
काठमाडौं । काठमाडौं महानगरपालिकाले साइन बोर्ड हटाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने संघ संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी संस्थाहरुले ३० वर्ग फिटभन्दा ठूलो आकारको साइन बोर्ड तत्काल हटाउन निर्देशन दिएको हो ।
आफ्नो व्यवसाय वा कार्यालय परिसरमा व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने परिचय पाटी (साइन बोर्ड) ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन यसअघि महानरपालिकाले आग्रह गरेको थियो । पुनः सूचना प्रकाशन गरी उक्त आकारका परिचय पाटी सम्बन्धित पक्षले नहटाएको हुँदा अबको १५ दिनभित्र ३० वर्ग फुटभन्दा ठूला बोर्ड हटाउन अनुरोध गरेको छ ।
यदि महानगरपालिकाको सूचनालाई अवज्ञा गरेर सम्बन्धित पक्षले पाटी नहटाएमा महानगरपालिकाको टोलीले इटाउने छ । हटाउन लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गराइने महानगरपालिकाले बताएको छ । साथै महानगरपालिका क्षेत्रमा व्यवसाय वा कार्यालयले परिचय पाटी (साइन बोर्ड) राख्दा वार्षिक रूपमा बुझाउनुपर्ने शुक्ल पनि तोकेको छ ।
६ वर्ग फुटसम्मको परिचय पार्टी राख्दा ५ सय रुपैयाँ र १५ वर्ग फुटसम्मको १ हजार ५ सय रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ । यदि ५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको परिचय पाटी राख्दा प्रति वर्ग फुट १ हजार रुपैयाँ बढी तिर्नुपर्नेछ । १६ वर्ग फुटको १६ हजार रुपैयाँ, १७ वर्ग फुटको १७ हजार रुपैयाँ गरी क्रमिक ३० वर्ग फुटसम्मको ३० हजार रुपैयाँ शुल्क तोकिएको छ ।