काठमाडौंमा अब साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध
काठमाडौं । काठमाडौं महानगरपालिकाले साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरपालिकाले ठेलागाडा वा साइकलमा सामान राखेर व्यापार व्यवसाय गर्न रोक लगाएको हो । महानगरले सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्यले सार्वजनिक आवागमनमा बाधा अवरोध पुगेको बताएकाे छ । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ)वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ,’ सूचनामा भनिएको छ ।
बालेनको निर्णयमा गृहको असहयोग, सुकुम्बासी बस्ती तत्काल नहट्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाको थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना हटाउन अभियानमा सरकारले तत्कालकै नसघाउने भएको छ । बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको छ । गृहले लेखेको जवाफी पत्रमा महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने उल्लेख छ । ‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ, उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारीसहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ,’ पत्रमा उल्लेख छ ।
७ महिनादेखि नगरपालिकाका कर्मचारीले पाएनन् तलब भत्ता, सबै सेवा बन्द
महेन्द्रनगर (धनुषा) । धनुषाको एक नगरपालिकाका कर्मचारीले तलब भत्ता नपाएपछि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले नियमित खोपका कार्यक्रमसमेत पूर्णरुपमा बन्द गरेका छन् । नगराइन नगरपालिकाका जनप्रतिनिधिबीच विवाद भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पारित हुन सकेको छैन । दुई महिनादेखि नियमित खोप कार्यक्रम प्रभावित भएका कारणले बालबालिकामा प्राणघातक रोगको जटिलता आउने खतरा रहेको स्वास्थ्य कार्यालय धनुषा प्रमुख जुगलकिशोर यादवले बताए । करिब सात महिनाको तलब भत्ता नपाएका कर्मचारी तलब भत्ताको माग गर्दै आन्दोलनमा उत्रेपछि सो नगरपालिकामा सबै प्रकारका नियमित खोप सेवा बन्द भएको नगराइन नगरपालिका–७ का वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए । नगरपालिकामा रहेका सबै प्रकारको खोप सेवा प्रभावित भएका कारणले जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई दिइने विभिन्न प्रकारको नियमित खोप सेवा बन्द भएका छन् । स्वास्थ्य कार्यालय धनुषा प्रमुख यादवका अनुसार क्षय रोगबाट शिशुलाई जोगाउनका लागि विसिजि, पेन्टा, पोलियो, एफआईटिभी, निमोनियाको पिसिभि, दादुरा रुवेलासहितका १३ प्रकारका खोप दिने गरिन्छ । नगरपालिकामा कर्मचारी हड्तालमा उत्रेका कारणले अत्यन्तै संवेदनशील खोप कार्यक्रम बन्द भएको र यसले बालबालिकाको स्वास्थ्यमा समस्या आउने खतरा रहेको स्वास्थ्य कार्यालय धनुषा प्रमुख यादव बताउँछन् । शिशुहरूलाई समयमा खोप दिएको खण्डमा प्राणघातक रोगबाट जोगाउन सकिने भएकाले नियमित खोजजस्ता कार्यक्रम रोक्ने अवस्था आउन नहुने बाल विशेषज्ञ डा जामुनप्रसाद सिंहको भनाइ छ । समस्या समाधानका लागि पटकपटक प्रयास गर्दा सफल नभएका कारण खोप जस्तो संवेदनशील विषय बन्द हुनु चिन्ताको विषय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए । स्थानीय राजकिशोर यादवले गुनासो पोख्दै भने नगराइन नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुखका बीचमा योजनाको सञ्चालन तथा अनुगमनसहितको विषयमा नीतिगत विवाद भएका कारणले बजेट कार्यक्रम पास हुन सकेको छैन । प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक डा केडी दासले भने सबैभन्दा बढी स्थानीयलाई आर्थिक समस्या र गाउँबाट अर्को ठाउँमा औषधि वा कुनै उपचार गराउन जानमा कष्ट हुने बताए । रासस