जेनजी पुस्ताको माग सुनुवाइ गरेर सहज वातावरण सिर्जना गर्न इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले हालै २८ वर्षमुनिका युवाहरू (जेनजी)ले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यान गुमाएका र घाइते भएका घटनाप्रति दुःख व्यक्त गरेको छ । संस्थाले घटनाबाट उत्पन्न चिन्ताजनक अवस्था सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । विभिन्न स्थानमा मंगलबार पनि विरोध प्रदर्शन जारी रहेको बेलामा असहज परिस्थितिपछि सबै प्रदर्शनकारीहरूलाई थप हानि हुनबाट बचाउन इप्पानले माग गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले प्रदर्शनकारीले उठाएका भ्रष्टाचार अन्त्य गर्ने, जवाफदेहिता प्रदान गर्ने र नागरिक स्वतन्त्रता सुनिश्चित गर्ने जस्ता वैध माग सरकारबाट यथोचित सुनुवाइ हुनुपर्ने माग गरे ।  'घटनाको सत्यतथ्य छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्दछौँ,' उनले भने । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै इप्पानले उनीहरुको उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीलाई अपिल गरेको छ । शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा अनावश्यक बल प्रयोग हुनु लोकतान्त्रिक मूल्य र संविधानविपरीत भएको इप्पानको ठहर छ ।

ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भ विद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिए । ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान हुनेछ । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढ्छ,’ उनले भने ।  ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानी भन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको मालिका गाउँपालिका-३ का ७२ वर्षीय विसराम पटेलले बताए । यस तामाखानीमा दैनिक २ सय भन्दा बढी कामदारले काम गर्नुका साथै प्रत्येक दिन सात÷आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले जानकारी दिए । तामाखानीमा दुइवटा मुहान रहेका छन् । ती मुहानको लम्वाइ २५० देखि ५ सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । २ सय मिटर भित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् । वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखित रुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको मालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी भएका प्रभावित क्षेत्र ओखरबोट र खटेनका बासिन्दाले वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन माग गरिएको स्थानीय दीपक पटेलले बताए । ‘खानी उत्खनन भयो भने पुस्तौँअघिदेखि बसोबास गर्दै आएको थातथलो छोड्नुपर्ने हुन्छ । उत्खनन अघि बस्ती स्थानान्तरण र रोजगारीको अवसरमा प्रभावितलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने । स्थानीय खनेलहरुले रैथाने प्रविधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका-४ (साविक ओखरबोट-८) खटेनडाँडास्थित तामाखानी मुख्य हो । धवलागिरि गाउँपालिका-१ गुर्जा, ५ मल्कवाङ, ७ मच्छिम, रघुगङ्गा गाउँपालिका-६ ठाडाखानी, ८ चौरसहित २१ ठाउँमा तामाखानी छन् । खानीहरू सञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानीय ‘खनेल’हरुको सीप पुस्तान्तरण हुनसकेको छैन । म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल जातीको परम्परागत पेसा खानी खन्ने थियो ।

रिभर फल्सको हकप्रद सेयर बिक्री खुला, १ कित्ता हुने नयाँ १ कित्ता सेयर पाउने

काठमाडौं । रिभर फल्स पावरले आज भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका ७० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।