ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की रितु थापा मगर घरधन्दा सकेर ढाका बुन्छिन् । चार वर्षअगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उनी व्यवसायमा लागेकी हुन् । ‘तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ। फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ,’ उनले भनिन्, ‘त्यसपछि निरन्तर यही पेसामा छु।’ फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उनको भनाइ छ । व्यवसाय थालेपछि अरूसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ। ‘पैसा चाहिँदा अरूसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो। घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरूलाई पनि उद्यम गर्न आग्रह गर्छु,’ उनले भनिन् । ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौंबाट ल्याउने गरेको उनले बताइन् । धागो ल्याएर मागअनुसार ढाका बुन्ने गरेकी उनले अहिले सारीको माग धेरै भएको जानकारी दिइन्। उनका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्ता सुरुवाल बनाउन सकिन्छ । थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी तीन हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । आठ हजारदेखि १२ हजार रुपैयाँसम्ममा सारी बिक्री हुन्छ । एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्ने गर्छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताए । हरेक व्यक्ति उद्यमी बन्न सके मात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग गर्ने उनको भनाइ छ । यता, दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बनेका छन् । व्यास नगरपालिका–२ मा विसं २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी सफल उद्यमी बनेका हुन् । ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उनको भनाइ छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताए । उनको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँ मात्र सीमित छैनन् । जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौंलगायतका ठाउँबाट माग हुने गरेको छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि ढाकाको कपडा किन्ने गरेका छन् । ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उनले बताए । जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुईमहिने निःशुल्क ‘एडभान्स’ ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ। युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रमबमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिए ।
खायन आलु संरक्षणमा जैमिनी र ताराखोला गाउँपालिका
बागलुङ । जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा खायन प्रजातिको आलु संरक्षण अभियान थालिएको छ । बजारमा तराईका आलुभन्दा अधिकांशले स्थानीय आलुको माग गर्छन् । त्यसैले स्थानीय तहकै लगानी र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा आलु संरक्षणको काम भएको हो । जैमिनी–३ को नौला, गाजाको दह, नेपाने बस्तीमा आलु प्रशस्त फल्छ । त्यो आलुलाई व्यावसायिक बनाउन वडा तहमा पहल भएको हो । वडाको अभियानमा पालिकाले साथ दिएको वडा नं ३ का सचिव सिमाना छन्त्यालले बताए । यसअघि ताराखोला–४ र ५ मा खायन आलु संरक्षण अभियान सुरु भइसकेको छ। तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउँछन् । बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो। बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला, ढोरपाटन र गाजाको आलुको खोजी गर्छन् । यसअघि जैमिनी–३ का अधिकांश किसानले अन्नको पैँचोका लागि मात्र आलु प्रयोग गर्थे । अहिले भने बजारसम्म लैजान सहज हुने भएपछि व्यावसायिक रूपमा उत्पादन सुरु भएको हो। ‘अर्गानिक उत्पादन गर्ने र बजारमा पनि पठाउने योजनाअनुसार किसानले काम गर्नुभएको छ,’ वडा नं ३ का अध्यक्ष कृष्णबहादुर भुजेलले भने, ‘उत्पादनअनुसार अनुदानको पनि व्यवस्था छ ।’ पछिल्लो समय उत्पादनमा आधारित अनुदान पाउने गरी पालिका र ज्ञान केन्द्रले काम गरेका छन् । कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले अग्र्यानिक खायन आलु विस्तार गर्न सकेमा बजारको कमी नहुने बताए । ‘हामीले अहिलेसम्म ताराखोलामा रासायनिक मल सिफारिससम्म गरेका छैनौँ,’ उनले भने, ‘अन्य केही तोकिएका स्थानमा पनि त्यो चलन छ ।’ बागवानी विकास अधिकृत पुनका अनुसार ताराखोलामा मात्रै ‘खायन आलु प्रवर्द्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवर्द्धनको कार्यक्रम सञ्चालन भएको छ । जैमिनीमा भने छन्त्याल कृषि समूहले यो काम गरेको हो । साथै अन्य किसानले पनि खायन आलुका लागि काम गरेका छन् । ज्ञान केन्द्रले उत्पादन पछि प्रतिकिलो दुई रूपैयाँ किसानलाई अनुदान दिने गरेको छ । कम्पोष्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताए। किसानले आलुबाटै मनग्य कमाइ पनि गरेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको जनाइएको छ। घरबासका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ।
कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल
झापा । जिल्लास्थित झापा गाउँपालिकाले बीचमै पढाइ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क साइकल वितरण गर्दै आएको छ । पढ्न प्रोत्साहन गर्ने उद्देश्यले विसं २०७५ देखि वर्षैँपिच्छे कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई साइकल वितरण गरिँदै आइएको हो । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुकुमारी थपलियाले छ वर्षको अवधिमा एक हजार भन्दाबढी विद्यार्थीले पालिकाबाट अनुदानको साइकल पाएका जानकारी दिए । उनका अनुसार पालिकाभित्र पाँच वटा माध्यमिक विद्यालय छन् । यस वर्ष तीन सय ५३ वटा साइकल वितरण गरिएको पालिकाले जनाएको छ । जनता माविमा १३१, डिल्लीराज माविमा १३५, जनकल्याण माविमा ३५, कुवाडीदेवी माविमा २८ र महेन्द्र माविमा २४ वटा साइकल वितरण गरिएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिए । ‘गाउँमा टाढाबाट पैदल विद्यालय आउनेले कक्षा ९ र १० मा पुगेपछि पढाइ बीचमा छाड्ने गरेको पाइएपछि साइकल बाड्ने कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘साइकल पाएपछि उनीहरुले पढाइ छाडेका छैनन् । पढाइप्रति थप आकर्षण बढेको पाइएको छ ।’ विसं २०७५ मा पालिकाले पहिलोपटक कक्षा नौ का छात्रालाई मात्र साइकल वितरण गरेको थियो । छात्राहरुले विद्यालय तहको शिक्षा अधुरो नछाडुन् भन्नका लागि प्रोत्साहन स्वरुप सुरु गरिएको साइकल वितरण कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउँदै आएको छ । आदिवासी, मुस्लिम र अतिविपन्न परिवारको बाहुल्य रहेको यस पालिकामा ‘साइकल वितरण कार्यक्रम’ प्रभावकारी बनेको छ । ‘शिक्षामा सबैको सहज पहुँच पु¥याउने यो कार्यक्रमको उद्देश्य हो’, पालिकाकी कार्यवाहक अध्यक्ष थपलियाले भने, ‘बिहान १० बजे विद्यालय लाग्छ । साइकल वितरण गर्न थाल्नुअघि केही विद्यार्थी १२ बजेसम्म विद्यालयमा आइरहन्थे । हिँडेर आउँदा ढिलो भएको बताउँथे । अहिले सबैले साइकल पाएका छन् । नियमित र समयमै विद्यालय आइपुग्छन् ।’ उनले पालिकामा बीचैमा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा पनि न्यूनीकरण भएको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा पािलकाले बजेटमा नै साइकल वितरणका लागि रु २९ लाख बजेट विनियोजन गरेको थियो । बोलपत्र आह्वानको पारदर्शी प्रक्रियाबाट साइकल खरिद गरिएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिए । उनका अनुसार पालिकाले शिक्षामा सुधार ल्याउने उद्देश्यले कक्षा ८ देखि १० सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क ‘कोचिङ’को व्यवस्था, कक्षा १२ सम्म निःशुल्क शिक्षा र अन्य पालिकामा गएर प्राविधिक शिक्षा लिने विद्यार्थीलाई वार्षिक १२ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गर्दै आएको छ । साइकल पाएका विद्यार्थीले पढाइप्रति आफ्नो र अभिभावक दुवैको लगाव बढाएको बताएका छन् । जनता माविमा कक्षा ९ मा अध्ययनरत किस्कु सन्थालले विद्यालयले दिएको साइकल चढेर पाँच किलोमिटर टाढाको घरबाट विद्यालय धाउन सुविधा भएको बताए । ‘बुबाआमासँग साइकल किनिदिने पैसा थिएन’, उनले भने, ‘विद्यालय टाढा भएकाले पढाइ छाडेर बुवाआमाकै जस्तो कामधन्धामा लाग्ने कि भन्ने सोच पलाइसकेको थियो । अहिले साइकल पाएपछि नियमित विद्यालय गइरहेकी छु ।’ उनले कक्षा १२ सम्मको पढाइ साइकलमै यात्रा गरेर पूरा गर्ने योजना बनाएको बताए । रासस