ललितपुरले अवैध संरचना हटाउन दियाे ३५ दिनको अल्टिमेटम

काठमाडौं । ललितपुर महानगरपालिकाले नक्सा विपरितका अवैध संरचनाहरु हटाउन ३५ दिनेको अल्टिमेटम दिएको छ । महानगरपालिकाले सूचना जारी गर्दै ३५ दिनभित्र सबै अवैध संरचनाहरु हटाउन निर्देशन दिएको हो । सूचनामार्फत महानगरपालिकाले सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका सबै संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । ३५ दिनभित्र त्यस्ता संरचनाहरु नहटाए महानगर आफैले त्यस्ता संरचना हटाउने जनाएको छ ।

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार फेरी डोजर चलाएको छ । महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा फेरी डोजर चलाएको हो । पाटन जिल्ला अदालतले टुकुचामाथिको अनधिकृत संरचना नहटाउन आइतबार आदेश दिएको थियो । तर महानगरले अदालतको आदेशबारे केही जानकारी नआएको जनाएको छ । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक, सिद्धार्थ बैंक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो । महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ । काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए । उनले महानगरपालिका विकासका लागि अघि बढीसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए । ‘आदेश भएर नै हामी आएको हो, अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो, महानगर चीनको देख्नुभएको छ ? हामी चिनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ, त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ, रातारात काठमाडौं चेन्ज गर्नुपर्छ, अब सुत्ने होइन, उठ्ने बेला हो,’ उनले भने ।  

भरतपुर महानगरमा दुई हजार युवालाई निःशुल्क उद्यमशीलता तालिम

चितवन । भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ । यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवद्र्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा प्रवद्र्धन नीति तथा कार्यक्रमबमोजिम सैलुन, प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभिङ र मागमा आधारित ‘मेयर उद्यमशीलता’ तालिम दिन लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम छ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिएकी छिन् । युवाले इच्छा गरेअनुरुप महानगरपालिकाले प्राविधिक तालिम प्रदान गरिने जनाइएको छ । प्रमुख दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको बताइन् । महानगरपालिकाले चालु आवमा युवालाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवद्र्धन गर्न रुपैयाँ एक करोड ५० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिइन् । रासस