छ महिनामा तनहुँको विकास बजेट मात्र ६.३७ प्रतिशत खर्च

दमौली । तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च न्यून देखिएको छ । चालू आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ ६.३७ प्रतिशत मात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । पूँजीगततर्फ सङ्घीय सरकारमार्फत तीन अर्ब १५ करोड १२ लाख ३८ हजार तीन सय ९० विनियोजन भएकामा यस अवधिमा २० करोड नौ लाख १९ हजार चार सय ६३ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । त्यस्तै चालूतर्फ ३८.७६ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ आठ अर्ब ३८ करोड ७४ लाख १४ हजार सात सय ३८ विनियोजन भएकामा चार अर्ब २७ करोड २४ लाख ६० हजार ९९ खर्च भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पूँजीगततर्फ १०.५४ प्रतिशत बजेट खर्च भएको छ । छ महिनाको अवधिमा सङ्घ सरकारभन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका छन् । पूँजीगततर्फ दुई अर्ब ६० करोड तीन लाख ३१ हजार विनियोजन भएकामा २८ करोड ३६ लाख ३५ हजार छ सय १३ खर्च भएको कार्यालयले जनाएको छ । त्यस्तै, चालूतर्फ ८२ करोड ७१ लाख तीन हजार ६७ विनियोजन भएकामा १२.३१ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा सुरुका केही महिनामा काम ढिला हुने गरेकाले कम खर्च देखिने बताइएको छ । अन्य महिनामा भन्दा असार महिनामा धेरै बजेट खर्च हुने गरेको भट्टराईको भनाइ छ । रासस

घरदैलोमै नगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क स्वाथ्य जाँच, गाउँघरमै पुगेर वृद्धाभत्ता, निःशुल्क स्वास्थ्य सेवा र ज्येष्ठ नागरिक तथा दम, मधुमेह, उच्च रक्तचापका बिरामीका लागि निःशुल्क औषधी दिँदै आएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए। ‘घरदैलामै पुगेर एकीकृत सेवा प्रवाह गर्दैआएका छौँ, पालिकाभित्रका सुत्केरी र गर्भवतीको मोबाइलमा एसएमएस एलर्ट सेवा प्रदान गर्ने गरिएको छ,’ उनले भने । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गरिएको छ । नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बीमा गरेको छ । ‘नगरपालिकाले नै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकको बीमा गरिदिएको छ’, शाहीले भने। नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले घुम्ती सेवामार्फत एकीकृत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए । ‘हामीले यो कार्यक्रमअन्तर्गत स्वास्थ्य, आयुर्वेद, पञ्जीकरणलगायतका अन्य काममा नागरिकको घरमा नै सेवा दिने गरेका छौँ, यो कार्यक्रम प्रत्येक महिनाको एक दिन नगरपालिकाका नौवटै वडामा सञ्चालन हुन्छ,’ उनले भने ।

अन्नपूर्ण गाउँपालिकाले रोयल्टीबापत आठ करोड पाउने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनावाट गाउँपालिकाले चालु आर्थिक वर्षमा आठ करोडभन्दा बढी विद्युत रोयल्टी पाउनेभएको छ । छ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विजुली एक वर्षदेखि केन्द्रीय प्रशासरण लाइनमा जोडिएको छ । कूल ७१ मेगावाटको निलगिरि क्यास्केट, ३८ मेगावाटको निलगिरी खोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधीन छन् । निलगिरि १ र २ दुवैले चालु आर्थिवर्षमा निर्माण सक्ने लक्ष्य लिएका छन् । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माका अनुसार वित्त आयोगबाट विद्युत् रोयल्टी वापत ८ करोड रुपैयाँभन्दा बढी, वन रोयल्टी विनियोजन भएको पत्र गाउँपालिकामा प्राप्त भएको छ । त्यसका साथै पर्यटनबाट ४० हजार रुपैयाँभन्दा बढी रोयल्टी विनियोजन भएको पत्र पनि पालिकालाई प्राप्त भएको उनले जानकारी दिए । नारच्याङमा सञ्चालित जलविद्युत् आयोजनाबाट पाँच सयभन्दा बढी स्थानीयले रोजगारी पाएका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । उनका अनुसार विद्युत् आयोजनाले स्थानीय तीन वटा विद्यालयका शिक्षकको तबल भत्ता, अन्य खेलकुद मैदानसमेत पूर्वाधारमा सहयोग, आमा समूह, युवा क्लबलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । जलविद्युत् आयोजनाबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औषत वार्षिक दुई करोड रुपैयाँ पनि यही वडाभित्र खर्च हुनेगरेको उनले जानकारी दिए । यसअघि निर्माण सम्पन्न भएको मिस्त्रीखोलाबाट पनि वडाले मनग्य सामाजिक क्षेत्रमा सहयोग पाएको उनले बताए । ‘जलविद्युत् आयोजनाकै कारण गाउँको विकासमा सहयोग पुगेको छ, स्थानीयले रोजगारी पनि पाएका छन्’, उनले भने ।