४४.५ मेगावाटको सानीभेरी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, अनुमानित लागत ९ अर्ब

काठमाडौं । रुकुम पूर्वमा निर्माण हुने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । आयोजनाको प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालि र नेपाल विद्युत प्राधिकरणबीच बुधबार पीपीएमा हस्ताक्षर भएको हो । आयोजनाले उत्पादन गरेको विद्युत हिउँद याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत प्राधिकरणले खरीद गर्ने गरी सम्झौता भएको छ । आयोजनाका तर्फबाट एक्सपर्ट ग्रुपका अध्यक्ष जयराम अर्याल र विद्युत प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले स्मझौतामा हस्ताक्षर गरेका छन् । एक्सपर्ट ग्रुपमा अष्ट्रेलियामा बसेर शैक्षिक क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरूको लगानी छ । रुकुमपूर्वको पुठा उत्तरगंगा र सिस्ने गाउँपालिकामा निर्माण हुने आयोजना सानी भेरी खोलामा निर्माण हुनेछ । १४५ मिटर हेड रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३६.८ घनमिटररप्रतिसेकेण्ड रहेको छ । आयोजनामा ४ हजार ३०० मिटर सुरुङमार्ग र ३१० मिटर पेनस्टक पाइप प्रयोग हुनेछ । आयोजनाले आयोजनाको विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सवस्टेशनसम्म १३२ केभी क्षमताको २० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने छ । त्यस्तै १० किलोमिटर पहुँचमार्गको पनि स्तरोन्नती गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणको अनुमानित लागत ९ अर्ब रुपैयाँ रहेको छ । यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको एक्सपर्ट हाइड्रोका अध्यक्ष जयराम अर्यालले बताए । आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति २०८४ पुषभित्र रहेको छ । आयोजनाबाट वार्षिक रुपमा २८३.३७ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुने छ ।

नारायणघाट–बुटवल सडक : म्याद सकिन डेढ महिना बाँकी छँदा ४० प्रतिशत प्रगति

त्रिवेणी । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै  छ । यो अवधिमा  आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न गरेको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर धिरज ढकालले बताए । ‘पूर्वी खण्डमा ४० प्रतिशत काम सकिएको छ, कालोपत्र गर्ने, सानाठूला पुल निर्माण गर्ने लगायतका कामसँगै अघि बढिरहेको छ’, ढकालले भने । पूर्वी खण्डमा रहेका १२ ठूला पुलमध्ये नौ वटामा सब स्ट्रक्चरको काम सकिएको, दुईमा सब स्ट्रक्चरको काम हुँदै र एउटामा फाउन्डेसनको काम चलिरहेको उनले बताए । सो खण्डमा रहेका २२ साना पुलमध्ये २१ मा काम सुरु गरेकामा  १८ पुलको दुवैतर्फको काम सकिएको छ । तीनमा एकतर्फी काम सकिएको उनले बताए । विगत वर्षमा वर्षामा डाइभर्सनमा क्षति पुग्दा राजमार्ग बन्द हुने अवस्था रहेकामा अहिले त्यो समस्या नहुने इन्जिनियर ढकालले बताए । अहिले सबैजसो स्थानमा पुलबाटै गाडी सञ्चालन गर्ने अवस्था रहेको उनले बताए । कतै–कतै कल्भर्ट भएका स्थानमा केही समस्या देखिए पनि वर्षामा यातायात सञ्चालनमा ठूलो समस्या नपर्ने उनले बताए । निर्माण कम्पनीले पहिलो पटक थप गरिएको म्याद सकिन लाग्दा करिब दुई वर्षका लागि म्याद थपको प्रस्ताव गरेको छ । विसं २०७९ साउनमा निर्माण सम्झौताको पहिलो म्याद सकिएपछि विसं २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको थियो । यस अवधिमा काम सम्पन्न हुन नसकेपछि आयोजनाले करिब दुई वर्ष म्याद थपको प्रस्ताव गरेको इन्जिनियर ढकालले बताए। ‘निर्माण कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ, मागे जति म्याद थप हुँदैन, अहिले मूल्याङ्कन गर्ने काम हुँदै छ, सोहीअनुसार यस विषयमा पछि निर्णय हुन्छ’, उनले भने । नारायणगढ–बुटवल सडक विस्तार आयोजना विसं २०७५ चैतमा सुरु गरी करिब साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटर सडकलाई  खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । करिब १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा अघि बढाइएको हो ।  रासस

कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

जानकी । बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क साउनको पहिलो हप्ताबाट सञ्चालनमा आउने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरेपछि लामो दूरीमा सञ्चालन हुने बस उक्त बसपार्कबाट सञ्चालनमा आउने भएका हुन् । ३० करोड ६२ लाख सात हजार सात सय एकको लागतमा निर्माण गरिएको उक्त नयाँ बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ । नगरप्रमुख पूर्ण आर्चायका अनुसार बसपार्क निर्माणका लागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत नगरपालिका आफैँले लगानी गरेको जनाकारी दिए । उनका अनुसार नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ । तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ तिर्ने गरी ठेक्कामा दिइएको छ । उक्त नयाँ बसपार्कमा बस पार्किङ, टिकट काउन्टर, शपिङ कम्प्लेक्स लगायतका संरचना छन् । बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । बसपार्क उद्घाटन भए पनि बसपार्कको संरचनासँगै निर्माण गरिएको चारतले टर्मिनल भवनको भने ठेक्का लाग्न नसकेको प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । टर्मिनल भवन ठेक्काका लागि पाँचौँ पटक बोलपत्र आह्वान गरिएको र बोलपत्र आह्वान गर्ने समय अझै बाँकी रहेको उनले बताए । उक्त नयाँ बसपार्कमा २० लामो दूरीका बस, २२ मध्यम दूरीका सवारी साधन तथा गाडी र अटोसहित ७९ छोटो दूरीका सवारी साधन अट्ने क्षमता रहेको बसपार्कमा ५९ व्यावसायिक सटर, तीन ब्लकमा २७ शौचालय (तीन अपाङ्गमैत्री), २४ टिकट काउन्टर, ग्यारेजसहित दुई विद्युतिय चार्जिङ सेन्टर, प्रहरी सुरक्षा कक्ष, स्तनपान कक्ष र धुम्रपान कक्ष निर्माण गरिएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न सो बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुरले लिएको थियो । बागेश्वरी यातायात प्रालिले बसपार्क व्यवस्थापनसँगै प्रवेश, टिकट काउन्टर, शौचालय मर्मतसम्भार, ब्लक र पार्किङको व्यवस्थापनको जिम्मा लिएको छ । उक्त अत्याधुनिक नवनिर्मित बसपार्क शपिङ कम्प्लेक्ससहित निर्माण भएको छ । रासस