सिञ्जा गाउँपालिकामा इन्टरनेट सेवा विस्तार
जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–४ मा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भई सञ्चालनमा आएको छ । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि सिञ्जाका बासिन्दादेखि स्थानीय तहलाई काम गर्न राहत पुगेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । इन्टरनेट सेवा नहुँदा यहाँका नागरिकलाई निकै सकस भएको थियो । अध्यक्ष धितालले भने, ‘फोरजी विस्तारले श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जनलगायत विविध सेवा प्रवाहमा सुधार हुने अपेक्षा राखिएको छ ।’ गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउनका लागि मात्रै नभइ देश तथा विदेशका समसामयिक घटनाबारे पनि जानकारी लिन इन्टरनेट आजको आवश्यकता हो । घरबाट बाहिर गएका आफन्तसँग पनि कुराकानी गर्नेका लागि यो सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष धितालको भनाइ छ । पालिका सबै वडामा फोरजी सेवा राम्रोसँग सञ्चालनमा आएपछि यहाँका सर्वसाधारणलाई निकै राहत पुगेको स्थानीय बताउँछन् । पालिकामै इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइन बाट कक्षा लिन यहाँका विद्यार्थीलाई समेत सजिलो भएको उनले जानकारी दिए । यसअघि घाम नलागेपछि, पानी पर्दा पनि फोनमा समस्या हुने गरेको थियो । अध्यक्ष धितालको विशेष पहलमा टावरमा सौर्य ब्याट्रीसमेत जडान गरेर अब जुनसुकै परिस्थितिमा पनि फोन सेवा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । गाउँपालिकासँगको साझेदारीमा नेपाल टेलिकमको लगानीमा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । वायु ऊर्जाको विद्युत् सो टावरमा जोडिएको नेपाल टेलिकम कर्णाली प्रदेश कार्यालयका इञ्जिनीयर चन्द्रभूषण शाहले जानकारी दिए । इन्टरनेट सेवा सञ्चालनमा आएदेखि फोन गर्न र इन्टरनेट चलाउन पाउँदा सिञ्जावासीमा खुसी छाएको स्थानीयवासी उमेश बुढाले जानकारी दिए । सो टावरले सिञ्जाको कनकासुन्दरी र हिमा गाउँपालिकाका केही स्थानसम्म काम गरेको बताइएको छ ।
कैलालीमा जरिवाना तिर्दै निर्माण कम्पनी
कैलाली । कैलालीमा सञ्चालन भएर पटक–पटक म्याद थप भएर पनि काम सम्पन्न हुननसकेका निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही सुरु गरेको छ । गत आर्थिक वर्षसम्म आयोजनाको सम्झौता भएर चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्न नसकेका आयोजनाको काम नसकेका निर्माण कम्पनीलाई जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । कार्यपालिकाको निर्णयबाट आयोजनाको म्याद थप नहुने निर्णय गरेपछि काम सम्पन्न हुननसकेका आयोजनाको म्याद थप नहुने र नियमानुसारको जरिवाना तिरेर काम गर्न बाध्य भएका छन् । नगरपालिकामा समयमा काम सम्पन्न गर्न नसकेका जरिवानामा परेका नौवटा आयोजनाको काम गरिरहेका छ निर्माण कम्पनीले जरिवाना तिर्न थालेका हुन् । समयमा काम गर्न नसकेका राजन निर्माण सेवा टीकापुर, सन्तोष विल्डर्स अछाम, रसुन निर्माण सेवा, भट्टराई कन्स्ट्रक्सन प्रालि, युकि विल्डर्स टीकापुर, सन्तोष विल्डर्स टीकापुर रहेका छन् । जरिवाना परेका निर्माण कम्पनीले आयोजनाको सम्झौता लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत रकम दैनिक तिर्नुपरेको छ । त्यति गर्दा पनि काम सकिएन तर आयोजनाको सम्झौता भन्दा दश प्रतिशत रकम जरिवाना बापत भुक्तानी हुने अवस्था देखिएमा सम्झौता नै तोड्नुपर्ने प्रावधान रहेको नगरपालिकाका इन्जिनियर नवराज जोशीले बताए । नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजन खडकबहादुर शाहले वर्षौदेखि काम लिने तर समयमा काम गर्न नसकेका नगरपालिकाबाट सञ्चालन भएका आयोजनाहरुको म्याद थप नभएको बताएका छन् । उनले पौष एक गतेदेखि काम नसकिएका आयोजनाले जरिवाना तिर्ने बताए । ‘जुन निर्णय भएको छ त्यहीँअनुसारको कारबाही काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीले भोग्नुपर्ने छ ।’ उनले भने,’हामीले पहिलेदेखि नै भन्दै पनि आएका थियौँ, म्याद थप हुँदैन भनेर भन्दाभन्दै पनि काम सम्पन्न नभएका निर्माण कम्पनीले जरिवाना तिर्छन् ।’ रासस
वीरगन्ज महानगरपालिकाले पोलका तार व्यवस्थित गर्दै
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार व्यवस्थापन गरेको छ । नगरभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरुप महानगरले विद्युत् तथा टेलिकमको पोलमा गुजुल्ट्याएर राखिएका तार हटाएको हो । महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहित महानगरको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्म बायाँतर्फको पोलमा रहेको अव्यवस्थित तार हटाएको छ । जथाभावी टाँगिएका तारका कारण नगरको सौन्दर्य बिगार्नाका साथै दुर्घटनाको जोखिमसमेत देखिएकाले तर व्यवस्थित गर्न महानगरले सेवा प्रदायकको सहमतिमै काम थालिएको हो । यसअघि टोलीले आदर्शनगर क्षेत्रका पोलमा टाँगिएका तार काटेर हटाएको थियो । महानगर प्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थान गर्ने अभियानले गति लिएको छ । इन्टरनेट सेवा प्रदायका प्रतिनिधिको उपस्थितिमा नै तार काटेर हटाइएको महानगरको सूचना प्रविधि शाखाका वृजेश प्रधानले जानकारी दिए । महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार तान्दा तोकिएअनुसार मात्रै गर्न सूचना जारी गरेको छ ।