नगरपालिका संघको अध्यक्षमा भीम ढुंगाना

काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको आठौं महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् । यसैगरी, महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएका छन् । कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन भएकी छन् । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

लालपूर्जा हुँदा समेत महानगरले घर भत्काएको धोबीखोलाका स्थानीयको आरोप

काठमाडाैं । धोबीखोला करिडोरका घरधनीहरुले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्यादती गरेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको हो । तर करिडोरका घरधनीहरुले भने महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरुलाई बिचल्ली बनाएको गुनासो गरेका छन् । करिडोरमा घर हुने घरधनी प्रेमप्रसाद आचार्यले धोबीखोला करिडोरले करिडोर क्षेत्रभन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको बताए । उनले इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गा भित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादती गरेर घर भत्काएको उनकाे आराेप छ । ‘महानगरले कुनै जानकारी बिना घर भत्काएर जनतालाई दुःख दिने काम गरेको छ, सरकारी जग्गा नभएको जानकारी दिँदा समेत निजी घर भत्काएर महानगरले आतंक फैल्यायाे,’ उनले भने । काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएका संरचना हटाउन सूचना जारी गर्दा समेत नमानेको भन्दै बुधवार डोजर प्रयोग गरी संरचनाहरु भत्काएको हो ।

महानगरले धोवीखोला किनारमा चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा आज डोजर चलाएको छ । काठमाडौं महानगरको वडा नं. १० देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो । सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन थालेको लामो समय भइसकेको छ । तर, अतिक्रमित बनेका संरचनाहरु नहटाएसम्म डोजर चलाइ रहने महानगरले बताएको छ । महानगर सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग र फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।