको समितिका एक सदस्यले बताएका छन् । यसअघि नै टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीर शम्शेरले बनाउन लगाएको कागजी प्रमाणहरु सार्वजनिक भएका थिए । तर, महानगरपालिकाले खोला अतिक्रमण गरेर बनाइएको भन्दै त्यसलाई खुला गर्न ठाउँ(ठाउँमा डोजर चलाएको थियो ।
बानेश्वर प्लाजमा अन्डरग्राउण्ड पार्किङ संचालन
काठमाडौं । नयाँ बानेश्वरस्थित बानेश्वर प्लाजाले अन्डरग्राउण्ड पार्किङ निर्माण गरी संचालनमा ल्याएको छ । प्लाजाले शुक्रबार उक्त अन्डरग्राण्ड पार्किङस्थल उद्घाटन गरी संचालनमा ल्याएको हो । प्लाजामा निर्माण भएको अण्डरग्राउण्ड पार्किङले नयाँ बानेश्वरको ८० प्रतिशत पार्किङको समस्य समाधान गर्ने नयाँ वानेश्वर व्यापारी संघका नविन लुईंटेलले बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यापारिक प्रयोजनका लागि बनाइएका भवनहरुमा अन्डरग्राउन्ड पार्किङ अनिवार्य हुनुपर्ने अभियान चलाएपछि काठमाडौंको विभिन्न स्थानमा पार्किङ स्थलहरु बन्न थालेको छ ।
काठमाडौं महानगरले गएको वर्षको तुलनामा २९.८५ प्रतिशत बढी राजस्व उठायो
काठमाडौं । गएको आर्थिक बर्षको असोज ५ गतेसम्मको तुलनामा यस आर्थिक वर्षको असोज ५ गतेसम्ममा काठमाडौं महानगरपालिकाको २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस अवधिमा गएको वर्ष १ अर्व २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्व ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको छ । यो ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी हो । विगत वर्षहरुमा अटेर गरेर कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि यस वर्ष राजस्व संकलनको मात्रामा वृद्धि भएको हो । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन्, ‘गएको वर्षहरुमा पनि पत्राचार भएको हो, तर, करदाताले टेरेका थिएनन् ।’ यस अघि मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक वर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरेका छन् । यसैगरी, करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर तिरेका छन् । यस्तै, बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीले बताए । पत्राचार गरिएकामध्ये व्यवसाय करतर्फ १८ लाख रुपैयाँ कर असुली भएको छ । नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ । यसमध्ये विद्युत प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्ने डा. अधिकारीले बताएका छन् ।