अव्यवस्थित विकासले बर्खामा सकस, सडक सञ्चालन नहुँदा जनजीवन कष्टकर
ढोरपाटन । बागलुङमा हरेक वर्ष हिउँद लाग्नासाथ नयाँ–नयाँ ठाउँमा सडकको ‘ट्र्याक’ खुल्छन् । ट्र्याक खुलेका सडकमा वर्षौंसम्म गाडी गुड्दैनन् । बर्खा लाग्यो भने ती सडक भत्किएर बग्छन् । बस्तीमाथि रहेका सडकले त झन् सिङ्गो गाउँलाई नै जोखिममा पर्ने गर्दछन् । जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका ग्रामीण सडक बन्द भएको डेढ महिना बित्यो । असार पहिलो सातादेखि नै बन्द भएका सडक अहिलेसम्म बन्द नै छन् । वर्षाका कारण पहिराले अवरुद्ध बनेका सडक अब असोज लागेपछि मात्रै खुल्नेछन् । कतिपय सडक पहिराले त कतिपय खोलामा पानीको बहाव बढ्दा बन्द छन् । धेरैजसो अव्यवस्थित रुपमा निर्माण भएका संरचनाले नै अवरुद्ध गरेका छन् । ग्रामीण सडक त अवरुद्ध छँदै थिए, समय–समयमा शाखा सडकबाट आउने भेल र बाढीले राष्ट्रिय लोकमार्ग पनि अवरुद्ध हुँदै आएको छ । अव्यवस्थित र वातावरणीय प्रभाव मूल्याङ्कन बिना निर्माण भएका शाखा सडकले राष्ट्रिय राजमार्गसमेत क्षतविक्षत बन्दा सयौँ सवारी साधन र हजारौँ यात्रु बेला–बेला अलपत्र पर्दै आएका छन् । ग्रामीण सडक सञ्चालन नहुँदा जनजीवन नै कष्टकर हुँदै आएको छ । निसीखोला गाउँपालिका–४ ओखरेनीमा केही वर्ष अगाडि मोटरबाटो पुग्यो । मोटरबाटोले स्थानीयवासीलाई सहज त बनायो तर बर्खामा धेरैलाई उठिबाससमेत लगाएको छ । ओखरेनी गाउँमा पुगेको मोटरबाटोले सोही गाउँको विभिन्न टोल चिनारे गाउँ नै पहिराको उच्च जोखिममा परेको छ । हरेक वर्ष गाउँका दर्जन घर पहिराको जोखिममा पर्ने गरेका छन् । हिउँदमा जसोतसो गाडी चले पनि बर्खा लाग्नासाथ कच्ची भू–भागका कारण यातायात ठप्प हुन्छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिना सडक निर्माण गर्दा गाउँ नै पहिराको जोखिममा परेको स्थानीयवासीको गुनासो थियो । गाउँमा पुगेको उक्त सडकबाट भलसहितको लेदोले मध्यपहाडी लोकमार्गको धरमशाला कालापैरामा दिनदिनै सडक अवरुद्ध गराउँदै आएको छ । पानी पर्नेबित्तिकै माथिदेखि भल आएर एकै छिनमा सडक पुरीदिँदा लोकमार्ग अवरुद्ध हुने गरेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले बताए । बर्खा लागेदेखि थापागाउँ, बडाचौरलगायत गाउँका सडक बन्द रहेको उनको भनाइ थियो । अब नयाँ सडक निर्माण गर्न रोकेर पुरानालाई स्तरोन्नति गर्ने गरी योजना बनाइएको उनले बताए । धेरै सडक निर्माण गर्दा बस्तीसँगै पर्यावरणमा असर पुग्ने भन्दै अब सडक दीर्घकालीन रुपमा चल्ने गरी निर्माण गरिने उनले उल्लेख गरे । ’स्थानीय तह अगाडि कुनै पनि गाउँमा सडक पुगेका थिएनन्, पालिकाले सबै ठाउँमा सडक पु¥याउने योजना बनाएको थियो, सोहीअनुसार धेरै गाउँमा सडक पुगे, अहिले मोटरबाटो नपुगेको कुनै पनि गाउँ छैन,’ अध्यक्ष पौडेलले भने, ’धेरै ठाउँमा सडकका कारण बस्ती विस्थापित हुने अवस्था आएको छ, हाम्रोमा त त्यो समस्या छैन अहिलेसम्म, हिउँदमा चल्ने, बर्खामा नचल्ने सडकलाई अब बाह्रै महिना सञ्चालनमा ल्याउने गरी काम थालेका छौँ ।’ जिल्लाको तमानखोला गाउँपालिकाका सबै ग्रामीण सडक असारदेखि नै ठप्प छन् । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म चल्ने सडक नियमित चले पनि अन्य सडक बन्द छन् । बडिगाड, ढोरपाटन, गलकोटलगायत ठाउँका ग्रामीण सडक पनि बर्खामा चल्दैनन् । भौगोलिक अवस्था, सरोकारवालाको बेवास्ता तथा गाउँगाउँमा मनपरी सडक खन्ने प्रवृत्तिका कारण ग्रामीण र मुख्य सडक क्षतविक्षत हुँदै गएको स्थानीयवासी प्रेमबहादुर पुनले बताए । पुराना सडकलाई बेवास्ता गर्ने र मनपरी नयाँ शाखा सडक खन्ने प्रवृत्तिका कारण बर्खामा सडक सञ्चालन हुन नसक्ने उनको भनाइ थियो । ’काम परेर बजार जान पर्यो भने दुई÷तीन ठाउँ गाडी परिवर्तन गर्नुपर्छ, गाउँतिर निकै समस्या हुन्छ, पानीका कारण ठाउँ–ठाउँमा सडक बिग्रिएको छ, यात्रा गर्न निकै गाह्रो,’ स्थानीयवासी पुनले भने, ’बर्खामा सबैभन्दा धेरै पहिरो सडकमै जाने गरेको छ, सडक खन्ने बेला नाप जाँच गरेर निर्माण गरेको भए, बर्खामा यस्तो समस्या आउने थिएन, हामी भुइँ मान्छेको कुरा कसैले सुन्दैनन् ।’ बागलुङमा निर्माण भएका कतिपय ग्रामीण सडक सरकारी मापदण्ड विपरीत वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै खनिएका छन् । यस्ता सडक प्राविधिक दृष्टिले जोखिमयुक्त मानिन्छन् । वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सडक खन्ने होडबाजीका कारण पहिराको जोखिमका साथै गाउँ नै कुरूप हुँदै गएका छन् । सबैलाई पायक पर्ने एउटै सडक निर्माण गरी सोही सडकलाई फराकिलो बनाएमा मात्र समस्या केही समाधान हुने स्थानीयवासी तिलबहादु घर्तीले बताए । उनले गाउँ–गाउँमा निर्माण भएका सडक निकै साँघुरा र दुर्घटना नित्याउने खालका भएको छ भने । नयाँ सडक खोल्नका लागि सरोकारवाला निकायले चासो दिएको स्थानीयवासी घर्तीले गुनासो गरे । उनले भने, ’बाटो अलि फराकिलो बनाउनुपर्छ, गाउँ–गाउँमा पुगेर हेर्ने हो भने त्यहाँ बनेका सडकमा मोटरसाइकल पनि गुड्दैनन्, गाडी गुड्ने त कुरै भएन, हिउँदमा बाटो खन्छन्, बर्खामा बगाउँछ, विकास दीर्घकालीन हुन सकेको छैन, जहाँ पनि बाटो मात्रै खनेको देखिन्छ, अरू विकास कम भएको पाइन्छ ।’ रासस
नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ब्रेक–थ्रू [फोटो फिचर]
काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ब्रेक–थ्रू भएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा रेस्क्यू टनेल ब्रेक–थ्रू भएको हो । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम आजबाट सकिएको छ । २.६ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम भने १८ प्रतिशत बाँकी रहेको बताइएको छ । मुख्य टनेल ब्रेक–थ्रू हुनका लागि अब ५ सय ६ मिटर खन्न बाँकी रहेको बताइएको छ ।
मुग्लिन–मलेखु सडक विस्तार थालियो
मुग्लिन । मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । उनान्चालीस किलोमिटर लामो सो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गरिरहेको कार्कीले बताए । पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ। शर्मा जेडआइसिजी जेभीका शिवप्रसाद लामिछानेले चैतदेखि उक्त यो सडकखण्डको काम तीव्रगतिमा गरिरहेको बताए । उनले बर्खाको समयमा निर्माणको कामलाई जारी राखेको बताए । ’वर्षाले असर नगर्ने ठाउँमा काम भइरहेको छ’, उनले भने, ’पहिरो नजाने ठाउँमा भित्तो काट्ने काम भइरहेको छ ।’ सडक नभासिने ठाउँमा पर्खाल निर्माण भइरहेको छ । ’निर्माण सुरु गरेदेखि काम रोकिएको छैन । बर्खामा त काम गरिरहेका छौँ । लक्ष्य अगावै निर्माणको काम सक्ने योजना छ ,उनले भने ।’ उनले सडक निर्माणका क्रममा वन र विद्युत्को समस्या नआएर समयमै काम सम्पन्न हुने बताए । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् । आयोजनाको यो खण्ड चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् । ’यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ,’ आयोजना प्रमुख कार्कीले भने, ’पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना रहुन्छ ।’ सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ । सङ्घीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने दबाब छ । नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोगमा उक्त राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । रासस