होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह
विराटनगर । नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह छ । विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरुलाई बोलाएर महानगरले छलफल गरेपछि सो आग्रह गरेको हो । महानगर प्रमुख नागेश कोइरालाले यो अभियानमा साथ दिन व्यवसायीलाई आग्रह गरे । ‘सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई व्यवस्थित बनाउन सकिन्छ’, उनले भने । प्रमुख कोइरालाले बढीभन्दा बढी कर सङ्कलन नभएसम्म महानगरवासीको विकासको चाहना पूरा गर्न गाह्रो पर्ने भन्दै उनले भने, ‘करको दर बढाएको छैन । हामीले दायरा मात्रै बढाउन अभियानमा छौँ’, नगरमा धेरै होटल, रेष्टुरेन्ट र मदिरा पसलहरु महानगरमा दर्ता नगरीकनै सञ्चालन गरेको पाइएको उहाँको भनाइ थियो । उपप्रमुख शिल्पा निराला कार्कीले कानुनी रुपमा बलियो भएर व्यवसाय सञ्चालन गर्दा कसैसित पनि डराउनु नपर्ने बताए । उनले अनुगमनमा पुग्दा सबै कागजपत्र दुरुस्त बनाएर राख्दा व्यवसायीकै प्रतिष्ठा बढ्ने कुरामा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सबै व्यवसायलाई करको दायरामा ल्याउने गरी काम भइरहेको बताए । सो छलफलमा उपस्थित व्यवसायीले गुनासो पोखेका थिए । होटल र रेष्टुरेन्ट अगाडि नै मादक पदार्थ सेवा सम्बन्धी जाँच गरिदिँदा पसलको सटर लगाउनुपर्ने अवस्था आएको बताए । होटल व्यवसायी खिलकुमार सुवेदीले कोरोनाका कारण सुस्ताएको व्यवसाय अझै माथि उठ्न नसकेको गुुनासो सुनाए । ‘ग्राहक नआउँदा होटलका टेबल र कोठा खाली छन्’, उनले थपे, ‘यस्तो अवस्थामा हामीले कसरी कर तिर्नु ?’ उनले किराना पसलहरुले पनि मदिरा बिक्री गरिरहेको जानकारी दिए । मदिरा व्यवसायी सङ्घ मोरङका पूर्वाध्यक्ष अंशु बञ्जराले विराटनगरको विकासका लागि जतिसुकै पनि कर तिर्न तयार रहेको प्रतिक्रिया दिए । उनले घरेलु मदिराको बिक्री नियन्त्रण गर्न नसकेको गुनासो पोख्दै महानगरले मदिराको लाइसेन्ससमेत नदिएको गुनासो गरे । होटल तथा पेयपदार्थ व्यवसायी सङ्घ मोरङका अध्यक्ष सुरज श्रेष्ठले निश्चित समयसम्म जरिवाना छुट दिएर करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले विद्यालय र मन्दिर छेउ मदिरा बिक्री वितरण रोक्न आफूहरुले स्थानीय प्रशासनलाई सहयोग गर्ने धारणा राखे । पसल आगाडि पार्किङ निषेध गर्दा ग्राहक आउन छाडेको व्यवसायीहरुको गुनासो थियो । मदिरा व्यवसायीलाई करको दायरामा ल्याउन महानगरले आगामी फागुन मसान्तसम्म दर्ता र नवीकरणका लागि शत्प्रतिशत जरिवाना छुट गर्ने राजस्व महाशाखाप्रमुख सरोज गौतमले जानकारी दिए । रासस
विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका
चितवन । विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ । उनले भने, ‘पहिलो वर्षका लागि यस कार्यक्रममा एक करोड रुपैयाँ विनियोजन भएको छ । हिउँदे अधिवेशनमा यसको बजेट बढाएका छौँ ।’ यस वर्षमा निर्माण गरिने भनिएका घरहरूमध्ये मङ्सिर मसान्तसम्म ३२ वटा घरको निर्माण सम्पन्न भई रकम भुक्तानीसमेत भइसकेको उनले जानकारी दिए । अहिले आठवटा घर निर्माणको क्रममा छन् । घर निर्माणका लागि नगरपालिकाले प्रतिघर दुई लाख रुपैयाँ विनियोजना गरेको छ । निर्माणका लागि दुई लाख १५ हजारदेखि दुई लाख २५ हजार रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ । अन्य रकम घरधनीले श्रमदान गर्नुपर्ने उनले बताए । जग्गा भएर पनि घर निर्माण गर्न नसकेका विपन्न परिवारका लागि नगरपालिकाले वडाको सिफारिस र स्थलगत अनुगमनपछि घर निर्माणको काम अगाडि बढाउने गरेको छ । घर दुईकोठे जस्ताको छानो भएको हुने उनले जानकारी दिए । नगरपालिकाभित्र रहेका १३ वटा वडामध्ये वडा नं १०, ११, १२ र १३ मा यस्ता परिवार धेरै रहेका छन् । उनले भने, ‘जग्गा भएर पनि घर बनाउन नसकेकाहरूका लागि स्थानीय सरकार छ भन्ने आभास दिलाउनका लागि हामीले काम सुरु गरेका छौँ ।’ पालिकामा चेपाङ, तामाङ समुदायको बसोबास बाक्लो छ । राज्यको दायित्वभित्र गाँस, बास र कपास पर्ने भन्दै उनले सुरुआती चरणमा बासको व्यवस्थापन गर्न लागिएको बताए ।
गाउँमै स्वास्थ्य सेवाको पहुँच
बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नुपर्ने अवस्था थियो । गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी–झाँक्रीकहाँ पुग्ने गर्थे । गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् । तर अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका ७ वडामा ७ स्वास्थ्यचौकी, ४ स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा १/१ वटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । ठाउँ–ठाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि निकै सहज भएको स्थानीय पुतली थापाले बताइन्। उनले गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ लगाएर ऋण खोजेरै बागलुङ पुग्ने गरेको अनुभव सुनाइन्। गाउँपालिकाले आफूहरूको समस्या बुझेको उनी बताउँछिन् । ‘ज्वरो आयो भने, हातखुट्टामा चोट लाग्यो भने पनि बागलुङ बजारमै पुग्नुपथ्र्यो, अहिले साना–तिना बिरामी यही गाउँमै उपचार हुन्छ, यहाँ उपचार गराउन पाउँदा खुसी लाग्छ, अब पहिलेको जस्तो बागलुङ बजारै जान नपर्ने भयो, सरकारले हाम्रो समस्या बुझेछ,’ उनले भनिन् । गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यानसमेत गुमाउने गरेको जनाउँदै अहिले बिरामी हुँदा बित्तिकै स्वस्थ्यचौकी पुगेर जाँच गर्ने र ठूलो उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान स्वास्थ्यकर्मीले सुझाउने हुँदा समयमै उपचार पाउने गरेको उनको भनाइ छ । पहिले–पहिले स्थानीयवासी बिरामी हुँदा अस्पताल जानुको सट्टा धामी–झाँक्री खोज्न जाने गरेको स्मरण गर्दै अहिले धेरैजसो बिरामी पर्दा साथ अस्पताल जाने गरेको उनले सुनाइन्। नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए। नागरिक बिरामी परे घण्टौँ लागेर स्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही रूपमा सहज गराउनका लागि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनको भनाइ छ । ‘काठेखोलाका धेरैजसो गाउँमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको थिएन, नागरिक सामान्य उपचारका लागि पनि बागलुङ, पोखरा जानुपर्ने अवस्था थियो, यहाँको समस्यालाई मध्यनजर गरी पालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिन थालेका छौँ, अब नागरिकलाई सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ,’ थापाले भने । गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यचौकीको स्तरवृद्धि गर्ने र आधुनिक उपकरण तथा औषधि व्यवस्थापनमा जोड दिएको उापाध्यक्ष थापाको भनाइ छ । पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिक अहिले १५ मिनेट आउन सक्ने भएको उनले बताए। आफूहरू निर्वाचित भएर आएपछि वडा नं ८ मा कादेस स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको उनको भनाइ छ । ‘हामीहरू नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्य संस्थामा आवश्यक उपकरण जडान, औषधि र दक्ष जनशक्ति व्यवस्थापनमा लागिरहेका छौँ, पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्ने बिरामी अब बढीमा आधा घण्टामै उपचार गराउन पुग्नुहुने छ, स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउने अभियानमा हामीहरू छौँ,’ उनले भने। गाउँपालिका स्थापना हुनु पहिले सातवटा स्वास्थ्यचौकी थिए । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले गाउँपालिकाले केही स्वास्थ्यचौकीबाट एक्सरे सेवासहित ल्याब सेवा पनि सञ्चालनमा ल्याएको बताए। अहिले सातवटै स्वास्थ्यचौकीमा ल्याब लेखानी र रेश स्वास्थ्यचौकीमा ल्याबसहित एक्सरे सेवा रहेको उनको भनाइ छ । उनका अनुसार सातवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ३ वर्षदेखि शून्य ‘होम डेलिभरी’ पछिल्लो ३ वर्षयता काठेखोला गाउँपालिकामा होम डेलिभरी शून्य छ । नागरिकस्तरमा चेतनाको अभिवृद्धि र पालिको प्रभावकारी कार्यक्रमले गर्दा काठेखोलामा शून्य होम डेलिभरी हुन सफल भएको स्वास्थ्य संयोजक रामचन्द्र लामाले बताए। गर्भवती नियमित गर्भ परीक्षण गर्न आउने र उनीहरूलाई स्वास्थ्यकर्मीले परामर्श दिइराखेको उनको भनाइ छ । ‘काठेखोला ग्रामीण क्षेत्र हो, पहिले यहाँका नागरिक कम शिक्षित र जनचेतना पनि वृद्धि हुनसकेको थिएन, सरकारको ‘नीति’ उनीहरूसमक्ष पुगेको थिएन, तर अहिले सरकारका हरेक कार्यक्रम नागरिकसम्म पुगेको छ, गर्भवतीलाई पनि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने ज्ञान बढेपछि होम डेलिभरी शून्य भएको हो जस्तो लाग्छ,’ उनले भने । दीर्घरोगीलाई मासिक ५ हजार भत्ता गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगीलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । पालिकाले दीर्घरोगीको लगत सङ्कलन गरी उनीहरूको जीवन निर्वाहमा टेवा पु¥याउनका लागि हरेक महिना ५ हजार भत्ता प्रदान गर्ने व्यवस्था गरेको गाउँपालिकाका प्रवक्त टीकासङ्गम विकले जानकारी दिए। ‘बिरामी धेरैथरि हुनुहुन्छ, पहिले चरणमा गाउँपालिकामा जो नागरिक दीर्घरोगी छ, पहिचान गरेर उहाँहरूको जीवन निर्वाहमा सानो भए पनि राहत पुगोस् भन्ने हिसाबले हामीले यो कार्यक्रम सञ्चालन गर्न थालेका हौँ, यसलाई पनि यो समस्या पर्न सक्छ, हामीले उहाँहरूलाई स्थानीय सरकारले थोरै भए पनि आभास गराउनु छ, दुःख, सुखमा साथ दिनु छ,’ उनले भने । रासस