८० प्रतिशत काम सम्पन्न भएपछि सडकको बजेट रोकियो

भरतपुर । भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको अन्तिम चरणमा पुग्दै गर्दा सरकारले योजनामा नै राखेको छैन । उनले भने, ‘एउटा ठेक्का ९७ प्रतिशत र अर्को ठेक्का ७० प्रतिशत सकिएको छ, तर सरकारले यो आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छैन ।’ योजनामा नपरेपछि सडक विभागमा आफूले पत्राचार गरेको उनले बताए ।  बाइपास सडक निर्माणका लागि पहिलो ठेक्का केन्द्रीय बस टर्मिनलबाट विशाल चोकसम्म र दोस्रो ठेक्का विशाल चोकबाट आँपटारीसम्म लागेको थियो । पहिलो ठेक्का चार किलोमिटर सडक दुई लेन बनाउनका लागि ठेक्का गरिएको भए पनि स्थानीयको मागसँगै त्यसलाई छोट्याएर दुई किलोमिटर चार लेन निर्माण गरिएको हो । यो ठेक्काको काम ९७ प्रतिशत सकिएको छ । गौरी पार्वती निर्माण सेवासँग १२ करोड रुपैयाँमा ठेक्का सम्झौता भइ काम भइरहेको छ । अहिले यो सडक सम्पन्न हुन केहीमात्रै बाँकी रहेको उनले बताए । उनका अनुसार रायमाझी पशुपति जेभीले ठेक्का सम्झौता गरेर काम गर्दै आएको दोस्रो ठेक्काको कामसमेत ७० प्रतिशत सकिएको छ । मङ्सिर महिनाभित्र पूर्णरूपमा सम्पन्न गर्ने गरी काम भइरहेको सो ठेक्काका लागि २९ करोडमा सम्झौता भएको थियो । अहिले फुटपाथ निर्माणको काम भइरहेको भए पनि बजेट नहुँदा कार्य पूरा गर्न कठिन भएको उनले बताए । उनले भने, ‘ठेकेदार कम्पनीले बिल भुक्तानीका लागि निवेदन दिइसकेका छन्, कार्यालयसँग बजेट छैन ।’ सम्झौताअनुसार निकासा दिनुपर्ने बजेटसमेत निकासा दिन नसकिएको उनले बताए ।  यो सडक गत आर्थिक वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा बजेटको कठिनाइका कारण काम हुन नसकेको उनको भनाइ छ । रासस

विद्युतीय सवारीको लागि विद्युतको शतप्रतिशत ग्यारेन्टी : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले विद्युतको शतप्रतिशत ग्यारेन्टी गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीलाई विद्युत सुनिश्चित गर्न सकिने बताएका हुन् । विद्युतीय सवारी वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट आयात गरेर भएपनि प्राधिकरणले विद्युत ग्यारेन्टी गर्ने घिसिङले बताए । ‘भारतबाट विद्युत नै आयात गर्दा पनि चार रुपैयाँमा पर्छ । पेट्रोलियम पदार्थ आयात गर्दा १५ रुपैयाँ पर्छ । विद्युत अभाव हुन्छ भन्ने कुरामा डराउन भएन । विद्युतको शत प्रतिशत ग्यारेन्टी गर्नसक्छौं’, घिसिङले भने । अहिले विद्युत निर्यात भइरहेको सन्दर्भमा विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने भन्ने कुरै नहुने उनले बताए । हेरक वर्ष एक हजार मेगावाट विद्युत थप भइरहेको र विद्युतीय सवारी बढ्दा प्राधिकरणलाई पनि नाफा हुने उनले बताए ।

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयका रुपमा विकास गरिने, एक अर्ब रुपैयाँ लाग्ने अनुमान

काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरु निर्माण गरिने छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, वालउद्यानलगायतका संरचनाहरु निर्माण गरिने छन् । जलविद्युत केन्द्रका संरचनाहरुलाई जीर्णोद्धार गरी संग्रहालयको रुपमा विकास गरिने छ । परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरु निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्गृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ । प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुग्नु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री वस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतृगृहलगायतका संरचाहरुको अवस्थाका बारेमा अवलोकन गरेका थिए । मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनु पर्ने बताउनुभयो । उहाँले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक बृद्धि हुने गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनु पर्नेमा जोड दिए । ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्र्दयलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रुपमा विकासका कार्यहरु अगाडि बढाइने उल्लेख गरे । फर्पिङ जलविद्युत केन्द १९६८ जेठ ९ गतबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्षलगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो । केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसंभार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।