विकास सहायता कार्यक्रमका लागि २०४ आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते कामपाले सार्वजनिक सूचना प्रकाशन गरेको थियो । उक्त सूचनाका आधारमा १० क्षेत्रगत कार्यक्रमका लागि ती प्रस्ताव पेस भएका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेलले जानकारी दिन । महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो । यो कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ । एक करोड विनियोजन भएको खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई सहयोग कार्यक्रमका लागि २६ प्रस्ताव आएका छन् । यसैगरी लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसाविरुद्धको अभियान, अपाङ्गताका क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य, विभिन्न स्रष्टाको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदानलगायतका लागि रकम विनियोजन गरिएको छ । आएका प्रस्तावमध्ये कार्यक्रमको प्रकृति, लक्षित वर्ग, भौगोलिक अवस्थाजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा अपुग भएका क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी थप काम अघि बढाउने कामपाले जनाएको छ ।

आँबुखैरेनीमा १५ शय्याको अस्पताल सञ्चालनमा

तनहुँ । जिल्लाको पूर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिकाले पन्ध्र शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालन भएसँगै गाउँपालिकाका नागरिकलाई उपचारमा सहज भएको छ । गण्डकी प्रदेशकै पहिलो इएचआर इलेक्टोनिक्स हेल्थ रेकर्ड प्रविधि जडित अस्पतालबाट सेवा दिन थालिएकाले यहाँका बासिन्दालाई उपचारमा सहज भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘गाउँपालिकाले अस्पतालमा सञ्चालनमा ल्याएको करिब एक महिनाको अवधिमा प्रविधिमैत्री बनाइएको हो । अबको दुई महिनापछि शल्यक्रिया सेवासमेत उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘पेपररहित कार्यले बिरामीले कागजको भारी बोकेर अस्पताल धाउनुपर्ने समस्या अन्त्य हुने विश्वास लिएका छौँ ।’ भिडियो एक्सरे, एक्सरे, ल्याब परीक्षणको रिर्पोट र चिकित्सकले रिर्पोटको आधारमा लेखिदिएको औषधिसमेत सबै जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको अस्पताल प्रशासन शाखाका प्रमुख मुकेशकुमार शाहले जानकारी दिए । नयाा प्रविधिसहित सबै कोठामा कम्प्युटर जडानका लागि पचास लाख खर्च भएको गाउँपालिका कार्यालयले जनाएको छ । कर्मचारीलाई उक्त प्रविधि सम्वन्धी तालिम प्रदान पश्चात् प्रयोगमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले बताए ।

पूर्वाधार निर्माणमा महानगर र एनआरएनबीच हातेमालो

पोखरा। पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, चमेनागृह जस्ता आधारभूत सहरी पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका र गैरआवसीय नेपाली सङ्घ (एनआरएन) बीच सहकार्य अघि बढेको छ । पर्यटक र सर्वसाधारणको सुविधालाई हेरेर पोखरा–९ महेन्द्रपुलमा आधुनिक शौचालय निर्माणका लागि महानगर र एनआरएनबीच सम्झौता भएको छ । शौचालयसहित चमेनागृह र स्तनपान कक्षका लागि रु एक करोड खर्च लाग्ने जनाइएको छ । जसमा ६० प्रतिशत लगानी एनआरएन र ४० प्रतिशत महानगरको रहनेछ । महानगरप्रमुख धनराज आचार्यले तीन महिनाभित्रैमा काम सक्ने लक्ष्यसहित निर्माण अघि बढ्ने बताए । आधुनिक सार्वजनिक शौचालयले नागरिकलाई सहज सेवा पुग्नुका साथै वातावरणीय स्वच्छता प्रवद्र्धनमा पनि टेवा पुग्ने उनको भनाइ छ । अत्याधुनिक सुविधासहित बन्ने शौचालयमा सेनेटरी प्याडसमेत उपलब्ध हुने जनाइको छ । महेन्द्रपुलमा रहेका जीर्ण संरचना हटाएर सोही स्थानमा चमेनागृहसहितको सार्वजनिक शौचालय बनाउन लागिएको हो । एनआरएनका कार्यकारी अध्यक्ष रविना थापाले नागरिकको दैनिक सेवासँग जोडिएको आधुनिक सार्वजनिक शौचालय निर्माणमा महानगरसँगको सहकार्यले आफूहरु उत्साहित बनेको बताए । उनले सहरी पूर्वाधार र स्वच्छता प्रवद्र्धनका अन्य योजनामा पनि महानगरसँग हातेमालो गर्न एनआरएन तयार रहेको उल्लेख गरे । सम्झौताअनुसार महानगर र एनआरएनको संयुक्त लगानीमा महेन्द्रपुलको उत्तरतर्फ पाँच आना क्षेत्रफलमा सार्वजनिक शौचालय र चमेनागृह बन्नेछ । उक्त योजनामा एनआरएनले ६० लाख र महानगरले ४० लाख बराबरको खर्च व्यहोर्नेछ । पोखराका १५ स्थानमा महानगरले बनाएका र ६० बढी स्थानमा साझेदारीमा निर्माण गरिएका सार्वजनिक शौचालय छन् । रासस