ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । एक समारोहकाबीच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका छन् । त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी-माडी-भरतपुर-रसुवागढी (केरुङ) को प्रवेश बिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दुरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दुरीमा रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रुपमा सञ्चालनमा ल्याउन ठोरी गाँउपालिकाको मुख्य भूमिका रहने उल्लेख गरे । लामो समयको पहलपछि नाकालाई पुनः सञ्चालनमा ल्याउन सकिएको उनले प्रष्ट पारे । नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भौरवहा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए । भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौलाका अनुसार भारतीय नम्बर प्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोन्ती गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निर्कयौल निस्किने उनको भनाइ थियो । भन्सार सञ्चालनमा आएपछि ठोरीवासी हर्षित देखिएका छन् । भन्सार नहुँदा सवारी चढेर नेपाल आउने पर्यटक सिमानाबाट फिर्ता हुने गरेका थिए । अब अस्थायी पासको व्यवस्था भएसँगै निर्वाध रुपमा नेपाल आउन सक्ने छन् । ठोरीका पर्यटन व्यवसायी सुदिप थापाले भन्सार सञ्चालनमा आएसँगै राहत मिलेको बताए । यसले भरतपुर भ्रमण वर्षलाई पनि टेवा पुग्ने विश्वास गरे । विदेशी पर्यटक नेपाल आउँदा समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने भएकाले नाकाले सहज सेवा दिनुपर्ने उल्लेख गरे । भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै संघीय मन्त्रीपरिषद् (क्याबिनेट)ले निर्णय गरेको थियो । पर्साको छोटी नाका मध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्ष अगाडी निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि, गतबर्ष माघ २७ मै सो भन्सारको सेवा सुरुवात हुने भएपनि कतिपय प्रक्रिया पुरा नभएको भन्दै अन्तिम समयमा राकिएको थियो ।

सरकार र निजी क्षेत्र सहकार्य गरेर बेरोजगारको समस्या हल गर्न आवश्यक छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उदेश्य रहेको बताएकी छन् । २ हजार ८१ जनालाई रोजगारी दिनेगरी निःशुल्क ‘सिपमुलक तालिम’ दिन काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेला बुधबारदेखि सुरु भएको छ । उक्त मेलाको उद्घाटन गर्दै उप्रमुख डंगोलले शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताइन् । काठमाडौं महानगरपालिकाले सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको बताइन् । उनले १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिनको लागि मेलाको आयोजना गरिएको बताइन् । महानगरपालिकाले रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि भन्ने नारा तय गरेर अभियान चलाएको बताइन् । पछिल्लो समय बजारमा बेरोजगारी बढ्दै गएको स्वरोजगार बनाउने महानगरको उदेश्य रहेको बताइन् । बजारमा दक्ष श्रम जनशक्ति नपाएको रोजगारदाताको गुनासोलाई पनि महानगरले सम्बोधन गरी श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्ने जानकारी दिइन् । ‘महानगरपालिका लगायत अन्य सिटिभिटीबाट पनि तालिम दिइरहेका छन् । तर बजारमा यतार्थ हर्ने हो भने बेरोजगारको दर घटेको छ वा छैन । शिक्षा पनि सिपसँग जाडिनुपर्छ । यो लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव छैन । निजी क्षेत्रले भने जस्तो काठमाडौं महानगरसँग जोड्ने अवसर सिप मेलाले दिएको छ । सम्पूर्ण रोजगारदातालाई अनुरोध गर्न चाहन्छौं । काठमाडौं महानगरपालिकासँग हातमालो गरौं । देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढ्यौं’, उनले भनिन् । उनले निजीको काठमाडौं महानगरसँग मिलेर काम गर्ने भनाईलाई सार्थक बनाउनको लागि निजी क्षेत्रसँग हातेमालो गर्न महानगर तयार रहेको बताइन् । सिपमुलुक तालिममार्फत २ हजार ८१ जनालाई स्वरोजगारको बाटो देखाउन लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव नभएको भन्दै निजी क्षेत्रको पनि साथ आवश्यक रहेको बताइन् । सरकार र निजी क्षेत्र सहकार्य गरेर देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढ्न आवश्यक रहेको जानकारी दिइन् ।

काठमाडौं महानगरको सिप मेला : ५ हजारलाई रोजगारी र १५ हजारलाई तालिममा जोड्ने लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुंडिखेलमा ‘सिप मेला’ आयोजना गर्दै छ। ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य रहेको महानगर उपप्रमुख सुनिता डंगोलले बताइन। ‘१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम महानगरले उपलब्ध गराउने छ,’ उनले भनिन् । यसरी तालिम पाएका सबै व्यक्तिलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको डंगोलले बताइन। बजारमा सिपयुक्त जनशक्तिको ठूलो माग र आपूर्तिका बिचमा ठूलो खाडल भएको बताउँदै उक्त खाडललाई पुर्न तालिम सञ्चालन गरिएको उनले बताइन। ‘एकातिर रोजगारदाताको सिपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवाहरूमा योग्यताअनुसारको रोजगार नपाएको गुनासो छ,’ उनले भनिन्, ‘रोजगार क्षेत्रमा देखिएको यो खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सिप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यववसायिक तालिमको आवश्यकता महसुस गरेर सिप मेला कार्यक्रम आयोजना गरिएको हो ।’ सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै महानगरले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने उद्देश्य लिएको उनले बताइन् । कम्तिमा ५ हजार मानिसलाई रोजगारीसँग जोड्ने र १५ हजार मानिसलाई तालिमसँग जोड्ने लक्ष्य महानगरले राखेको पनि उनले बताइन् । सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा रहेको व्यक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रूपान्तरण गराउने विश्वास महानगरले राखेको छ। साथै, विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारी सिपमूलक तालिममा सहभागी हुने अपेक्षा महानगरले राखेको उनको भनाइ छ । सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुने महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले बताए। उनका अनुसार मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना छ। सुरु गर्न लागिएका तालिममध्ये अटो मोबाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् । दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, बार टेन्डिङ् र वेटर-वेट्रेस प्रशिक्षण हुनेछ । सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा विषय राखिएका छन् । क्रमशः पाँचौं र छैटौं क्षेत्रमा मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ। सातौं क्षेत्र गार्मेन्ट्स हो। यसमा टेलरिङ ड्रेस मेकर र फेसन डिजाइनि‌ङकाे कक्षा हुनेछ । आठौँ क्षेत्र ब्युटिसियन ९सौन्दर्य कला० हो। यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ । नवौं क्षेत्र डिजाइनिङ् हो। यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ र दशौं विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहनेछन् र सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनेछन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्ने अधिकारीले बताए। त्यसका साथै सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरू पनि तालिमका कार्यक्रम रहेको उनले बताए। उनका अनुसार सामुदायिक विद्यालयको कक्षा ९ र १० मा पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि कार्यक्रममा ३४ भन्दा धेरै पेसाका सिपमूलक तालिम रहेको उनले बताए । त्यस्तै साइबर सेक्युरिटीमा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ ।