रुद्राक्षको उद्योग स्थापना गरी ब्राण्ड बनाउँ, प्रचार गर्न नगर तयार छ : मेयर उदास
भोजपुरको षडानन्द नगरपालिकाका नगर प्रमुख हुन् सुरेन्द्र कुमार उदास । गत वैशाखमा सम्मपन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका उदास नगरको विकासको निम्ति दौडधुप गरिरहेका छन् । नगर प्रमुख उदास आफ्नो नगरपालिकामा शिक्षा, स्वास्थ्य र रोजगारीको विषयमा नमुना काम गर्न खोजिरहेको बताउँछन् । प्रस्तुत छ उनै नगर प्रमुख उदाससँग विकासन्युजका लागि राजिव न्यौपानेले समसामयिक सन्दर्भमा गरेको कुराकानीको सम्पादित अंश : षडानन्द नगरपालिकाले पूर्वाधार क्षेत्रको विकासलाई कसरी अगाडि बढाई रहेको छ ? षडानन्द नगरपालिकाको समग्र विकासका कामहरू सुरुवाती चरणमा अगाडि बढी रहेको छ । कतिपय कुरालाई निरन्तरता दिएका छौं । सतिघाट-दिङ्ला सडकलाई पिच गर्नको लागि भर्खरै मात्र ठेक्कामा लगाएका छौं । नगरको १४ वटै वडा कार्यालयसम्म जोड्ने सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन सक्ने बनाउनको लागि स्तारोनती गर्ने भनेर तयारी गरिरहेका छौं । खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रका योजनाहरू पनि सुचारु भइरहेका छन् । पूर्वाधारको विकासमा नगरपालिका निकैपछि छ भन्दा फरक नपर्ला, स्रोतले नपुगेर नगरको विकासले गति लिन नसकेका हो ? हामी निर्वाचित भएर आएको केही समय भयो । यसो हेर्दा पूर्व जनप्रतिनिधिहरूले नगरको विकासमा ध्यान नदिएको जस्तो देखिन्छ । पालिकाको क्रमिक विकासलाई कसरी अगाडि बढाउने भन्ने ठोस योजना नबनाई काम गरेको अवस्था देखिन्छ । त्यो कारणले पनि हुन सक्छ । हाम्रो नगर भौगोलिक हिसाबले पनि ठूलो छ । स्रोत साधनको पनि कमि नै छ । राज्यबाट प्राप्त गर्ने विभिन्न किसिमका फन्ड पनि कम छ । अरुण नदिमा पुल नबन्दा पनि विकासको काममा नगर पछि परेको देखिन्छ । अब पालिकाको हरेक क्षेत्रको विकासले तीव्रता पाउने छ । कात्तिकेघाट जोड्ने पक्की पुल निर्माण कार्यले किन तीव्रता पाउन सकेन, तपाईंहरुले सम्बन्धित निकायमा पहल तथा ताकेता गर्न नसकेको हो ? यो पुलको अनुगमनको काममा म आफै पनि गएका छु । यो सडक विभाग अन्तर्गत पुल महाशाखाको परियोजना हो । अहिले ठेकेदार कम्पनीले पुल निर्माणको काम पुन सुरु गरेको अवस्था छ । पुलको दुई पटिको किनारामा पिलर निर्माण भइसकेको छ । उनीहरूको भनाइ अनुसार लोड टेस्टको काम बाँकी छ । सो टेस्ट गरिसकेको एक महिनाभित्र पिलरको काम पनि सम्पन्न हुन्छ । बिचको पिलर बनाउनको लागि केही समस्या भएको उनीहरुले बताएका छन् । बेड लेबल भन्दा मुनिको काम ९० प्रतिशत भइसकेको छ । फागुनको १५ गतेसम्म पिलरको काम सक्ने र यस पटक पुलको माथिल्लो भागको काम गर्ने कुरा भएको छ । यो वर्ष पुलको ७० देखि ८० प्रतिशत काम सम्पन्न हुने आशामा छौं । अर्काे वर्ष पुलको काम सम्पन्न हुने विश्वास लिएका छौं । अघि सतिघाटदेखि दिङ्लासम्म जोड्ने सडकको पिच गर्न ठेक्का लगायौं भन्नु भयो, उक्त काम कहिले सुरु भई कहिले सम्पन्न हुन्छ ? यो बहु वर्षीय ठेक्का हो । सतिघाट–दिङ्लासम्मको सडक पिच २ वर्षभित्र सक्ने भनेर ठेकेदार कम्पनी र नगरबीच सम्झौता भएको छ । उक्त काम यही वर्ष सुरु भइ अर्को वर्ष सम्पन्न हुन्छ । यसलाई हामीले नगरको गौरवको आयोजनामा समावेश गरेका छौं । तर, हामीले उक्त काम यही वर्षभित्र सक्ने लक्ष्य लिएका छौं । किनभने पहिलो ठेक्का अनुसार ५ किलोमिटर सडक पिच हुन्छ । यसको लागि नगरले नै बजेटको व्यवस्थापन गरेको छ । सालमादेखि कात्तिके पुल जोड्ने सडकको पनि स्तारोन्नती गर्नु छ । त्यसमा पनि हाम्रो ध्यान केन्द्रित छ । ५ किलोमिटरमा नगरको र एक किलोमिटरमा प्रदेश सरकारको बजेट रहेको छ । नगरपालिकाको प्रत्येक ठाउँमा सडक सञ्जाल पुगेको छ, तिघाट-दिङलासम्मको सडक पिच गर्ने ठेक्का पनि लगायौं भन्नु भयो, तर नगरको लागि यति कालोपत्रे पर्याप्त छैन, धेरै सडकको स्तरोन्नति भने अहिलेसम्म हुन नसक्दा स्थानीहरू बर्सेनि सास्ती खेप्दै आएका छन्, अब तपाईको कार्यकालमा नगरभित्र सडकको क्षेत्रमा के काम गर्ने सोच बनाउनु भएको छ ? नगर भित्र २/३ वटा मुख्य सडक छन् । ती सडकले प्राय प्रत्येक वडालाई समेट्छ । नगरबाट भोजपुरको सदरमुकाम जाने सडक पनि निकै अस्तस्त छ । त्यसमा वडा नं. ९ र १० पनि जोडिन्छ । दिङ्लाबाट भोजपुर सदरमुकामसम्म जाने सडक पिच गर्नको लागि प्रदेश सरकारले चासो देखाएको छ । उक्त सडकको लागि बजेट पनि विनियोजन भएको छ । दिङ्ला बजारबाट नेपालडाँडा-कुदाकाउले र खार्ताम्छा जानेबाटो पनि स्तारोन्ती गर्ने छौं । बाह्रै महिना सडक सेवा सञ्चालनमा आउने बनाउनको लागि सालमा-कात्तिके बालुबेसि-नेपालेडाडाँ, कुदाकाउलेलाई फोकस गरेका छौं । उदयपुरबाट ल्याङ हुँदै नेपालेडाडाँ जोडने सडकको बिचमा चिर्खुवा खोला छ । सो खोलामा पुल बनेको छैन । अहिले हामीले त्यहाँ पुल निर्माण गर्नको लागि टेन्डरको आव्हान गरेका छौं । मलाई लाग्छ, यो दुई वर्षभित्र उक्त पुलको पनि निर्माण सम्पन्न हुने छ । पुल निर्माण नभई बाह्रै महिना सञ्चालन गर्न सक्ने भन्ने चाहिँ गफ मात्र हुन्छ । दिङ्ला बजार हुँदै वाछा भइ कुदाकाउले जोड्ने ठाउँमा पनि हामीले एउटा पुलको प्रस्ताव गरेका छौं । वडा नं. ११, १२, १३ र १४ को सडकको रुटलाई व्यवस्थापन गर्ने योजना पनि छ । त्यसको पनि टेन्डर आव्हान गर्दै छौं । एक मात्र नभई हरेक वडाको विकास गरी समग्र पालिकाको विकासमा जुटको छौं । ५ वर्ष भित्र बाह्रै महिना सडकमा यातायात सहज रूपमा सञ्चालन गर्न सक्ने वातावरण मिलाउने छु । त्यसैले एक वर्षमा नै यो काम सकिन्छ भनेर आस मात्रै गरौं । काम गर्न निकै गाह्रो छ, बजेट थोरै छ अधिकतम कोसिस गरी रहेका छौं । पालिकामा अघिल्ला निर्वाचित जनप्रतिनिधिले कस्ता काम गरेको पाउनु भयो ? पालिकाको पहिलो प्राथमिकता के हो भनेर निर्धारण नगरिकन तोकिएर योजना बनाएको देखिएन । त्यो नै एउटा समस्या देखियो । सो काम गरेको भए अहिले मलाइ लाग्छ मेन-मेन सडकहरू बाह्रै महिना सञ्चालनमा आउन सक्थे होला । उहाँलाई मैले दोष लगाउन खाेजेकाे हैन । जसले जति सक्छ उति काम गर्ने हो । पहिलो प्राथमिकता के हो, त्यो प्राथमिकतामा बजेट निर्धारण कसरी गर्ने भन्ने समस्या विगतको ५ वर्षमा देख्यौं । योजनाहरूमा परेको बजेट पनि प्राविधिक साथीहरूसँग बसेर कसरी काम छिटो गर्ने सकिन्छ, छिटो जनताले सहज तरिकाले कसरी सेवा दिन सकिन्छ भन्ने विषयको समन्वय भएको पाइएन । खानेपानीको विषयमा पनि कोडिनेसन पुगेको देखिएन । नवा खोला खानेपानी योजना उहाँहरूले पहिलादेखि नै सुचारु गर्नु भएको थियो । विभिन्न विवादको कारण त्याे काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । नीतिगत रूपमा काम नभएको देखिए । यो वर्ष हामी त्यो काम पनि अगाडि बढाउन छौं । आवश्यकतालाई हेरेर काम गरेको भए राम्रो हुन्थ्यो । दिङ्ला भन्दा मुनि खानेपानीको आवश्यकता धेरै छ । केउरेनीपानी, तुङ्गेछा, दिङ्ला बजार त्यो एरियालाई फोकस गरेर पहिला खानेपानीको काम गरिरहेका छौं । त्यसपश्चात् क्रमिक रूपमा आवश्यकता भएको ठाउँलाई मध्यनजर गर्दै सम्बोधन गर्ने हिसाबले खानेपानीको काम अगाडि बढेको छ । नेपाले डाँडामा पनि खानेपानीको योजना सञ्चालन हुँदैछ । स–साना खानेपानीको योजना धेरै ठाउँमा सञ्चालन गर्ने प्रदेश सरकारको खानेपानीको सब डिभिजन, डिभिजन कार्यालयसँग समन्वय गरेको छु । अब खानेपानीको पनि धेरै वटा योजनाहरू सञ्चालन हुँदै छ । यस्तै, शिक्षा क्षेत्र नगरको विकराल नै छ । स-साना कुराहरू सम्बोधन भएका छैन । हिजो एउटा शिक्षक नियुक्ति गर्न एक वर्ष लाग्थ्यो । जसले गर्दा विद्यालयमा शिक्षकको अभाव भइ राख्थ्यो । विद्यार्थीले पढ्न पाउँदैन थिए । अहिले यस्तो छैन । विद्यालयमा शिक्षकको आवश्यकतालाई मध्यनजर गर्दै पदपूर्तिको काम गरिहरेका छौं । नगरपालिकामा अब लगभग बिजुली पुग्यो होला, कुनै ठाउँमा बाँकी पनि छन्, तपाईंले भन्नु भएको थियो, घरमा मात्र नभई बेसिका गोठमा पनि बिजुली पुर्याउँछु भनेर, यसका लागि नगरको तर्फबाट कुनै कसरत हुँदैछ ? नगरको अझै पनि केही ठाउँमा बिजुली पुग्न बाँकी छ । नपुगेका ठाउँमा पनि सम्बन्धित निकायहरूसँग समन्वय गरेर पुर्याउने पहल गरिरहेका छौं । मैले यो कुरा समय तोकेरै भनेको छु । यो काम पहिलो वर्ष नै गर्न सकिन्छ भनेर भनेको छैन । यो ५ वर्षको अवधिमा गोठ गोठमा पनि पुर्याउन सकिन्छ भनेर भनेको हुँ । त्यो अनुसार काम पनि भइ रहेको छ । पहिलो काम नेपाले डाँडा र कुदाकाउलेबाट याे कामकाे सुरूवात गर्ने सोच बनाइ रहेकाे छु । व्यवसायिक क्षेत्रको विकास र विस्तारको लागि नगरपालिकाले के काम गरिरहेको छ ? यसको लागि पनि नगर सचेत छ । नगरमा कृषिमा अलैँची र सुन्तलाको जोन रूपमा छुट्याएर काम गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणबाट सञ्चालित योजना सञ्चालन भइरहेका छन् । पाखरीबास अनुसन्धान केन्द्र विज्ञहरूलाई पनि बेलाएर नगरकामा देखिएका कृषि खेतीका समस्या तथा समाधान गर्नको विषयमा छलफल गर्यौं । नगरमा कृषिका पनि थप जनशक्तिको व्यवस्था मिलाउँदै छु । कृषि र पशुको क्षेत्रका ४ वटा उपसेवा केन्द्र बनाउने भनेर निर्णय गरेका छौं । षडानन्द नगरपालिका रुद्राक्षको एउटा मुख्य केन्द्र पनि हो, पछिल्लो समय रुद्राक्षको व्यपार घटेको र बिक्री नै नभएको जस्ता गुनासोहरू आइ रहेको छ, आर्थिक हिसाबले हेर्ने हो भने निकै सम्भावना बोके यस क्षेत्रको दिगो बजार व्यवस्थापन गर्नेको लागि पालिकाले के पहल गरिरहेको छ ? रुद्राक्षको सम्भावनाको विषयलाई पहिला अध्यन गर्नुपर्ने हुन्छ । अहिले रुद्राक्ष विशेष गरी भारत र चीन निर्यात हुँदै आएको छ । रुद्राक्षको अहिले पहिलाको जस्तो मूल्य तथा बजार पनि पाएको छैन । मूल्य कम छ तर बिक्री भइ रहेको छ । अब रुद्राक्षको उद्योगहरू खोल्नु पर्छ । किसानको खेतबारीमा रुद्राक्ष खेर गइरहेको छ । तर, यसको उचित सदुपयोग भएको देखिँदैन । यस क्षेत्रसँग सम्बन्धित रुद्राक्ष व्यवसायी संघ पनि छ । उक्त संघले पनि आफ्नो तरीकाले काम गरिरहेको होला । संघ र नगरले समन्वय ह्यान्डीक्राफ्टका सामान बनाउने तालिमको सञ्चालन गर्ने योजना बनाएका छौं । रुद्राक्षको घरेलु तथा ठूला उद्योगको स्थापना गरी यसलाई अब ब्राण्ड बनाउँनु पर्छ । यसको प्रचार प्रसार गर्न नगर तत्पर छ । कसरी यसको बजार देश तथा विदेशमा बनाउने यसको आइडिया संघले पनि दिनु पर्याे । रुद्राक्षको व्यपार व्यवसाय विस्तारको लागि नगरले सक्ने सहयोग गर्छ । विदेशबाट करोडौं रुपैयाँको स्वागत गर्ने सामाग्री भित्रिन्छ । त्यसको ठाउँमा रुद्राक्षको मालालाई स्थापित गरौं । धेरै साथीहरूले रुद्राक्षको घरेलु उद्योग पनि खोलेका छन् । अन्त्यमा तपाईंको ५ वर्षको कार्यकालपछि षडानन्द नगरपालिका कस्तो बन्छ ? प्रत्येक वडाको कार्यालयसम्म पुग्ने सडक बाह्रै महिना सञ्चालन हुन सक्ने अवस्था हुनेछ । अरुण नदिमा २ वटा पुल निर्माण सम्पन्न हुनेछ । एउटा सतिघाट र अर्को कात्तिके घाटमा । हामी गुणस्तरीय शिक्षाको विकासमा लाग्ने छौं । सरकारी विद्यालय पनि विद्यार्थीको रोजाइको केन्द्र बनाउने हो । मेरो कार्यकाल भित्र प्रत्येक नगर बासिकको घरमा स्वास्थ्य खानेपानी पुर्याउने छु । ‘एक घर एक धारा’ अभियान सञ्चालन गरी प्रत्येक नागरिकको घरमा खाने पानी पुर्याउने हो । एम्बुलेन्स सेवाको व्यवस्थापन गरी अझै एउटा एम्बुलेन्स थप गर्ने सोचमा छौं । अस्पतालमा औषधीको व्यवस्थापन गरेका छौं । औषधीको कमी हुन अस्पतालमा दिएका छैनौं । हाम्रा व्यवसायिक कृषिमो जोड हुने छ । हरेक क्षेत्रमा परिवर्तन ५ वर्षमा देख्न पाउनु हुनेछ ।
मेलम्चीद्वारा भित्री सडक निर्माणलाई प्राथमिकता
सिन्धुपाल्चाेक । मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले जानकारी दिए । भवन तथा सहरी विकास कार्यालय धुलिखेलमार्फत विनियोजित ५० लाख बजेटले काम भइरहेको सो सडक निर्माणपश्चात बजारको सवारी चाप केही हदसम्म न्यून हुने नगरपालिकाले अपेक्षा गरेको छ । मापदण्ड नपुगेका स्थानमा कम्पाउन्ड भत्काएर सडक विस्तार गरेको कार्कीले बताए । पूर्वाधार विकास कार्यालय चौताराको सहयोगमा सोही सडकमा पर्ने जागेश्वरी पक्की पुल निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । पुल निर्माणको काममा केही ढिलासुस्ती भएको स्थानीयवासीको गुनासोपछि नगरपालिकाले पटक–पटक ताकेता गरे पनि पुस मसान्तसम्म सडक र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको इन्जिनियर कार्कीले जानकारी दिए । नगर प्रमुख आइतमान तामाङले नगरपालिकाले भित्री सडक निर्माणलाई प्राथमिकता दिएको बताए । साथै टार–पिपलबोट भित्री सडक निर्माणका लागि समेत दुई करोड विनियोजन भई खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । विपद् प्रतिकार्य अभ्यास तालिम पाँचपोखरी थाङ्पाल गाउँपालिकाको समन्वय र आर्सो नेपालको आयोजनामा पालिकाका कर्मचारी तथा जनप्रतिनिधिका लागि आयोजित तीनदिने विपद् प्रतिकार्य अभ्यास तालिम शनिबार सम्पन्न भएको छ । तालिममा आगो, बस दुर्घटना र बाढीबाट प्रभावित भई विपद्मा परेका नागरिकलाई के–कसरी खोज उद्धार, राहत तथा पुनर्लाभका कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रस्तुत गरिएको आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले जानकारी दिए । गाउँपालिकाका चार वडा सचिव र १० शाखा प्रमुखलाई प्रारम्भिक तालिम दिइएको हो । तालिमको राजाराम श्रेष्ठ, हर्षमान महर्जन र टीका महर्जनले सहजीकरण गरेका छन्। दैवी प्रकोपको तयारीका बारेमा जनचेताना फैलाउने उद्देश्यले गरेको सो कार्यक्रममा दैवी प्रकोप आएको नाटकीय प्रदर्शन गरिएको थियो । यो अभ्यास वर्षा सुरु हुनुअघि, प्राक्टिकल एक्सनले दैवी प्रकोप न्यूनीकरण कार्यक्रमअन्तर्गत काम गरेको प्रत्येक समुदायमा गर्ने गरिएको छ । यस्ता तालिम विपद् जोखिम रहेका हरेक वडामा आवश्यक रहेको वन वातावरण तथा विपद् शाखाका सदस्यसचिव नारायण बन्जरा क्षेत्रीले बताए । सूची निर्माण मेलम्ची नगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापनापश्चात विपद्को समयमा आवश्यक सहयोग, समन्वय, सूचना सम्प्रेषण तथा सम्पर्क गर्नका लागि आपत्कालीन सम्पर्क नम्बरको सूची निर्माण गरिएको छ । यस्ता आकस्मिक नम्बर प्रत्येक वडा तथा मुख्य बजारमा उपलब्ध गराउने प्रक्रियमा केन्द्र रहेको मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए। यसका साथै आगामी दिनमा आकस्मिक टोल फ्री नम्बरको व्यवस्थापन गरी २४सै घण्टा विपद्बारे जानकारी, सूचना उपलब्ध गराउन सक्ने व्यवस्था गर्नेतर्फ यस केन्द्रले तयारी गरिरहेको दुलालले बताए । यसबाट विपद्बाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विश्वास पालिकाले लिएको छ ।
तारकेश्वर नगरपालिकाका बासिन्दाले अब निःशुल्क रक्त सेवा पाउने
काठमाडौं । तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ । काठमाडौँ उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर अर्को पालिका भएको छ । यही पुस ८ गतेदेखि लागू हुनेगरी तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थलीमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा तारकेश्वर नगरपालिकाको तर्फबाट जनस्वास्थ्य अधिकृत विनोदकुमार शाह र शम्भु पौडेल, नेपाल रेडक्रस सोसाइटीका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र लेखा अधिकृत शम्भु निरौलाले पनि हस्ताक्षर गरेका छन् । नगरपालिका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्त सञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने उद्देश्यले सो सम्झौता गरिएको तारकेश्वर नगर पालिकाका प्रमुख महर्जनले जानकारी दिए । सम्झौता कार्यक्रममा नगरपालिकाका स्वास्थ्य सेवा समितिका डा. लक्ष्मी घिमिरेले तारकेश्वर क्षेत्रमा केन्द्रीय रक्तसञ्चार सेवाको सहकार्यमा रक्तसङ्कलन अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको तर्फबाट विभिन्न वडाका वडाध्यक्षलगायत स्वास्थ्य सेवा सम्बन्धित स्वयंसेवक र कर्मचारीको उपस्थिति थियो । सो अवसरमा स्थानीय बासिन्दालाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता एउटा अर्को महत्वपूर्ण पहल भएको निर्देशक पौडेलले बताए । उनले भने, ‘अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ ।’ रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई नगद शोधभर्ना दिइने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरपालिकका हरेक वडाले वर्षको कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् । नगरपालिकाको स्थायी बासिन्दा भएको वा नगरपालिकामा कार्यरत कर्मचारी भएको प्रमाणित हुने कुनै किसिमको सरकारी कागजात (नागरिकता, मतदाता परिचयपत्र) को प्रतिलिपिको आधारमा केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । साथै दुर्घटनाजन्य अवस्थामा अत्यावश्यक भएमा नगरपालिकाको सिफारिसमा उनीहरुले सेवा पाउने छन् । सम्झौतापूर्व रक्तदानको महत्व र अवस्थाका बारेमा नेरेसोका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र निर्देशक पौडेलले अभिमुखीकरण गरेका थिए । रासस