घोराही–तुलसीपुर चारलेन सडक मर्मत सुरु

तुलसीपुर । दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ‘पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ’, उनले भने, ‘अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ ।’ हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने हुने प्रमुख अधिकारीको भनाइ थियो । घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ । घोराही क्षेत्रमा एक करोड ४२ लाख ५५ हजार रुपैयाँ र तुलसीपुर क्षेत्रमा एक करोड १६ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का लगाइएको हो । घोराही–तुलसीपुर चार लेन सडक मर्मतका लागि तीन करोड बजेट विनियोजन गरिएको थियो । चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो । यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरु गरिएकामा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भातुभुङ्ग हुँदा दुर्घटना बढेको थियो । सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो । ठेक्का तोडिएसँगै  तीन करोडको लागतमा सडक मर्मत गर्ने कार्य गरिने प्रमुख अधिकारीले बताए । ‘चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो’,उनले भने । असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ । वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताए । सडक मर्मत सुरु भएपछि यात्रु भने खुसी भएका छन् । ‘सडकमा खाल्डाखुल्डीले वर्षाको समयमा झनै समस्या बनाएको छ’, तुलसीपुर– ५ निवासी मोटरसाइकल चालक विजय नेपालले भने,’पहिलेकै सडक मर्मत भए धेरै सहज हुन्थ्यो ।’ रासस

म्याग्दीमा १३ पक्की पुल निर्माण, गाउँगाउँमा मोटर गुड्न थाले

म्याग्दी । म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । उनका अनुसार छ पुल निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन भइसकेका छन् । अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताए । उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल निर्माणसँगै विकट ग्रामीण बस्ती पालिकाका केन्द्र र सदरमुकामसँग जोडिएका छन् । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नं ५ अर्मनलाई केन्द्रसँग जोड्न म्याग्दी खोलामा  ११ करोड २४ लाख २५ हजार ५२ लागतमा निर्माण भएको पुलबाट यातायातका साधन सञ्चालन भइरहेका छन् । विसं २०७५ पुस २५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । कोरोना सङ्क्रमणका कारण निर्माण ढिला भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । पुल ८० मिटर लम्बाइको छ । त्यस्तै,  १० करोड ७२ लाख १२ हजार लागतमा बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिका–३ वरङ्जालाई जोड्ने पक्की पुल निर्माण भएको छ । उक्त पुलको लुम्बिनी प्राकृतिक जेभीले निर्माण गरेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका–७ भारबाङघाटमा पक्की पुल निर्माण गरेको छ । भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग  छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा  एक करोड ९३ लाखमा पक्की पुल निर्माण भएको छ । उक्त पुल निर्माणका लागि इन्द्रेणी फेवा जेभीले ठेक्का सम्झौता लिएको थियो । बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा  दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो । म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन् । अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका–६ का प्रेम सिउथानीले बताए । गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्न थालिएको स्थानीयको भनाइ छ । रासस

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सक्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गरेका छन् । छलफलबाट प्रसारण लाइनको निर्माण यही साउनभित्रमा सम्पन्न गर्ने नयाँ तालिका तय गरिएको छ । छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारण लाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिए । उनले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाह गर्न सजिलो हुने उल्लेख गरे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमानै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने २३५ वटा टावरहरुमध्ये २३४ वटा निर्माण सम्पन्न भइसकेका छन् । रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन छ । पर्वत, पाल्पा र रुपन्देहीमा गरी गरिब ७ किलोमिटर तार नान्न बाँकी छ । आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट ९मल्टी सर्किट० लाइनका लागि टावरहरु निर्माण सम्पन्न गरी करिब ८ किलोमिटर डबल सर्किट तार तानिएको छ । कालीगण्डकी रयसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ । नयाँ बुटबल–बर्दघाट प्रसारण लाइन पुसभित्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ । प्रसारण लाइनका टावर र मार्गधिकार ९राइट अफ वे० लागि ५०.३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका ५ हजार ८ सय रुख हटाउनु पर्ने छ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएवापत २७ करोड ९९ लाख ४९ हजार रुपैयाँ वन विकास कोषमा जम्मा गर्नु पर्ने छ । यसमध्ये आयोजनाले पहिलो किस्तावापत ३ करोड ५१ लाख रुपैयाँ कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो । २१ किलोमिटर प्रसारण लाइनका लागि ५६ वटा टावर निर्माण गर्नु पर्ने छ । यसमध्ये २१ वटाको जग हालिएको छ । ५ वटा टावर खडा गरिएको छ । प्रसारण लाइनका अधिकांश उपकरणहरु आयोजना स्थलमा आपूर्ति भइसकेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमध्ये आयोजनाले तान्नु पर्ने डबल सर्किट तार तान्न सुरु गर्न निर्देशन दिए । आयोजनाअन्तर्गत भुमहीमा २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।