यस वर्ष उपत्यकामा २७ पार्क बनाउने विकास प्राधिकरणको तयारी

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए)ले उपत्यकाभित्र चालु आर्थिक वर्ष २०८०/८१ मा २७ वटा पार्क बनाउने तयारी गरेको छ । उपत्यका भित्रका अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यले पार्क निर्माण गर्ने योजना बनाएको केभीडीएले बताएको छ । केभीडीए अन्तर्गतका जिल्ला आयुक्तको कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा पार्क निर्माण गर्न लागेका हुन् । तीनवटै जिल्लाका आयुक्तका कार्यालयहरूले कात्तिक अगावै पार्क निर्माणको लागि ठेक्का सम्झौता गरिसक्ने केभीडीएका सूचना अधिकारी सौरब ढकालले बताए । ‘अर्थ मन्त्रालयले कात्तिक मसान्तभित्र ठेक्का सम्झौता गर्न र सम्झौता नभए बजेट फ्रिज हुन्छ भनेको छ, सोहीअनुरूप पार्क निर्माणको तयारी हुन्छ’, उनले भने । कहाँ–कहाँ बन्दै छन् पार्क ? काठमाडौं, भक्तपुर र ललितपुरमा निर्माण हुने छन् । ती जिल्लामा पार्क निर्माणको लागि चालु आर्थिक वर्षमा दुई करोडभन्दा बढी बजेट विनियोजन भएको छ । केभीडीएका अनुसार बुहुवर्षे पार्कलागि पनि बजेटमा रकम राखिएको छ । यस वर्ष सबैभन्दा बढी पार्क काठमाडौं जिल्लामा बन्ने केभीडीएको बजेटमा उल्लेख छ । जिल्ला आयुक्त कार्यालय भक्तपुरले भक्तपुरका विभिन्न स्थानमा तीन वटा पार्क निर्माण गर्दैछ । यस वर्ष चाँगुनारायण नगरपालिका–१ स्थित रोक्का गाउँमा पार्क निर्माण हुनेछ । त्यस ठाउँको सार्वजनिक जग्गा संरक्षणका लागि हरियाली सहितको पार्क निर्माण गर्ने भनिएको छ । उक्त पार्क निर्माणको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी, नगरकोट शान्ति डाँडामा निर्माण हुने पार्कको लागि पनि १५ लाख रुपैयाँ बजेट छुट्टयाइएको छ । भक्तपुर नगरपालिका– ८ र चाँगुनारायण नगरपालिका–९ स्थित ब्रह्मायणी मन्दिर परिसरमा पार्क निर्माणका लागि ५५ लाख रुपैयाँ बजेटको व्यवस्थापन गरिएको छ । यसैगरी जिल्ला आयुक्त कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको–३२ मा २५ लाख रुपैयाँको लगानी गरेर श्रृङ्खला गल्ली कोटेश्वरमा पार्क निर्माण गर्ने भएको हो । त्यसैगरी, बाग्मती किनारको सहयोगी नगरमा रहेको सार्वजनिक जग्गामा बगैंचा तथा पार्क निर्माण गर्नको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाकाले विभिन्न पाँच स्थानमा पार्क निर्माण गर्ने भएको छ । ६ नम्बर वडामा अवस्थित डुमाखाल जौटार चौरमा पार्क निर्माण गर्नको लागि १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । वडा नम्बर ७ स्थित दरबार क्षेत्र अन्तर्गत रहेको सार्वजनिक जग्गामा पार्क बनाउनको लागि केभीडीएले १० लाख रूपैयाँ बजेट रहेको जनाएको छ । वडा नम्बर ७ कै कार्की हाइट र अमरसिंह चोक स्थित दरबार क्षेत्र अन्तर्गतको सार्वजनिक जग्गामा पार्क बन्ने भएको छ । उक्त स्थानमा पार्क बनाउनको लागि ३० लाख रूपैयाँ बजेट छुट्टयाइएको केभीडीएले बताएको छ । आयुक्त कार्यालय काठमाडौंले सोही नगरको ७ र ८ नम्बर वडाको सिमानामा पर्ने गोठाटार किरियापुत्री भवन, धारासहित पार्क निर्माण गर्न लागिएको छ । जसको लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको केभिडिएले बताएको छ । त्यसैगरी, वडा नम्बर–२ को जालपादेविमा सामुदायिक क्रियापुत्री भवन र पार्क बनाउने योजना रहेको केभीडीएले बताएको छ । भवन र पार्क निर्माणको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको वडा नम्बर ४ मा चम्पादेवी पार्क बन्दै छ । यो बहुवर्षे आयोजना हो । जसको लागि यो वर्ष भने १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा रहेको पुच्चछर धारा पार्क निर्माण तथा खोला व्यवस्थापनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी, वडा नम्बर १३ बिध्यामन्दिर स्कुल अगाडि रहेको सार्वजनिक जग्गामा बगैंचा तथा पार्क निर्माणको लागि १५ लाख छुट्याइएको छ । टोखा नगरपालिका वडा नम्बर ९ को कार्यालयसँगै रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गरिने भएको छ । त्यसका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । तारकेश्वर नगरपालिकामा ४ वटा पार्क निर्माणको योजना छन् । नगरको वडा नम्बर ५ मा बिन्ध्बासिनी मन्दिर परिसर, वडा ६ को महांकाल मन्दिर परिसरमा पार्क निर्माण र वडा १ को विन्दवासिनी परिसरमा पिकनिक स्पोर्टसहित पार्क निर्माण गर्न १५/१५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । सोही नगरपालिकाकै वडा नम्बर–१ साङ्ला नयाँबस्ति रमाइलो डाँडा पार्क निर्माण लागि ३० लाख बजेट विनियोजन भएको छ । दक्षिणकाली नगरपालिकामा दुई वटा पार्क निर्माण गरिने भएको छ । नगरको वडा ७ मा रेटोरिकल पार्क निर्माणका लागि १० लाख रुपैयाँ र दक्षिणकाली मन्दिर परिसरमा पार्क निर्माण गर्न ४५ लाख बजेट विनियोजन भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मण्डीकाटारको फेदीमा रहेको राधाकृष्ण मन्दिर पार्क निर्माणको लागि २० लाख रुपैयाँ विनियोजन भएको छ । शंखरापुर नगरपालिका वडा नम्बर ८ स्थित शालीनदि पार्क निर्माणको लागि ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै सोही नगरपालिकाको वडा ९ खर्क डाँडा पिपलमा चौतारा निर्माण र ढिकुरे पाटी परिसरमा वाल र जेष्ठ नागरिक पार्क निर्माण को लागि २५ लाख बजेट विनियोजन भएको केभिडिएले बताएको छ । जिल्ला आयुक्त कार्यालय ललितपुरले जिल्लाभित्र तीन वटा पार्क बनाउने भएको छ । कार्यालयले महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा रहेको ढुङ्कोट र लुभु मावि पछाडिको सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण गर्ने भएको छ । सो ठाउँमा पार्क निर्माण गर्नको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । ललितपुर महानगरभित्र दुई वटा पार्क निर्माण हुने भएका छन् । महानगरको वडा नम्बर २५ सैंबु भैसेपाटीमा पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै महानगरकै वडा नम्बर २५ भैसेपाटीमा फूलबारी पार्क निर्माण गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । दुई पार्कको स्तारोन्नति हुने यस वर्ष पार्क निर्माण मात्र नभई पार्क स्तारोन्नती गर्ने विषय पनि वार्षिक बजेटमा समेटिएको छ । यस वर्ष भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर एक मनोरम नगर पार्कको स्तारोन्नति गर्नको लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यसैगरी, टोखा नगरपालिकाका वडा नम्बर ६ विन्ध्यवासिनी पार्क स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दबाबमा नेपाल विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ । मध्यकोटीशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावरहरु निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ । बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभएर मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिंदै आएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, आयोजना व्यववस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरेको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । कार्यकारी निर्देशक घिसिङले गत फागुनपछि निर्माण व्यवसायीले आफ्नो कार्यसम्पादनमा केही सुधार गरेको देखिएको बताए । श्रमिकको संख्या थप गरी निर्माणमा तिब्रता दिन निर्देशक दिंदै घिसिङले निर्माण प्रगतिको जानकारी लिन आफूले साप्ताहिक रुपमा सबस्टेसनस्थल आएर नियमित अनुगमन गर्ने बताउनुभयो । ‘पावर ट्रान्सफर्मरलगायतका सबस्टेसन राखिने उपकरणहरु निर्माण स्थलमा आइसकेका छन्,निर्माणमा ढिलाइ गर्नु पर्ने कुनै कारण नै छैन, निर्माणमा हाम्रोतर्फबाट सहजीकरण गर्न तयार छौं, तीन महिनाभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्नुपर्छ नत्र मध्यभोटेकोशीको विद्युत् खेर फाल्नु पर्ने पीडादायी अवस्था आउन सक्छ,त्यसैले यसलाई ध्यान दिएर सबैले काम गरौं’ उनले भने । कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन् । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभि सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघू सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको कामसमेत सुरु हुन सकेको छैन । कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर चार सर्किट (मल्टी सर्किट) प्रसारण लाइन बनाउनु पर्ने छ । तर, कम्पनीले अहिलेसम्म उक्त काम सुरु नै गरेको छैन । प्राधिकरणको उच्चस्तरीय टोलीले निर्माण काम तत्काल सुरु गर्न कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले लामोसाँघू सबस्टेसनमा बे विस्तारको काम गरिरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ । तामाकोशी–काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । त्यस्तै बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छन् । लप्सीफेदीमा ४००÷२२० र १३२÷११ केभी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण प्रभावित भएको छ ।

फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड

काठमाडौं । चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किशिमको हुने सडक विभागको भनाइ छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीका अनुसार पहिले मुख्य सडकको बीचमा डिभाइडर नभएकामा अहिले बीचमा डिभाइडर राख्न लागिएको छ । पहिलो खण्डमा मुख्य लेन र सहायक लेनको बीचमा मात्रै डिभाइडर रहेको थियो । उनले भने, ‘मुख्य सडकको बीचमा हुने डिभाइडरले नै दुबैतर्फको सडक छुट्टाउनेछ ।’ पहिले बीचको चार लेनमध्ये दुई लेनबाट आउने, दुई लेनबाट जाने छेउछेउको लेनबाट पनि एकातर्फबाट आउने अर्कोतर्फबाट जाने थियो । यो खण्डमा मुख्य लेन र सहायक लेनभन्दा पनि मुख्य सडकको बीचबाट दुईतर्फको लेन छट्टिनेछ । सडकमा पानी जम्न नदिनका लागि विशेष खालको लामो ड्रेन राख्न लागिएको प्रमुख डा जैसीले बताए । चक्रपथको पहिलो खण्डमा ठाउँठाउँमा पानी जम्ने समस्या भएकामा त्यो समाधान गर्न लागिएको विभागले जनाएको छ । विभागले दुईतीन ठाउँका चोकमा ‘अण्डरपास’ र ‘ओभरपास’ लगायत संरचना निर्माणका लागि पहल गरेको छ । चोकमा हुने सडकको चाप व्यवस्थापन गर्न यी संरचनाका लागि अनुरोध गरिएको उनले बताए । प्रमुख डा जैसीले भने,’त्यो अनुरोध उनीहरुले मौखिक रुपमा स्वकीकार गरेका छन् । के हुन्छ भन्ने विस्तृत डिजाइन आएपछि थाहा हुन्छ ।’ सन् २०१८ मा ऋण स्वीकार गर्दा नै एउटा खाका बनेको थियो । त्यो बेला अण्डपास निर्माण गर्ने कुरा उल्लेख थिएन । पहिले नभएको नक्सा परिवर्तन गर्न गाहे हुने उल्लेख गर्दै उनले भने, ‘भौतिक पूर्वाधारमन्त्री आफैँले पनि कोसिस गर्ने भन्नुभएको छ ।’ चक्रपथको पहिलो खण्डमा चिनियाँ कम्पनीले तीन वटा मात्रै आकाशे पुल बनाएको थियो । त्यो मात्रै पर्याप्त नभएकाले सरकार आफैँले थप छ स्थानमा आकाशे पुल निर्माण गरेको थियो । यो खण्डमा भने यात्रुले सडक पार गर्न के बनाउने भनी अध्ययन गरेर तय गरिने चिनिँया पक्षको योजना रहेको प्रमुख डा जैसीले जानकारी दिए । उनले भने, ‘ट्राफिक सर्वेक्षणअनुसार कहाँबाट मानिस हिँड्छन् भन्ने हेरेर गरिनेछ ।’ पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीदेखि अगाडिसम्मको सडक निर्माण गर्न इच्छा देखाएको थियो । सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो । पाइपलाइन, विद्युतका खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा काममा ढिलाइ भइरहेको थियो । चिनिँया पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गरिएको विभागले बताउँदै आएको छ । कोटेश्वर–कलङ्की सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुबैतर्फ सर्भिस ट्याक निर्माण गर्दा यो सडक १० लेनको बनेको थियो । चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौँ गरी दुबै जिल्लामा परेको थियो । दोस्रो खण्ड भने काठमाडौँमा मात्रै रहेको छ । चिनिँया पक्षसँग पहिले चावहिल धोबीखोलासम्म सडक विस्तार गर्ने गरी छलफल भएको थियो । स्वयम्भु, महाराजगञ्जलगायत स्थानमा निर्माण स्थल खाली गराउँदा बिभिन्न अवरोध आएपछि कलङ्कीबाट बसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो । रासस