नागढुङ्गा सुरुङमार्ग ब्रेक-थ्रुकाे ब्यग्रता, पाँच सय २५ मिटर सुरुङ मात्रै खन्न बाँकी
काठमाडौं । मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । काठमाडौँ उपत्यका प्रवेश विन्दु मानिने नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ । सुरुङमार्गको मुख्य टनेल निर्माण हुन अब पाँच सय २५ मिटर बाँकी छ भने आपत्कालीन अवस्थामा उद्धारका लागि निर्माण गरिएको ‘रेस्क्यू टनेल’को ७४ मिटर खन्न बाँकी छ । यो विवरण गत असार २९ गतेसम्मको भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाको मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर रहेकामा पूर्वतर्फबाट नौ सय ६९ मिटर र पश्चिमतर्फबाट एक हजार एक सय ९३ मिटर गरी कूल दुई हजार एक सय ६३ मिटर बराबर सुरुङ निर्माण भइसकेको छ । यसैगरी आकस्मिक उद्धारका निर्माण गर्न लागिएको ‘रेस्क्यू टनेल’को कुल दुई हजार पाँच सय ७५ मिटरमध्ये हालसम्म पूर्वतर्फबाट एक हजार तीन सय एक मिटर र पश्चिमतर्फबाट एक हजार दुई सय मिटर सुरुङ खनिएको छ । यस्तै मुख्य र सहायक सुरुङ जोड्ने क्रस प्यासेज एक सय १५ मिटर खनिएको छ । त्यसको लम्बाइ एक सय २८ मिटर बराबर छ । हालसम्म सुरुङ निर्माणको भौतिक प्रगति ८९ दशमलव २० प्रतिशत बराबर छ । समग्रमा आयोजनाको कूल भौतिक प्रगतिक ५५ दशमलव १३ प्रतिशत र वित्तीय प्रगति ५८ दशमलव ७० प्रतिशत बराबर छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री गङ्गालाल तुलाधर, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत उच्चस्तरीय टोलीले आज आयोजना स्थल निरीक्षण गरेको हो । स्थलगत निरीक्षणपछि मन्त्री ज्वालाले आयोजनाको काम तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै सानाभन्दा साना समस्या समाधानका लागि मन्त्रालयले अधिकतम प्रयास गरिरहेको उल्लेख गरे । आयोजनाका अनुसार अबको केही दिनमा ‘रेस्क्यु टनेल’ निर्माण सम्पन्न गर्ने र निकट भविष्यमै मुख्य सुरुङसमेत खनिसक्ने तयारी छ । आगामी एक वर्षभित्रमा सवारी साधन नै चलाउन सकिने गरी तीव्ररूपमा काम अगाडि बढेको सम्बद्ध अधिकारीले जनाएका छन् । सुरुङमार्ग विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि थप गरिएको छ । पछिल्लो पटक थपिएको समयअनुसार विसं २०८१ को असोजसम्म पूरा गर्नुपर्ने छ । मुलुकका प्रमुख सहरसँग सम्पर्क गर्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक नारायणगढ–मुग्लिन–नौबिसे–काठमाडौँ खण्डमा पर्ने नागढुङ्गा भञ्ज्याङमा सुरुङमार्ग निर्माण गरिएको हो । सरकारले २०६९ माघमा विभिन्न चरणको सर्वेक्षणको काम सम्पन्न गरेको थियो । सुरुङमार्गले सडकमार्गको अवस्था सुधार हुने अपेक्षा गरिएको छ । देशका अन्य स्थान तथा प्रमुख सहरसँगको यातायात सम्पर्क भरपर्दो हुने, समय यातायात सञ्चालन खर्चमा बचत हुनाका साथै यात्रासमेत सुरक्षित हुनेछ । आयोजनाको कूल लागत २० अर्ब ६० करोड बराबर छ । त्यसमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का तर्फबाट ( १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट ( चार अर्ब ८० करोड बराबर उपलब्ध गराइएको छ । जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको सो ऋणको ब्याजदर शून्य दशमवल शून्य एक प्रतिशत छ । सुरुको १० वर्षपछि मात्रै ब्याज लाग्ने गरी चुक्ता समय ४० वर्ष तोकिएको छ । नेपाल सरकार र जापान सरकारबीच २०१७ डिसेम्बर २२ मा ऋण सम्झौता भएको थियो । जापानी कम्पनी हाजमा एन्डो करर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ । आयोजनामा हाल बलम्बुमा ‘फ्लाईओभर’ निर्माण भइरहेको छ । साथै पूर्व र पश्चिमतर्फको पहुँच सडक निर्माण भइरहेको छ । पश्चिमतर्फको पहुँच सडकमा हेवा पर्खाल निर्माण र अन्य काम जारी छ । आयोजनाको पूर्वतर्फ करिब ६० वटा घरमा दरार देखिएकाले स्थानीयले पटक पटक काममा अवरोध गर्ने गरेका छन् । सो समस्या समाधानका लागि भवन विभागले आवश्यक अध्ययन सुरु गरेको छ । विभागले दिने प्रतिवेदनका आधारमा क्षतिपूर्तिको रकम निश्चित गरी समााधान गर्ने तयारी छ । यसैगरी आयोजनाको पश्चिमतर्फ पहिरो रोकथामका लागि केही स्थायी प्रकृतिका संरचना निर्माण गर्नुपर्नेछ । सो कार्यका लागि स्थानीयवासीले पटक पटक आग्रह गर्दै आएका छन् । पहिरो नियन्त्रणका लागि आवश्यक जग्गा अधिग्रहण गर्नुपर्नेछ । मुआब्जा वितरणका लागि आयोजनाले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिसकेको छ । त्यस्तै, बलम्बुमा एउटा घर भत्काउने विषयमा सहमति हुन सकेको छैन । घरको मुआब्जा र स्वामित्व विवादका कारण समस्या उत्पन्न भएको छ । नक्सा र लालपुर्जामा जग्गाको क्षेत्रफल फरक परेको, मुआब्जा अस्वीकार गरेको तथा मुआब्जा बुझेर पनि घर भत्काउन अटेर गरेको पाइएको छ । जग्गा सडक र राजकुलोको मापदण्डमा परेकाले थोरै मात्र जग्गा बाँकी रहने भएकाले स्थानीयले पूरै जग्गाको मुआब्जा माग गरेको अवस्था छ । सरकारले आयोजनालाई प्रमुख प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री ज्वालाले आवातजावतमा सहजताका निम्ति कुनै पनि कसर बाँकी नराखिने बताए । सो आयोजनाले नेपालको समृद्धिमा योगदान पुर्याउने र सुरुङ युगमा लगेको समेत उनको भनाइ छ । रासस
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी
मलेखु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले बताए । मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए । अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको उनले बताए । सुरुङमार्गको विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ । रासस
पुल बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल निर्माण, आजदेखि यातायात सुचारु
काठमाडौं । अविरल बर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेचि राजमार्ग आजदेखि पूूर्णरुपमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । ३ असारमा आएको बाढीले मेचि राजमार्ग अन्र्तगतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको सम्बन्ध बिच्छेद भएको थियो । पुल बगेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त क्षेत्रमा पुगेर तत्काल निर्माण सक्न निर्देशन दिएका थिए । मन्त्रीले निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा आएको छ । निरन्तरको बर्षाले समयमा काम गर्न नदिएपनि २८ दिनभित्र नयाँ बेलिब्रिज निर्माण गरी आजदेखि सवारी साधन सुचारु गरिएको महानिर्देशक ढकालले बताएका छन् । महानिर्देशक ढकाल दुई पटक बाढी प्रभावित क्षेत्रमा पुगेका थिए । बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । बनाएको डाइभर्सनपनि दुई पटक वाढीले बगाएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्षातको समयलाई लक्षित गरी टास्क फोर्स निर्माण गरेको छ । भौतिक संरचना क्षति भएको ठाउँमा तत्काल पुर्ननिर्माण थाल्न टास्क फोर्स बनाएको हो ।