राजधानीका ९० प्रतिशत घर भवनसंहिता विपरित, मापदण्ड पालनामा कडाइ भएन

काठामाडौं ९, असोज । सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन्। भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी रुपमा कार्यान्वयन हुन नसकेको शहरी विकास तथा भवन निर्माण विभागले बताएको समाचार आइतबारको नेपाल समाचार पत्रले छापेको छ। स्थानीय निकायमा दक्ष प्राविधिक जनशक्तिको अभाव र नागरिकहरुमा चेतनाको कमीका कारण अहिले पनि मापदण्ड विपरित घर निर्माणको क्रम रोकिएको छैन। शहरी विकास तथा भवन नपर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहले राष्ट्रिय भवनसंहिता लागू गर्नका लागि स्थानीय तहमा दक्ष प्राविधिक जनशक्ति नहुनु र नागरिकमा चेतानाको कमिका कारण प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए।

भारतको सहयोगमा उच्च माध्यमिक विद्यालय र क्याम्पस भवन बन्ने

पोखरा, ७ असोज । भारत सरकारको सहयोगमा पोखरा उपमहानगरपालिका–१७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस र लेखनाथ नगरपालिका–१७ स्थित सरस्वती टीका उच्च माविमा पक्की भवन बन्ने भएको छ । भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसको २१ कक्षा कोठा १० शौचालयसहितको तीनतल्ले भवन तीन करोड ८९ लाख २९ हजार ६८३ रुपैयाँमा बन्ने जिविस कास्कीका इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरस्वती टीका उच्च माविको दुईतल्ले भवन कम्पाउन्ड वाल, पाँच कक्षा कोठा, सभा कक्ष, विज्ञान प्रयोगशाला, स्टाफ कोठा र फर्निचरसहित तीन करोड ३६ लाख ३२ हजार ५३७ रुपैयाँमा निर्माण हुनेछ । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवन आगामी सन् २०१७ को अक्टोबर २८ मा र सरस्वती टीका उच्च माविको भवन सन् २०१७ को अक्टोबर २९ भित्रमा सम्पन्न गरिसकिने लक्ष्य रहेको श्रेष्ठले बताए । क्याम्पस एवम् विद्यालय भवनको बिहीबार छुट्टाछुट्टै आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले शिलान्यास गरेका हुन्। नेपाल र भारतबीच युगौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले शान्ति, स्थिरता र समृद्धिको लक्ष्यमा दुवै देश लागिरहेको बताए । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको बताउँदै उनले पछिल्ला समयमा भएका नेपालका गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताए । आगामी दीपावलीपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुने सम्भावना रहेको जानकारी दिँदै उनले त्यसपछि नेपालका राष्ट्रपतिको भारत भ्रमण हुने बताए। सांसद विन्दा राना मगरले भारत सरकारबाट जिल्लाका क्याम्पस एवम् विद्यालयमा अत्यावश्यकीय भवन निर्माणमा सहयोग गर्नु सराहनीय भएको बताउँदै यसले गुणस्तरीय शिक्षा प्राप्तिमा पनि महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले पछिल्ला दिन पोखरामा परेको अविरल पानीका कारण कटान गरी क्षति पु¥याएको पोखरा–१७ दोविल्ला र पोखर–२३ निर्मलपोखरी जोड्ने पुल तथा आसपासको बस्ती तत्काल संरक्षण गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिहेको जानकारी दिए । सांसद दिलबहादुर नेपालीले भारत सरकारबाट भएको यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गरे । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले निर्माणाधीन क्याम्पस एवम् विद्यालय भवन निर्धारित समयमा नै निर्माण सम्पन्न गरिने बताए । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भौतिक पूर्वाधारको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शैक्षिक संस्था अग्रसर बन्नुपर्नेमा जोड दिए । गुप्तेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख घनश्याम तिवारी, सरस्वती टीका उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, लेखनाथ नगरपालिका कार्यालयका कानुन अधिकृत राममणि अधिकारी लगायतले भौतिक पूर्वाधार निर्माणले विद्यालयमा अध्ययन अध्यापन कार्य सहज बन्नुका साथै यसले शैक्षिक गुणस्तरियता कायम गर्न पनि सहयोग पुग्ने बताए। रासस

पहिलो किस्ताको रकम दुरुपयोग गर्नेलाई दोस्रोमा सहभागी नगराईने- प्राधिकरण

काठमाडौं, ५ असोज । भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान लिएको जानकारी प्राप्त हुन आएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको छ । गलत विवरण पेश गरी, झुक्याई वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान सम्झौता गरी आफूले पेश गरेको विवरण झुठ्ठा ठहरे कारवाहीका लागि मञ्जुर गरी सम्झौता गर्ने गरेकोमा सम्झौताको शर्तलाई उल्लघंन गरेको जानकारी प्राप्त भएका छन् । भूकम्प पीडित जनताले प्राप्त गर्ने रकम गलत विवरण पेश गरी अनुदान लिएमा, उजुरी परेमा र छानविनपछि दोषी देखिएमा सरकारले प्रचलित कानून बमोजिम कारवाही गरी सरकारी बाँकी सरह असूल उपर गर्ने प्रावधान रहेकोले सम्झौता बमोजिम अनुदान रकम सदुपयोग गर्न, घर बनाउने काममा मात्र उपयोग गर्न र घर बनाउने समयमा मात्रै सुविधा अनुसार बैंकबाट रकम भुक्तानी लिन अनुरोध छ । पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्तामा सहभागी नगराउने कानूनी प्रावधान रहेको समेत सबैलाई जानकारी गराइएको छ । त्यसैले गलत विवरण पेश गरी अनुदान सम्झौता गरेकालाई रकम नलिन र लिइसकेको भएमा तत्काल फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ । भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका, एकै परिवारको सदस्यको नाममा अर्काे स्थानमा घर नभएका र अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने सूचीमा परेकाले मात्र अनुदान सहयोग रकम प्राप्त गर्न सक्नेछन् । भूकम्प अतिप्रभावित ११ जिल्लामा भूकम्प पीडित जनतासँग अनुदान सम्झौता भई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता ५० हजार रुपैयाँ बैंकबाट वितरण गर्ने क्रम जारी छ । असोज ४ गतेसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको छ । भूकम्पबाट घर भत्किएका सबै घरधनीहरुलाई अनुदान वितरण प्रक्रियामा सहभागी गराइने नीति रहेकोले अनुदान प्राप्त गरेपछि भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गर्न प्राधिकरण सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।