अवैध संरचना हटाउँदै चन्द्रकोट गाउँपालिका

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले सडक छेउछाउका टहरा तथा संरचना भत्काउने भएको छ । गाउँपालिकाले ३५ दिने सूचना निकाल्दै सडकको छ–छ मिटर दायाँबायाँ रहेका टहरा तथा संरचना हटाउन आग्रह गरेको छ । गत मङ्सिर २२ गते भएको कार्यपालिकाको निर्णयबमोजिम गाउँपालिकाको केन्द्र शान्तिपुर र अर्को मजुवा बजारको सडक छेउछाउका संरचना हटाउन लागिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए । ‘कार्यपालिकाले सर्वसम्मत गरेको निर्णय हो’, उनले भने, ‘चन्द्रकोट गाउँपालिका निर्णय कार्यान्वयनमा प्रतिबद्ध छ ।’ गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ बमोजिम सम्बन्धित ब्यक्ति, संस्था र निकायलाई सडक छेउछाउका टहरा र संरचना हटाउन अनुरोध गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाशचन्द्र शर्माले तोकिएको समयभित्र संरचना नहटाएमा दफा ४५ को उपदफा ४ बमोजिम गाउँपालिकाले आफैँ हटाउने बताए । हटाउन वा भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति, संस्था र निकायबाट असुरउपर गरिने गाउँपालिकाले जनाएको छ । रासस

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’

गोरखा । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । स्वास्थ्य एकाइ नहुँदा स्थानीय बासिन्दा सिटामोल र जीवनजलका लागि समेत झण्डै पाँच घण्टाको बाटो धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । एकाइ स्थापना भएसँगै न्याकवासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष लामाको भनाइ छ । ‘न्याकवासीलाई आधारभूत स्वास्थ्योपचारका कठिनाइ थियो’, उनले भने, ‘गाउँपालिकाले पालिकावासीमा आधारभूत स्वास्थ्योपचारको सहज पहुँच पुर्याउने लक्ष्यअनुसार एकाइ स्थापना गरिएको हो ।’ न्याकमा ४० घरपरिवारको बसोबास रहेको जनाइएको छ । ‘त्यहाँका बासिन्दा सामान्य स्वास्थ्योपचारका लागि समेत गाउँपालिकाको केन्द्र रहेको फिलिमसम्म आउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मीसमेतको व्यवस्था गरी न्याकमै औषधिसहित एकाइ स्थापना गरेपछि अब घरआँगनमा उपचार सेवा पाउने भएका छन् ।’ अध्यक्ष लामाले न्याकमा स्वास्थ्य एकाइ स्थापना हुनु स्थानीय बासिन्दाका लागि मात्र नभएर समग्र गाउँपालिका समेत खुसीको कुरा भएको बताए । गाउँपालिका तथा वडा कार्यालयबाट समेत भौगोलिक हिसाबले टाढा पर्ने स्थानीयवासीले लामो समयदेखि स्वास्थ्यचौकी स्थापना गर्न माग गर्दै आएका थिए ।

१५ दिनभित्र साइन बोर्ड हटाउन महानगरको निर्देशन, ३० हजारसम्म शुल्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले साइन बोर्ड हटाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने संघ संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी संस्थाहरुले ३० वर्ग फिटभन्दा ठूलो आकारको साइन बोर्ड तत्काल हटाउन निर्देशन दिएको हो । आफ्नो व्यवसाय वा कार्यालय परिसरमा व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने परिचय पाटी (साइन बोर्ड) ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन यसअघि महानरपालिकाले आग्रह गरेको थियो । पुनः सूचना प्रकाशन गरी उक्त आकारका परिचय पाटी सम्बन्धित पक्षले नहटाएको हुँदा अबको १५ दिनभित्र ३० वर्ग फुटभन्दा ठूला बोर्ड हटाउन अनुरोध गरेको छ । यदि महानगरपालिकाको सूचनालाई अवज्ञा गरेर सम्बन्धित पक्षले पाटी नहटाएमा महानगरपालिकाको टोलीले इटाउने छ । हटाउन लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गराइने महानगरपालिकाले बताएको छ । साथै महानगरपालिका क्षेत्रमा व्यवसाय वा कार्यालयले परिचय पाटी (साइन बोर्ड) राख्दा वार्षिक रूपमा बुझाउनुपर्ने शुक्ल पनि तोकेको छ । ६ वर्ग फुटसम्मको परिचय पार्टी राख्दा ५ सय रुपैयाँ र १५ वर्ग फुटसम्मको १ हजार ५ सय रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ । यदि ५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको परिचय पाटी राख्दा प्रति वर्ग फुट १ हजार रुपैयाँ बढी तिर्नुपर्नेछ । १६ वर्ग फुटको १६ हजार रुपैयाँ, १७ वर्ग फुटको १७ हजार रुपैयाँ गरी क्रमिक ३० वर्ग फुटसम्मको ३० हजार रुपैयाँ शुल्क तोकिएको छ ।